
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा उत्पन्न राजनीतिक संकट समाधानका लागि ६ बुँदे ‘मार्गचित्र’ सार्वजनिक गरेका छन् ।
राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च ( मानवाधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा संविधान र लोकतन्त्रलाई पुनः लिकमा ल्याउन दलहरूबीच अग्रिम सहमति आवश्यक रहेको भन्दै व्यावहारिक कदमका रूपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्ने दिएका हुन् ।
त्यसपछि, प्रतिनिधिसभाबाट तत्काल संविधान संशोधन गरी संसद् सदस्य नभएको व्यक्ति पनि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका छन् ।
ओलीले जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता नबढोस् भनेर पुनः प्रधानमन्त्रीको दाबी नगर्ने स्पष्ट सन्देश दिएका छन् । उनले सबै दल र पक्षको सहभागितामा जेन–जी समूहसमेत समेटिएको सर्वदलीय–सर्वपक्षीय सरकार गठन गर्नुपर्ने धारणा राखेका छन् ।
त्यसपछि, उक्त सरकारले तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने उनको प्रस्ताव छ । यसरी अघि बढ्दा फागुन २१ गतेकै घोषित मितिमा नयाँ प्रतिनिधिसभा निर्वाचन सम्भव हुने ओलीको भनाइ छ ।
मार्गचित्रको अन्तिम बुँदामा ओलीले संविधान र लोकतन्त्रलाई सही बाटोमा फर्काउन दलहरूबीच अग्रिम सहमति निर्माण अनिवार्य रहेको पनि जोड दिएका छन् ।

Leave a Reply