
देशभर विभिन्न मालपोत जलेपछि अब कसरी जग्गाको स्रेस्ताका काम हुन्छ भन्ने चासो सबैतिर छ । भदौ २३ र २४ गतेको आन्दोलनका कारण धेरै ठाउँका मालपोत कार्यालय जलेपछि समस्या देखिएको हो ।
अहिले जग्गाधनीहरु धेरै विदेशमा छन् कतिका लालपुर्जा बैंकमा छन् । उनीहरुको हकमा कसरी स्रेस्ता कायम हुन्छ ? भन्ने प्रश्नहरु पनि उब्जिएका छन् ।
यी लगायत आन्दोलनका कारण क्षति भएका मालपोतका समस्या र समाधानका लागि के भइरहेको छ भन्ने विषयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका निमित्त महानिर्देशक खिमानन्द आचार्यसँग नेपाल प्रेसका लागि राजाराम न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
मालपोत जलेपछि आफ्नो जग्गाको स्रेस्ता कसरी कायम गर्ने ?
जुन जुन मालपोतमा जग्गा धनीको स्रेस्ता र मोठ जल्यो उहाँहरूसँग पुर्जा हुन्छ । अनि लिखत पनि हुन्छ । आफ्नो नागरिकता हुन्छ ती प्रमाणहरू लगेर मालपोतमा भएको अनलाइन सिस्टम रेकर्ड भिडिउने हो । त्यो सिस्टममा जसको छैन त्यसको लागि अलिकति थोरै डकुमेन्ट बढाउनु पर्छ । मालपोत कार्यालयले त्यो सूचना पनि जारी गरिसक्नुभएको छ । त्यसका अतिरिक्त मन्त्रालयबाट पनि एउटा परिपत्र आएको छ । त्यसैलाई टेकेर हामीले उहाँहरूका डकुमेन्ट हेरेर तथा अनलाइन सिस्टममा हेरेर त्यो स्रेस्ता त्यहाँबाट हामीले अपलोड डाउनलोड गर्ने हो । डाउनलोड गरिसकेपछि त्यसलाई प्रमाणित गरेर राख्ने उहाँहरूको ल्याप्चे, हस्ताक्षर र फोटो टाँसेर स्रेस्ता कायम गर्ने हो।
हामीले एउटा फाइल जस्तो बनाउँछौ । लुज ठेली हुन्छ । त्यसलाई हामीले बायोमेट्रिक गरेर राख्छौ ।
– कति वटा मालपोत कार्यालयको जल्यो ?
मालपोतमा पूर्ण र आंशिक क्षति गरेर २२ वटामा क्षति भएको छ । पूर्ण रूपमा ९ वटा जेलेको छ । त्यसमध्ये पनि एकदमै ध्वस्त चार पाँच वटा मात्रै हो । कुनै मालपोतमा अलिअलि केही केही स्रेस्ताहरू बच्या छ ।
– मालपोतहरूले आफ्नो जग्गाको स्रेस्ता कायम गर्न विभिन्न १० प्रकारका कागजहरू मागेको छ । त्यो अलि झन्झटिलो भएन ?
त्यो भूमि प्रशासन निर्देशिका २०८१ मा भएको व्यवस्था अनुसार मालपोतहरूले सूचना निकालेर विभिन्न १० प्रकारको कागजपत्र मागेको हो । जुन विद्यमान व्यवस्था छ, त्यसैमा टेकेर सूचना निकालेको हो । मन्त्रालयमा त्यसैको सहजीकरण गर्नको लागि टिप्पणी उठाएर पठाएको छ । त्यो मन्त्रालयले त्यसैलाई टेकेर परिपत्रको रूपमा हामीलाई पत्राचार गरिसकेको छ ।
हामीले सबै मालपोत कार्यालयहरूमा जलेका स्रेस्ता कायम गर्नु पर्छ । त्यसमा चाहिँ १०–११ वटा प्रमाण जुटाउनु पर्ने अवस्था छैन । त्यसमा कम्तीमा दुईदेखि, तिन वा तीनवटा प्रमाण जुटाए पुग्ने छ ।
– घर पनि जलेको र सम्पूर्ण कागजपत्र जलेकाले कसरी आफ्नो जग्गाको स्रेस्ता कायम गर्ने ?
जग्गा धनीले पहिला नागरिकता बनाउनु पर्यो । नागरिकता बनाइसकेपछि घरलगायत सम्पूर्ण प्रमाण जेलेको भनेर मुचुल्का उठाउने काम हुन्छ । स्थानीय तहको वडा कार्यालयमा जग्गाको मालपोत तिरेको रसिद हुन्छ । अनलाइन सिस्टममा भएकाले त्यो खोज्न सकिन्छ । टाइम लाग्न सक्छ खोज्न पर्यो । जलेका कार्यालयमा पनि एलआरआइमा जग्गा धनीको विवरण हुन्छ । हामीले त्यही विवरणका आधारमा स्रेस्ता कायम गर्ने छौँ ।
– आफ्नो जग्गाको स्रेस्ता कायम गर्न विदेशमा भएका मान्छे आफै उपस्थित हुनुपर्ने हो ?
आफ्नो जग्गाको स्रेस्ता कायम गर्न जग्गा धनी नै उपस्थित हुनुपर्छ । सम्बन्धित जग्गा धनी नभईकन त्यहाँ ल्याप्चे सरकारी लगाउने ? फोटो पनि जग्गा धनीको राख्नु पर्यो । विदेशमा भएका जग्गा धनी स्रेस्ता कायम गर्न आफ्नो समय अनुकूलता आउँदा हुन्छ ।
– हामीले नेपाल डिजिटल सिस्टम भन्दै गर्दा मालपोतमा यसरी अभिलेख नै जल्यो । हामी डिजिटल हुन नसकेको हो ?
२०७७ साल पछि हामी डिजिटल भएका थियौँ । त्यसभन्दा अगाडी डिजिटल सिस्टम नै सुरु भएको थिएन । सिस्टम सुरु भइसकेपछि पनि कतिपय इन्ट्री नभएका वा त्यो बिचमा कामै गर्न नभएका कोही छुटेका पनि हुन्छन् । कार्यालयमा काम गर्दा गर्दै नभइएको पनि हुन सक्छ ।
अब कार्यालयमा जनशक्ति पर्याप्त भयो भने तिनीहरूलाई एकातिर डिजिटाइजको पार्टमा लगाइरहन पनि सकिन्छ । तपाई जग्गा पास गर्न जानुभयो त्यो अटोमेटिक डिजिटाइज हुन्छ । अब अनलाइनबाटै काम भएर डिजिटाइज हुन्छ । यो २०७७ साल भन्दा पछाडिको डिजिटलमा रहेको छ ।
– जलेका मालपोतमा २०७७ सालभन्दा पहिले जग्गा किनेकाहरू स्रेस्ता कायम गर्न आउनु पर्छ कि पर्दैन ?
जलेका मालपोतमा जग्गा भएकाहरू आफ्नो जग्गाको स्रेस्ता कायम गर्नु सबै आउनु पर्छ । हार्ड कपी सबैको तयार गर्नु पर्यो । भोलि त्यसबाट पास गर्नुपर्छ । फोटो राख्नु राखेर पास गरिसकेपछि अर्को नयाँ स्रेस्ता कायम हुन्छ । त्यही स्रेस्तालाई टेकेर काम गर्ने हो ।
त्यस कारणले यो सम्पत्तिको विषय अलि जटिल छ । २०७७ भन्दा पहिले वा पछि जलेका मालपोतमा जग्गा भएकाहरूले स्रेस्ता कायम गर्न मालपोत आउनु पर्छ । सबैले गर्नुपर्छ । जो जग्गाधनी हुनुहुन्छ व्यक्ति सम्बन्धित आफै उपस्थित भएर गर्नुपर्छ । नेपाल नभएको मान्छेहरू कि जग्गाको स्रेस्ता कायम गर्न भनेर नै नेपाल आउनु पर्यो । तर, नेपालमा आएको बेलामा जग्गाको स्रेस्ता कायम गर्दा हुन्छ ।
–आफ्नो जग्गाको स्रेस्ता कायम गर्ने समय सीमा कति हो ?
आफ्नो जग्गाको स्रेस्ता कायम गर्न समय सीमा तोकिएको छैन । जहिले पनि आएर गर्न सक्नुहुन्छ । यो विपत्ति हो । यसमा समय तोकिएको छैन । आफ्नो समय अनुकूल आएर स्रेस्ता कायम गर्न सकिन्छ ।
– स्रेस्ता कायम गर्दा एउटाको जग्गा अर्काले अर्कोको नाममा स्रेस्ता कायम हुने जोखिम हुन्छ की हुँदैन ?
त्यस्तो पास गर्ने खालको जोखिम रहँदैन । कस्तो भने तपाईँको कुनै कुनै ठाउँमा सुकुम्वासी आयोगले दिएका पुर्जाहरू छन् । त्यस्तो ठाउँमा जलेको सम्बन्धमा अलिकति अप्ठ्यारो हुन्छ । कार्यालयलाई ती विषयमा अनुसन्धान गर्न टाइम लाग्छ । त्यही भएर त्यो धेरै प्रमाणहरू यस्तैको लागि माग गरेको हो ।
– नयाँ स्रेस्ता कायम गर्न मालपोतहरूले जनशक्ति थप्छन् कि पुरानै जनशक्तिले काम गर्न सक्छ ?
अब विद्यमान जनशक्तिले नै अहिले काम गर्दै गर्नुहुन्छ । उहाँहरूले अहिले सबै काम गर्न भ्याउनु हुन्न । स्रेस्ता कायम भएपछि बल्ल जग्गाको रजिस्ट्रेसन पास गर्ने, रोका राख्ने कुराहरू हुन्छ । आगजनी हुनुभन्दा पहिलेको काम गर्ने समयमा अब धेरैमा आधि घण्टा थप समय स्रेस्ता कायम गर्न लाग्छ ।
– बैंक तथा वित्तीय संस्थामा लालपुर्जा राखेकाहरूले कसरी आफ्नो जग्गाको स्रेस्ता कायम गर्ने । बैंकले जग्गाको स्रेस्ता कायम गर्न जग्गा धनीपुर्जा दिन्छ ?
बैंकले पनि त्यो कुरो बुझ्या छ । बैंकले नै जानकारी गराउने भन्ने कुरा छ । यो यो व्यक्तिको जग्गा रोक्का रहेको छ भनेर उनीहरूले फोटोकपी सहित सम्बन्धी जलेका मालपोत विवरण पठाउने छन् ।
– गुठी संस्थानको जग्गाको स्रेस्ता कायम गर्न अलि गाह्रो हो ? सूचनामा झन्झटिलो देखिन्छ ?
सबैको एउटै हो । त्यो गुठी संस्थान भनेर तोक्या छैन । कायम गर्ने कुरा विषय एउटै हो । निर्देशिकामा भएका कुराहरू सबैलाई एउटै लागु हुन्छ । अब गुठी संस्थानमा कतै गुठीको कुनै किसिमको सहमति लिनुपर्ने अवस्था रहेछ भने त्यति मात्रै हो । नभए त्यस्तो अरू केही फरक छैन । स्रेस्ता कायम, नामसारीसँगै हुने छ ।
– मालपोतमा स्रेस्ता जलेको छ । जग्गा धनीसँग धनी पुर्जा वा नागरिकता भए हुन्छ ?
जग्गा धनीसँग धनीपूर्जा वा लिखत हुन्छ । अपवाद बाहेक सबैसँग लिखत र धनी पुर्जा हुन्छ । जग्गा धनी पुर्जा व्यक्तिले कति सुरक्षित गरेर राखेका हुन्छन् । कतै त्यो पानीमा पर्ला, चिसेला भनेर लेमिनेसन गरेर राखे हुन्छन् । राम्ररी मिलाएर राखेको हुन् । सकेसम्म हराउने प्रयत्न कसैको हुन्न । हजारमा एउटा दुइटा हराउने हो । त्यस्तो अवस्थामा त्यसका पनि सबै प्रमाणहरू जुटाउने कुराहरू हामीसँग छन् । त्यसलाई कुन तरिकाले गर्ने कसरी सहजीकरण गर्ने सबै तयारी रहेको छ ।
नागरिकता भयो र एलआरआइएसमा इन्ट्री रैछ भने सजिलै स्रेस्ता कायम हुन्छ । इन्ट्री रहेन छ भने त्यसलाई एक दुइटा प्रमाणहरू थप खोजेर सकेसम्म सरलीकरण गर्ने हो । ११ वटै विभिन्न प्रमाणका लागि कागजपत्र चाहिँदैन ।
तर कतै पनि केही भेटिएन पुर्जा नै यो गलत हो भएमा थप प्रमाण खोज्ने काम हुन्छ । कतिपय विगतका सुकम्वासी आयोगको अवधि सिद्धिएपछि पनि त्यस्ता हामीले भेटाएका छौं ।

Leave a Reply