सरकारविरुद्ध सडक आन्दोलनमा जाने तरुण दलको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमवार, नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफ्नो अस्तित्व रक्षा गर्न अब चुप लागेर बस्ने अवस्था नभएको बताए । उनले दुर्गा प्रसाईं र सुदन गुरुङले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै, सडक संघर्ष अघि बढाउनका लागि तयार रहन तरुण दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्तालाई ‘झोले’ जस्ता रूपमा चित्रण गरिँदैछ भन्नेमा आक्रोश पनि व्यक्त गरे ।

अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस रोक्न नसकेकोमा क्षमायाचन गर्दै आगामी दिनमा त्यस्तो अवस्था नआओस् भनेर सजग रहने बताए । उनले जेन–जी आन्दोलनको नाममा नेतामाथि भएको प्रहारको हिसाब–किताब हुने पनि बताए ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी संरचना जलाउने, उद्योगपति, विभिन्न पार्टीका कार्यालय र नेताको घर जलाउने र आक्रमण गर्नेलाई छिटोभन्दा छिटो कारबाही गर्न सरकारलाई आग्रह गरे । गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा केही सरकारमा नरहेका दल, राजावादी र केही विदेशी दलालको घुसपैठ भएको उनले दाबी गरे ।

‘छिटोभन्दा छिटो विभिन्न सरकारी संरचना, उद्योगपति, विभिन्न पार्टी कार्यालय र हाम्रा नेताको घरमा पेट्रोल बममार्फत क्षति पुर्‍याइएको छ, यिनलाई छिटोभन्दा छिटो कारबाही होस् । होइन भने हाम्रा सबै नेता र पार्टीमाथि कारबाही हुँदै जाँदा अब हामी चुप बस्दैनौं । २४ गतेको आन्दोलनमा सरकारमा नरहेका, सरकारबाहिर रहेका केही पार्टी, केही राजावादी र केही विदेशी दलालले हाम्रा नेतामाथि प्रहार गरेका छन् । यसको हिसाबकिताब नेपाल तरुण दलले गर्नुपर्छ ।’ उनले भने ।

उनले भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए । अध्यक्ष गुरुङले भने, मुलुकको व्यवस्था जोगाउन र आफ्नो अस्तित्व जोगाउन त्यस्ता तत्वविरुद्ध सडकमा उत्रिनु बाहेक विकल्प नरहेको बताए । आगामी दिनमा कुनै पनि वादीले गर्ने आन्दोलनका त्यस्ता प्रकारका हर्कत भए चुप लागेर नबस्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

‘यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाइँ हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरूको विरुद्धमा सडकमा भिड्ने नै हो, यो भन्दा अर्को विकल्प छैन । आउने दिनमा कुनै पनि वादीले गर्ने आन्दोलनमा नेपाल तरुण दल सजग रहनेछ । तयारी अवस्थामा रहन साथीहरूलाई अनुरोध गर्न चाहन्छौं ।’ उनले उल्लेख गरे ।

साथै, अहिलेको विषम परिस्थितिमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउन वरिष्ठ नेतालाई उनले आग्रह गरे । ‘यो घडीमा हामी युवा हाम्रा नेतालाई आग्रह गर्दछौं, अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर लैजान पनि हामी आग्रह गर्छौं ।’ अध्यक्ष गुरुङले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *