
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीको एउटा टेलिभिजन अन्तरवार्ता अहिले चर्चामा छ । चर्चाको कारण हो, अन्तरवार्तामा उनी रास्वपाको नेताभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रवक्ता जसरी प्रस्तुत हुनु ।
विगतदेखि नै रास्वपाभित्र सभापति रवि लामिछानेका आलोचकका रूपमा परिचित छन् कार्की । सञ्चारमाध्यमहरूमा रविको सार्वजनिक आलोचना गर्दै आएका उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग विशेष निकट मानिन्छन् । अन्तर्वार्तामा उनले रास्वपाको भन्दा बालेनको प्रतिरक्षामा आफूलाई केन्द्रित गरेका छन् ।
बालेन रास्वपा सभापति लामिछानेलाई रुचाउँदैनन् भन्ने जगजाहेर विषय हो । पछिल्लो समय उनले रविलाई पार्टी सभापतिबाट हटाउन बाहिरबाट खेल खेलिरहेको आरोप रास्वपा संस्थापन पक्षका नेताहरूले लगाउन थालेका छन् ।
रविलाई हटाएर कुलमान घिसिङलाई सभापति बनाएमा आफूले रास्वपालाई समर्थन गर्ने भनेर उनले मिडिया ट्रायल गरिरहेको दाबी ती नेताहरूको छ ।
बालेनको योजनाअनुसार नै रास्वपाका गणेश कार्की, तोसिमा कार्की, असिम साह लगायतका नेताहरू रविविरूद्ध लागिरहेको बुझाइ संस्थापन पक्षमा छ ।
केन्द्रीय सदस्य कार्कीको अन्तरवार्ताले यही बुझाइलाई थप मलजल गरेको एक पदाधिकारीले बताए । अन्तरवार्तामा कार्कीले खुलेरै बालेनप्रति आशक्ति र लामिछानेप्रति वितृष्णा देखाएको ती पदाधिकारीको भनाइ छ ।
उनले भने, ‘रवि लामिछानेलाई देखि नसहने पात्रको बचाउ गर्ने र भक्तिभाव प्रवृत्ति रास्वपाका अरू केही नेताले पनि देखाइरहेका छन् । बालेनले पार्टी नखोलेकाले मात्रै उनीहरूले रास्वपा त्याग्न नसकेका हुन् ।’
तन रास्वपामा तर मन बालेनतिर हुँदा नै सुमना श्रेष्ठले पार्टी छोडेको र भविष्यमा अरू केहीले पनि छोड्न सक्ने उनका भनाइ छ ।
गणेश कार्कीको कुरा गर्दा उनी जेनजी आन्दोलनका कडा समर्थक हुन् । उनी आन्दोलनमै सहभागी भएका थिए । आन्दोलनको रणनीतिक तयारीदेखि नयाँ मन्त्रिपरिषद् गठनका लागि सिफारिस गर्नेसम्मका गतिविधिमा उनको भूमिका रहेको छ ।
अन्तरवार्तामा उनले बालेनलाई आफूले नै प्रेसर दिएर जेनजी आन्दोलनको समर्थनमा स्टाटस लेख्न लगाएको बताएका छन् । आन्दोलन हिंसात्मक बन्नुमा बालेनको दोष नरहेको दाबी गरेका छन् ।
यो अन्तरवार्तापछि रास्वपाभित्र कार्कीलाई ‘विभिषण’ को रूपमा हेर्न थालिएको छ । आफ्नो पार्टी सभापतिको विरोधीसँग गठजोड गरेर पार्टीलाई कमजोर बनाउने खेल खेलेको आरोप उनीमाथि लागेको छ ।
यस विषयमा कार्कीले फेसबुकबाट प्रत्युत्तर दिएका छन् । आफूलाई विभीषण भन्नेहरूले सभापति रवि लामिछानेलाई रावण मान्न तयार हुनुपर्ने उनको घुमाउरो तर्क छ ।
कार्कीले सन्दर्भ नखुलाईकन लेखेको स्टाटस यस्तो छ:
रामायणमा एक पात्र छन्, विभीषण । एउटै नाम गाली र सम्मानमा प्रयोग हुन सक्ने विशेष पात्र हो । सम्झँदा रोचक लाग्छ ।
रावण पक्षका लागि विभीषण गाली दिनका लागि प्रयोग हुने नाम हो । तर राम पक्षका लागि त्यही विभीषण भनेको सम्मानित नाम हो ।
यसैले बुझ्नुहोस् ल, तपाईँले कसैलाई विभीषण भनेर गाली गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो स्वामीलाई रावण भन्दै हुनुहुन्छ ।
को हुन् विभीषण ?
विभीषण हिन्दु धर्मशास्त्र रामायणका एक चर्चित पात्र हुन् । उनी लंकाका राजा रावणका कान्छा भाइ र राजकुमार थिए। तर राम र रावणको द्वन्द्वमा विभीषणले रामको पक्ष लिए।
रावणले सीताको अपहरण गरेपछि विभीषणले उनलाई सीता फिर्ता गर्न सुझाव दिए पनि रावणले नमानेपछि उनी लङ्का छोडेर रामको शरणमा गए। रामले उनलाई आफ्नो मित्र र सल्लाहकार बनाएका थिए । युद्धमा विभीषणले रामलाई लङ्काको गोप्य जानकारी र रणनीति प्रदान गरे, जसले रामको विजयमा महत्त्वपूर्ण योगदान पुर्यायो। रावणको मृत्युपछि विभीषण लङ्काका राजा बने।

Leave a Reply