पासाङ ल्हामु निकोल निक्की अस्पतालको २० औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको ३० औँ उत्सव र उनकै सम्झनामा स्थापना भएको पासाङ ल्हामु निकोल निक्कि अस्पतालको २० औँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस–नेपाली एकताको प्रतीक भएको बताइन् ।

समुन्द्री सतहबाट झन्डै २ हजार ९ सय मिटर उचाइ लुक्लामा रहेको अस्पतालको २० औँ वार्षिकोत्सवमा सामेल हुन पाउँदा आफूले गौरवान्वित महसुस गरेको उनको भनाई थियो ।

नेपालको दुर्गम क्षेत्रमा सुविधा सम्पन्न अस्पताल २० वर्षसम्म नियमित सञ्चालन आउनुलाई उनले उल्लेखनीय उपलब्धि भएको बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले यो अस्पतालले स्थानीयवासी र बाह्य पर्यटकहरूको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराए ।

अध्यक्ष मिङ्माले भने, ‘पासाङ ल्हामु अस्पतालले महिलाको पाठेघरको उपचार, सुत्केरी लगायतका संवेदनशील स्वास्थ्य उपचारदेखि गर्ने गरेको र आर्थिक अवस्था कमजोर हुने स्थानीयबासीलाई निःशुल्क औषधी उपचार गर्दै आएको छ । त्यसै गरी हिमाल चढ्न र स्कर्टिङ खेल्न आउने पर्यटकहरूको रेक्युपछिको उपचारमा समेत अस्पतालले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । यो खुम्बु पासाङ ल्हामु गाउँपालिकाको लागि गर्वको विषय हो ।’

अस्पतालका संस्थापक तथा फाउन्डेसन निकोल निक्कीले यो अस्पतालसँग जोडिएको २० वर्ष बितेको पत्तै नपाएको बताइन् । उनले अस्पताल र फाउन्डेशनमार्फत मानव सेवामा जोडिन सहयोग गरेको भन्दै स्विजरल्याण्डका दाताद्वय रब र राल्फलाई विशेष धन्यवाद व्यक्त गरिन् ।

उनले भनिन्, ‘रब र राल्फ विशेष सहयोगमा जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट स्थापना गरियो जुन प्रोजेक्टले गर्दा गर्भवती महिलाहरू यस अस्पतालमा आउन थाले । त्यसै गरी जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट मार्फत अस्पतालमा जन्मेका बालबालिकालाई १० कक्षा सम्म अध्ययन गर्नको लागि वार्षिक छात्रवृत्ति २२० स्विस फ्रान्क बराबर हुन आउने नेपाली रकम बालबालिकाको बैंक खातामा जम्मा गरिएको छ । यो वर्ष २६१ जना बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएका छौँ ।’

अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाले यस पासाङ ल्हामु निकोल निक्की अस्पतालले हिमाली क्षेत्रमा बसोबास गर्ने निम्न आय भएका परिवारको स्वास्थ्य र शिक्षा ग्यारेन्टी गर्दै आएको बताए ।

२० वर्षको अन्तरालमा अस्पतालले करिब ३ लाख बिरामीहरूको सेवा गर्न पाउँदा र दुर्गममा १ हजार ५ सय जना बालबालिकाहरूले सो अस्पतालमा जन्म लिएको कार्यकारी निर्देशक शेर्पाको दाबी छ ।

हिमाली भेगमा स्थापना भएको अस्पताल अत्याधुनिक प्रविधिसहित सेवा सुविधा प्रदान गर्दै आएको बताए । उनले भने, ‘बिरामीहरूको लागि गुणस्तरका सामानहरू खरिद गरी अत्याधुनिक प्रविधिसहित सेवा प्रवाह गरिरहेका छौँ । त्यसका अलावा अस्पतालले आँखा शिविर, हाडजोर्नी शिविर सञ्चालन गर्दै आएका छौं ।’

कार्यक्रममा खुम्बु पासाङ ल्हामु गाउँ पालिकाकाका उपमेयर टाशी ल्हामु शेर्पा, पासाङ ल्हामु फाउन्डेसनका अध्यक्ष तथा स्पेनका लागि पूर्वराजदूत दावा फुटी सेर्पा, राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाका भाइ साइँलो भाइ क्याप्टेन आङ गेलु शेर्पा, निकोल निक्की फाउन्डेशनका सदस्य पासाङ ग्याल्जेन शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय महिला समूहद्वारा कल्चर डान्ससमेत प्रस्तुत गरेका थिए भने स्वीजरल्याण्ड लगायत विदेशी तथा स्वदेशी पाहुनाहरूलाई स्थानीय परिकारको स्वाद चखाइएको थियो । कार्यक्रममा झन्डै ५ सय जना सहभागी रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *