नेपालको गौरवगाथा बोल्ने नेपाल संवत्

छैटौँ शताब्दीका ग्रिक दार्शनिक हेराक्लाइटसले भनेका छन्, ‘जीवनको एक मात्र स्थिर पक्ष हो – परिवर्तन’ । जीवन विज्ञानका लागि प्रस्तुत यो उद्धरण ब्रम्हाण्डको एक सानो कणरूपी मानवको जीवनका लागि मात्र नभई स्वयं ब्रह्माण्ड आफैमा पनि लागु हुन्छ । ब्रह्माण्डमा रहेका प्रत्येक कणहरू, र समग्रमा पुरै ब्रह्माण्ड, सब गतिशील छ, परिवर्तनशील छ र यसले ब्रह्माण्डका सबै अस्तित्व, अवस्था र प्रक्रियालाई समेत गतिशील बनाएको छ । ब्रह्माण्डका सर्वाधिक गतिशील पक्ष हो, ‘समय’ । यस्तो तीव्र गतिशील ‘समय’को मापन चुनौतीपूर्ण त छ नै, घटनाको दस्तावेजीकरण तथा पुस्तान्तरणको लागि महत्त्वपूर्ण र अत्यावश्यक पनि छ । समयको मापन नगरी इतिहास जीवन्त हुन्न, वर्तमान इंगित हुन्न र भविष्य निर्धारित हुन सक्दैन । साथै, तिनीहरू अध्ययनयोग्य, मननयोग्य, र चिन्तनयोग्य पनि हुँदैनन् । त्यसैले चेतनशील मानव समाजका लागि ‘समय’ मापन र गणना महत्त्वपूर्ण मात्रै नभई अत्यावश्यक पक्ष हो ।

प्रकृतिको अनुपम कृति हो- होमो सेपिन्स (मानव जात) । उसमा विकास भएको अद्भुत चेतनासँगै मानव सभ्यता उदय भयो र मानिसले ‘समय’ गणनाको आवश्यकता महसुस हुन थाल्यो, यसमा घोत्लिन थाल्यो । मानिसले समय गणनाका दुई मुख्य प्राकृतिक विधिको विकास ग¥यो – चन्द्रमाको गति अनुसार गरिने ‘समय’ गणना ‘चन्द्रमानक पात्रो’ र सूर्यको गति अनुसार गरिने ‘समय’ गणना ‘सूर्यमानक पात्रो’ । यी दुईमध्ये कुनै एउटा पात्रोको आधारमा कुनै विशेष समय-काल खण्डलाई सुरुवाती विन्दुको रूपमा मानेर समयको मापन गर्ने विधिलाई संवत् भन्ने गरिएको छ । विश्वमा यस्ता संवत् अनगिन्ती छन् ।

सुरुवाती दिनहरूमा पात्रोको आविष्कार कृषि प्रणालीको वार्षिक तालिका व्यवस्थापन र धार्मिक क्रियाकलापहरूको नियमितता गर्न प्रयोगमा ल्याइएको पाइन्छ । मिश्रको सभ्यताले इस्वी पूर्व ३,००० मा प्रचलनमा ल्याएको सूर्यमानक ‘इजिप्टियन पात्रो’लाई संसारको पहिलो पात्रो मानिएको छ । ३६५ दिनको यो पात्रो नाईल नदीको पानी प्रवाह र बाढीलाई अनुमान गरी सोही अनुरूप कृषि तालिका बनाउन ल्याइएको बुझिएको छ । यसपछि हरेक सभ्यताले आफ्नो आवश्यकता र पहिचानलाई मध्यनजर गरी धेरै संवत्हरूको विकास गरे । प्रचलित अनेकौँ संवत्हरूमध्ये अधिकांश संवत्हरू कुनै निश्चित धर्म, धार्मिक नेता वा शासकहरूको नाममा प्रचलनमा ल्याइएका छन् । अपवादमा रहेको ‘चन्द्रमानक पात्रो’मा आधारित ‘नेपाल संवत्’ विश्वको एक मात्र यस्तो संवत् हो जुन देशको नाममा प्रचलनमा ल्याइएको छ ।

यति मात्र हैन, नेपाल सम्वत प्रचलनमा रहेका अन्य संवत्हरूको तुलनामा अधिक विज्ञानसम्मत त छ नै, यो संवत् विशेषगरी नेपालमा संस्कृति, संस्कार, रीति रिवाज तथा शुभकार्यहरुका लागि समय निर्धारक पनि हो ।

नेपाल संवत्को शुरुवात

लिच्छवी राजा मानदेव द्वितीयको नाममा प्रचलित ‘मानदेव संवत्’लाई विस्थापित गरी लिच्छवीकालकै अर्का राजा राघदेवले ‘तत्कालीन कान्तिपुरका व्यापारी शंकधर साख्वाले आफ्नो निजी सम्पत्तिबाट प्रजाहरूको ऋण तिरिदिएको र ती गरिबहरूलाई ऋण मुक्त गरी दासमुक्त समेत गरेको’ खुसीयालीमा उनको सम्मानस्वरुप नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासविद्हरुको भनाई छ । लोककथन अनुसार कान्तिपुरका व्यापारी ‘शंखधर शाख्वा’ले लखु तीर्थबाट ल्याएको बालुवा सुनमा परिणत भएपछि राजा राघदेवको अनुमतिमा सो जन–उपकार गरेको हो ।

यथेष्ट प्रमाण र अध्ययनको अभावमा धमिलो रहेको नेपालको इतिहास, र त्यसमा पनि अत्यन्त थोरै ऐतिहासिक प्रमाण मात्र प्राप्त भएको नेपालको इतिहासकै ‘अँध्यारो युग’ मानिने बखतको यो ऐतिहासिक किस्सा बारे स्पष्ट प्रमाण भेटिएको छैन, यद्यपि हामी सजिलै अनुमान गर्न सक्छौँ कि ‘शंखधर शाख्वाः’ले केही राष्ट्रिय गौरव तथा स्वाभिमानको काम गरेकैले संवत्को शुरुवात जस्तो ऐतिहासिक कामको थालनी भयो । शंखधर साख्वाले प्रजाहरूको ऋण तिरिदिएको घटनाले त्यसमा अन्तर्निहित समाजसेवी भावनाले देशप्रेम र राष्ट्रिय एकताको भावना जागृत भएकै हुनुपर्छ जसले गर्दा सामन्ती युगका राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित ‘मानदेव संवत्’लाई विस्थापन गरी ‘नेपाल संवत्’ प्रचलनमा ल्याउने थिएनन् भन्ने अनुमान सजिलै गर्न सकिन्छ ।

यस अर्थमा शंखधर साख्वालाई नेपाल संवत्का प्रवर्तक मात्र होइन, नेपालका सुरुवाती देशभक्त एवं राष्ट्रवादी जननेता मान्नुपर्छ । यसैलाई मनन गरी नेपाल सरकारले नेपाल संवत्का प्रवर्तक शंकधर शाख्वालाई ‘राष्ट्रिय विभूति’ र नेपाल संवत्लाई ‘राष्ट्रिय संवत्’ घोषणा गरेको छ । नेपाल संवत् नयाँ वर्ष सुरु हुने कार्तिक शुक्ल प्रतिपदाको दिन सरकारले ‘सार्वजनिक बिदा’समेत घोषणा गरिसकेको छ । यसर्थ, नेपाल संवत् जनसेवी, राष्ट्रप्रेम र राष्ट्रिय एकताको सन्देश हो, प्रवर्तक हो ।

नेवार समुदायले माया गरेको नेपाल संवत्

मानव शरीर नै ईश्वरको वास्तविक वासस्थान रहेको मान्यता बोकेको नेवार समुदायले यही विश्वासलाई संस्कृतिमार्फत प्रस्फुटन गर्न नेपाल संवत्को शुरुवाती (नयाँ वर्ष) दिन उनीहरू मन्दिररूपी मानव शरीरको पूजा गरेर ‘म्हःपुजा’ मनाउँछन् । नेवार समुदायको पुरानो जात्रा (नखः)का रूपमा समेत यस पर्व परिचित छ । ‘न्हुदँ’ (नयाँ वर्ष) शब्द ‘च्वसा पासा’ (नेपाल भाषा साहित्यिक संस्था) का प्रेमबहादुर सिंहले २००८ सालमा पहिलो पटक प्रयोगमा ल्याएको मानिन्छ । राणा निरंकुशता विरुद्धको नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि नेपाली नेताहरू हिन्दुस्तानबाट नेपाल फर्कने क्रममा उनी पनि नेपाल फर्के र लगत्तै उनले २००८ सालको नेपाल संवत् नयाँ वर्षको दिन पाटनको न्ह्यँखामा इतिहासमा पहिलो पटक ‘न्हुदँ’ कार्यक्रम आयोजना गरेको इतिहास छ ।

हुर्कँदो प्रजातन्त्र र जन निर्वाचित सरकारलाई विस्थापित गरेर निरंकुश पञ्चायत लागू गरेका राजा महेन्द्रले खस भाषा (नेपाली भाषा) मात्र प्रयोग गर्न पाउने गरी ‘एक भाषा नीति’ लागु गरेपछि देशका अन्य भाषाहरू राजकीय प्रयोग मात्र हैन, सामाजिक प्रयोगबाटै कमजोर हुन थाले, कतिपय अवस्थामा बहिस्कृत र दण्डनीय पनि बनाइए । यस्तो अवस्थामा नेपाल भाषा प्रेमी÷प्रयोगकर्ताहरू नेवार समुदाय ‘नेपाल भाषा मंका खलः’को नाममा गोलबन्द भई निरंकुश शासकविरुद्ध आन्दोलनमा होमिए । भाषा आन्दोलनको विरुद्ध राज्य निरंकुश शैलीमा खनिएपछि आफ्नो आन्दोलनलाई सामाजिक जलप लगाउन यो संस्थाले नेपाल संवत् नयाँ वर्षको दिनमा ‘न्हुदँ’ कार्यक्रम भव्यरुपमा मनाउन थाल्यो, जुन प्रजातान्त्रिक आन्दोलनको पूर्ण सफलतापछि अझ विस्तारित रूपमा आज पनि विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ ।

राज्यले तिरस्कार गरेर मृत अवस्थामा फ्याँकेको नेपाल संवत्लाई नेवार समुदायले माया गरी संवर्द्धन र प्रवर्द्धन गर्दै नयाँ वर्ष ‘न्हुदँ’ मनाउने परम्परा शुरु गरेको र नयाँ वर्ष कार्यक्रमको नाम पनि नेपाल भाषाकै शब्द ‘न्हुदँ’ कार्यक्रमले ख्याति पाएपछि ‘यो नेवारहरूको संवत् हो कि !’ भन्ने भान अरू समुदायमा पर्न गएको देखिन्छ । वास्तवमा यो नेवारहरूको मात्र संवत् भन्न मिल्ने कुनै आधार छैन । यसको स्थापना र प्रचलन नै ठकुरी (गैर नेवार) राजा राघदेवको पालामा भएको हो ।

नेवार समुदायले भाषा आन्दोलनलाई उचाइ दिन यो संवत्लाई केही दशकदेखि बढी उत्साहजनक रूपमा मनाउन थालेको मात्रै हो, वास्तवमा यसलाई सदियौँदेखि जोगाउने काम निश्चयरुपमै ब्राह्मण समुदायले गरेका हुन् । भित्ते क्यालेण्डर शुरु हुनुपूर्व नेपाल सरकार अन्तर्गतको ब्राह्मणहरूको समिति- ‘पञ्चाङ्गण समिति’ले तिथि, मिति, चाड, पर्व तोक्थ्यो, यी सबै नेपाल सम्वत्मा आधारित हुन्थ्यो । सयौँ वर्षसम्म यही समितिले यो संवत्लाई जीवन्त बनाए ।

राणाकालमा नेपाल संवत्लाई पुरै बन्देज गरिएपछि यही पञ्चाङ्गण समितिले नै नेपाल संवत्को प्राण थामेको हो । तसर्थ नेपाल संवत् अनेक अप्ठ्यारा मोडबाट गुज्रिंदासमेत आजसम्म जीवित हुनुमा ब्राह्मणहरूको ठूलो भूमिका छ । र, नेपालमा नेपाल संवत् मात्रै त्यस्तो संवत् हुन पुगेको जुन राज्यले बन्देज लगाउँदा पनि जनताले दैनिक जीवनमा शुरुवातदेखि अविच्छिन्न रूपमा निरन्तर प्रयोग गर्दै आइरहेको एक मात्र संवत् हुन पुगेको छ ।

आज पनि उही ब्राह्मण समुदायका विज्ञहरू सम्मिलित ‘पञ्चाङ्गण समिति’ले नेपाल सम्वत्कै आधारमा वर्ष भरिको चाड, पर्व, उत्सव आदि निर्धारण गर्ने काम गर्दछ । सामूहिक र सामाजिक भावनामा अग्रपंक्तिमा उभिने व्यवहारगत (सम्भवतः वंशाणुगत) चरित्रले गर्दा हुनुपर्छ, देशको नाममा स्थापित यो नेपाल सम्वत्मा नेवार समुदायले अधिकतम आस्था प्रदर्शन गरे, यसलाई जीवित राखे र केही दशक अघिदेखि यसको संरक्षण, सम्बद्र्धन र व्यावहारिक प्रयोगको माग गर्दै आन्दोलनमा समेत छन् ।

यस सम्वत्का शुरुवातकर्ता राजा राघदेव मात्र हैन, यसका प्रवर्तक मानिने राष्ट्रिय विभूति शंखधर शाख्वा नेवार समुदायको हो भन्ने कुनै प्रमाण छैन । नेवारहरुमा शख्वाल, शाखल, ध्वँख्वाल जस्ता जातीहरू छन् तर शाख्वा छैन । उनी इज्जतवाला (साखवाला) भएकाले उनलाई शाख्वा भनेको हुनसक्छ, पैसा भएकालाई पैसावाला भनेजस्तै । यसरी यो शाख्वा थर नै हैन भन्ने इतिहासविद् धेरै छन् । यत्ति हो कि हालका दिनमा नेपाल संवत्लाई माया गर्ने, आफ्नो ठान्नेमा नेवार समुदाय अगाडि आए, उनीहरू नेपाल सम्वत्का शुरुवाती कथामा जोडिएका ‘देशभक्ति र स्वाभिमानका कथा’ले बढी उत्तेजित भए, नत्र यसलाई हालसम्म जीवित राख्नमा नेवारको भन्दा ब्राह्मणको भूमिका अतुलनीय रूपमा अधिक छ ।

संवत् नीतिको आवश्यकता

हरेक वर्षको मध्य गृष्ममा झैँ हामी अहिले पनि पुनः एक पटक नेपाल संवत्को बहसमा छौँ । यद्यपि यो वर्ष राष्ट्रिय बहस खुल्ला हिसाबले हुन नसकेका कारण यसमा ध्यान र छलफल यथेष्ट हुन सकेको छैन । ‘महाजनलाई ऋण तिर्न नसक्दा जनता मालिकको घरमा पुस्तौँसम्म नोकर बस्नुपर्ने अति सामन्ती युगमा आफूले कमाएको (प्राप्त गरेको) सम्पत्तिबाट शंखधर शाख्वाले जनतालाई ऋणमुक्त गरेको हर्षमा स्थापना गरिएको’ जनताको स्वाभिमानसित जोडिएको र देशको नाममा नामांकरण गरिएको संसारकै एक्लो संवत्लाई नेपाल संवत् नेवार मात्रैको संवत्को रंग लगाएर अन्य नेपाली समुदायले यसलाई तिरस्कारको नजरले अवलोकन गरिनु विडम्बनापूर्ण छ । स्वाभिमान र जनताको भलाइको कथाले बढी भावुक भएर नेवार समुदायले यो संवत्लाई अधिक आफ्नोपनले स्वीकारेको हो, यसो भन्दैमा यो संवत् नेवारहरूको मात्र हो भन्नु गरिमामय संवत् माथि अन्याय नै हो । नेवार समुदायमा यो संवत् प्रतिको समर्पण उनीहरूको केवल न्यायप्रतिको समर्पण हो, समर्थन हो, गर्व हो, घमन्ड हैन ।

खगोलशास्त्रको वैज्ञानिक धरातलमा उभिएर चन्द्रमाको गति र अवस्थामा आधारित भएर बनाइएको अत्यन्तै वैज्ञानिक संवत् भए पनि व्यवहारगत प्रयोगका हिसाबले यो यसमा कठिनाइ अवश्य छ । नेपाल संवत्को अरू पात्रोमा जस्तो जहिल्यै राती १२ बजे नयाँ दिन (तिथि) सुरुवात नभई दिनको विभिन्न समयबाट नयाँ तिथि सुरुवात हुन्छ । तसर्थ, दैनिक÷व्यावसायिक जीवनमा यसको पूर्ण प्रयोग असम्भव नभए पनि अप्ठ्याराहरू छन् ।

बहुसम्वत्युक्त हाम्रो समाजमा स्थापना भएका सबै संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर ‘संवत् नीति’ बनाउन आवश्यक छ । संवत्लाई सांस्कृतिक, सामाजिक, केही हदसम्म व्यवहारिक रूपमा कसरी सम्मानजनक प्रयोग गर्ने, संरक्षण र सम्वद्र्धन गर्ने भनी नीति बनाउनुपर्छ । विदेशी विक्रम सम्वत्भन्दा विदेशी इस्वी संवत् सरल पनि छ र यसले विश्वभरि एकरुपताका कारण अन्तर्राष्ट्रिय सम्पर्क तथा व्यवहारमा सघाउ पुर्‍याउँछ । त्यसो त बिस्तारै विश्व भूमण्डलीकरणमा प्रवेश गर्दा भोलि हामीले यो संवत्लाई व्यवहारिक प्रयोग नगरी सुखै छैन । स्मरणीय छ, भारतमा स्थापना भएको यो विक्रम संवत्लाई भारतमा समेत अव्यवहारिक भनेर प्रयोग गरिँदैन, बरु इस्वी संवत्को प्रयोग गरिन्छ ।

अबको ‘संवत् नीति’ले दिनानुदिन प्रयोगमा सरल इस्वी संवत्को प्रयोग गरेर प्रत्येक ऐतिहासिक दस्ताबेजहरूमा र सरकारी कागजपत्रहरूमा नेपाल संवत्को मिति उल्लेख गरिनु जरुरी छ । वास्तवमा नेपाल सम्वत्प्रतिको समर्थन स्वाभिमान र राष्ट्रभक्तिप्रतिको समर्पण पनि हो ।

नेपाल संवत् ११४६ नयाँ वर्षको सबै नेपालीमा समृद्धि र सुखको शुभकामना !

(पंक्तिकार श्रेष्ठ नेपाल बौद्धिक परिषद्का महासचिव हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *