
नेपालको नक्सामा एउटा निलो बिन्दु छ, जुन लाखौँ नेपालीको कल्पनामा स्वर्गको रूपले बस्छ — त्यो हो रारा ताल। यही निलो सौन्दर्य हेर्ने चाहनाले हामी परिवारसहित (श्रीमती उर्मिला , भाइ टेक र भाइ बुहारी गायत्री ) जानकी दर्शन ट्राभल एजेन्सीको टुर प्याकेजमार्फत यात्रामा निस्कियौँ।
धनगढी बाट सुरु भएको यात्रामा कोहलपुर पुगेर हामी हाम्रो रारा जाने टिम संग मिसियौ । टोलीमा नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक नवीन प्रधान, नेपाल सरकारका पूर्व सह–सचिव टेकबहादुर केसी, भारतको पुणेमा व्यवसाय गर्दै आएका बाग्लुङका रतन केसि, अमेरिका बस्दै आएका द्रोण केसि, बौद्धका लामा दाइ , व्यापारी, सूचना प्रविधिकर्मी पवल खरेल लगायत विभिन्न पेशा र व्यवसायमा संलग्न साथीहरू थिए।
पहिलो दिन कोहलपुर बसेका हामी दोस्रो दिन कोहलपुरबाट निस्कँदा उत्साह, अपेक्षा र रोमाञ्च एकसाथ मिसिएका थिए। सबैको उद्देश्य एउटै — नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध प्राकृतिक ताल राराको नीलो आत्मा आफ्नै आँखाले देख्ने।

यात्राको पहिलो क्षणदेखि नै यात्राले आफ्नै कथा लेख्न थाल्यो। कोहलपुरबाट सुर्खेत हुँदै कालिकोटतर्फ बढ्दा बाटो हाम्रा भावना जस्तै घुमाउरो थियो। कतैकतै उकालो, कतैकतै साँघुरो मोड, कतै एकातिर पहाड र अर्कोतिर खाल्डो अनि भिर ।
सडक पक्की थिएन, हावासँगै उड्थ्यो धुलो, अनि कहिले काँही गाडी हल्लिँदा हृदय पनि हल्लिन्थ्यो। तर ती जोखिम र कठिनाइबीच पनि यात्रामा कुनै डर थिएन, केवल उत्साह थियो। सुरु देखि नै अन्तिम सिटमा को बस्ने भन्ने विषय यात्राभरको रमाइलो बन्यो। गाडीको पछिल्लो सिट हल्लिन्थ्यो, उफ्रिन्थ्यो, अनि त्यहीँ हाँसो पनि निस्किन्थ्यो। म ६ दिनको यात्रामध्ये चार दिन त्यही अन्तिम सिटमा बसें — हल्लिँदो यात्रामा पनि स्थिर सम्झना जम्मा गर्दै।
पहिलो दिनको लामो यात्रा र दोस्रो दिनको कालिकोट पुग्दा थकाइ भए पनि कालिकोट सदरमुकाम मन्माको हरियाली र त्यहाँको आतिथ्यले आत्मा ताजगी पायो। जानकी दर्शन ट्राभल एजेन्सीले उत्कृष्ट होटलको व्यवस्था गरेको थियो। न त बिजुलीको कमीले असुविधा भयो, न त बसोबासले निराशा। सधैंजस्तै साँझमा सबै साथीहरूबीच हाँसो–ठट्टा चल्यो, अनि कुरा गरियो — अब रारा नजिकै छ, रारा तालमा आफ्नो प्रतिबिम्ब हेर्ने दिन टाढा छैन।
तर जब हामी तेस्रो दिन सल्लेरी पुग्यौँ, वरिपरि हरिया डाँडाहरू थिए, मौसम खुला थियो, आकाश उज्यालो। यो हिउँबिनाको यात्रा हामीले सोचेजस्तो थिएन, तर यसको सौन्दर्य फरक थियो। रारा पुग्ने बाटोमा जङ्गलको हरियाली, किनारमा बग्ने कर्णाली नदीको नीलोपन र हावाको सन्तुलित शीतलताले यो यात्रा सौन्दर्यको अर्को परिभाषा बन्यो।
हिउँ नदेख्दा पनि निराशा होइन, आश्चर्य लाग्यो — नेपालको उत्तरपश्चिममा पनि यस्तो हरियाली, सल्लेरी पुग्दा हामीले हल्का साँस्कृतिक साँझ आयोजना गर्यौँ। त्यहाँ मैले पूर्वबाट आएका साथीहरूलाई देउडा खेल्न सिकाएँ। त्यो पश्चिमको मौलिकतालाई सबैले आत्मसात गरे, हाँसो र तालमा यात्राको थकाइ हरायो। हाम्रो गाइड इन्द्र जी र उमेश जी लगातार सक्रिय थिए — बाटोमा, व्यवस्थापनमा, र हरेक सानो आवश्यकतामा। उनीहरूको समर्पणले यात्रालाई सहज बनायो, अनि यात्रु र गाइडबीचको सम्बन्ध मित्रतामा परिणत भयो।
यत्रामा दोस्रो बिहानै सल्लेरी बाट हामी रारा तर्फ लाग्यौ । नेपाली सेना र निकुञ्जको नियम पुरागर्दै राराको दृश्य पहिलोपटक देख्दा मनले बोलेन, केवल आँखाले बोले। विशाल, नीलो, स्थिर — तर हावासँगै बाँचिरहेको। ताल वरिपरिका पहाडहरू साक्षी थिए, जसले मान्छेको आवाजभन्दा प्रकृतिको मौनतालाई बल दिन्थे। हावा चल्दा पानीको सतहमा तरङ्ग खेल्थे, र ती लहरहरूले सूर्यको किरणसँग नाच्थे।
त्यो दृश्य क्यामेराले होइन, आत्माले कैद गर्ने क्षण थियो। त्यहाँ केही बेर बस्दा समयको अर्थ हरायो। सबैजना मौन थिए, मानौँ प्रत्येक जनाले आफ्ना थकाइ, आफ्नो तनाव, र आफ्नो जीवन तालसँग साटिरहेका थिए। रारा केवल हेर्ने ठाउँ होइन, महसुस गर्ने ठाउँ रहेछ — जहाँ प्रकृतिले आफ्नै भाषा बोल्छ।
राराको सबैभन्दा अद्भुत विशेषता यसको रंग परिवर्तन गर्ने स्वभाव हो। बिहान सबेरै जब पूर्वतर्फको पहाडबाट सूर्यको पहिलो किरण तालमा पर्छ, रारा फिक्का हरियो–नीलो झल्कोमा मुस्कुराउँछ। पानी यति शान्त हुन्छ कि वरिपरिका रुख र बादलको प्रतिबिम्ब बिलकुल ऐनाजस्तो देखिन्छ।

दिउँसो सूर्य ठ्याक्कै माथि आइपुग्दा रारा गाढा नीलो बन्छ—त्यो गहिरो र आकर्षक रंग जसले मनलाई कुनै बेग्लै संसारमा पुर्याउँछ।
साँझपख पश्चिमतर्फको डुब्दै गरेको घामका सुनौला किरणले जब तालमा झल्किन्छ, रारा एकाएक बैजनी–केशरी रंगमा ढल्किन्छ। त्यस क्षणमा लाग्छ—राराले आफैंलाई रंग बदल्दै समयसँग संवाद गरिरहेको छ।
रारा स्थिर छ, तर हरेक क्षण फरक देखिन्छ त्यसैले त्यहाँ पुग्ने जो कोही पनि एकपटक होइन, बारम्बार त्यस नीलो आत्मामा हराउन चाहन्छ।
राराको नीलो सतहमा डुबिरहेको मन अचानक टाढा उत्तरतर्फको सेतो शृङ्खलातर्फ तानियो — त्यो थियो चन्खेली हिमाल।
राराको किनारमा उभिँदा, तालको नीलोपन र चन्खेलीको उज्यालो सेतो चमक एउटै दृश्यमा मिसिन्छ। त्यो क्षणमा लाग्छ — आकाश र धरतीबीचको संवाद यहीँ भइरहेको छ।
हावा स्वच्छ, बादल तल, र वरिपरिका रुखहरूले हिमाललाई सलाम गरिरहेका जस्ता देखिन्थे। क्यामेराले त्यो दृश्य समात्छ, तर आत्माले मात्र महसुस गर्न सक्ने सौन्दर्य थियो त्यो।
राराको नीलोपन र चन्खेलीको उज्यालो सेतो रंग जब एउटै दृष्टिमा अटाउँछ, त्यो दृश्य जीवनभर स्मृतिमा अड्किन्छ।
राराबाट फर्किँदै हामीले सल्लेरीसम्मको बाटो घोडामा तय गर्ने निर्णय गर्यौँ — त्यो निर्णय यात्राको सबैभन्दा रोमाञ्चक क्षण बन्यो।
पहाडको साँघुरो बाटो, एकातिर डुँडिरहेको हरियो वन र अर्कोतिर खोल्सोको गर्जन — घोडा हिँड्दै गर्दा हरेक पाइला जोखिम र आनन्द दुवै थियो।
पहिलो पटक घोडाको पीठमा बसेर उकालो चढ्दा शरीर मात्र होइन, मन पनि काँप्थ्यो; तर केही बेरमै त्यो डर रोमाञ्चमा बदलियो।
घोडा ढुंगामुनि टेकेर अघि बढ्थ्यो, कहिले फन्को मार्थ्यो, कहिले पानीको धार नाघ्थ्यो — र हामी हाँस्यौं, रमायौं, बाँचिरहेका महसुस गर्यौं।
सल्लेरी पुग्दा घाम पश्चिममा हराइसकेको थियो, शरीर थकित थियो तर आत्मा उत्साहित।
त्यो घोडा यात्रा केवल बाटो पार गर्ने साधन थिएन — त्यो साहस, स्वतन्त्रता र यात्राको आत्मा थियो।
घोडाको टापसँगै हाम्रो मन पनि स्वतन्त्र भएर दौडिरहेको थियो, र त्यो क्षणमा राराको मौनतालाई परित्याग गरेर हामी आफ्नै साहसमा गर्व गरिरहेका थियौँ

रारा जाने बाटो मै पर्ने सिजा उपत्यका पुग्दा, त्यो भू–भागले नेपालकै सभ्यता र कृषिको गर्व बोकेको महसुस हुन्छ। सिजा उपत्यका नेपालको प्राचीन सभ्यतामध्ये एक हो, जहाँ करिब तीन हजार वर्ष पुराना मानव बस्तीको चिनारी भेटिन्छ भन्ने मान्यता छ।
यही ठाउँलाई “नेपाल शब्दको जन्मभूमि” पनि भनिन्छ — जुन कुरा स्थानीयले गर्वका साथ सुनाउँछन्।
त्यहाँ पुग्दा सुनिन्छ, “यो सिजा हो — यहाँबाटै नेपाल भन्ने नाम जन्मिएको हो।”
उपत्यकाको फाँटहरू पहेँलो छन्, जहाँ प्रसिद्ध मार्सी चामल, सिमी, आलु र फलफूल उत्पादन हुन्छ। यहाँको हावा शुद्ध, पानी पारदर्शी, र मानिसहरू सरल। यात्राको थकाइ हराउँदै जाँदा भिरमाथि बनेको नेपालको आकृतिवाला नक्सा देख्दा त रोमाञ्चित भयौं।

त्यो नक्सा केवल कलाकृति थिएन — त्यो पहाड, पसिना र देशप्रेमको प्रतीक थियो। साँच्चै, सिजामा उभिँदा महसुस हुन्छ — नेपाल केवल राजधानीमा होइन, यस्ता दुर्गम ठाउँका माटो र मानिसभित्र बाँचिरहेको छ।
राराबाट फर्किँदै हामी दोस्रो दिन जुम्ला सदरमुकाम पुग्यौँ। मुर्मा टप गएर करिव सल्लेरीमा केही साथीहरूले करिब २ घण्टा कुराउदाको कुरा यहाँ उल्लेख गरिन ।
राती जुम्लाको भुलभुलेमा बसाइँ कठिन भए पनि त्यहाँको मार्सी चामल र च्याङ्राको मासु खाँदा थकाइ हरायो । त्यो परिकार केवल स्वाद थिएन, त्यो संस्कृतिको स्वाद थियो। जुम्लाको आत्मा नै त्यस भात र मासुमा मिसिएको महसुस भयो। यात्राभर अन्तिम सिटमा बस्दा हड्डी हल्लिने गरी हल्लिँथ्यो, तर त्यसले हाँसो पनि ल्याउँथ्यो। त्यो झट्कासँगै यात्रा अझै रोमान्चक बन्थ्यो। हरेक मोडमा खतरा पनि थियो, तर त्यही खतरा नै हाम्रो साहसको प्रमाण बन्न पुग्यो।

जुम्लामा पुगेर हामीले केवल विश्राम र भोजन मात्र गरेनौं, त्यो ठाउँको इतिहास पनि महसुस गर्यौँ। सदरमुकाम नजिकै रहेको चन्दननाथ मन्दिर पुगेपछि मन एकाएक श्रद्धाले भरियो। शक्तिशाली र ऐतिहासिक मानिएको यो मन्दिर करिब पाँच सय वर्ष पुरानो मानिन्छ, जसले जुम्लाको सांस्कृतिक पहिचान बोकेको छ।
मन्दिरको आँगनमा टनटन घण्टी बज्दा र धूपको सुवास फैलिँदा वातावरण आध्यात्मिक ऊर्जाले कम्पित थियो। यात्राको थकाइ हरायो, मनमा नयाँ ऊर्जा आयो।
त्यो क्षणमा लाग्यो — रारातर्फको यात्रा केवल प्राकृतिक सौन्दर्य हेर्न होइन, आत्मिक शान्ति र ऐतिहासिक गौरव महसुस गर्न पनि हो।
जुम्लाको स्याउ केवल स्वादको प्रतीक होइन, सम्भावनाको खानी हो। यहाँको हावापानी, माटो र प्राकृतिक वातावरण स्याउ उत्पादनका लागि आदर्श मानिन्छ। तर त्यही उत्पादनले अझै पूर्ण बजार पाउन सकेको छैन। धेरैजसो किसानले स्याउ बेच्न सुर्खेत वा कोहलपुरसम्म ओसार्नुपर्छ, जसले लागत बढाउँछ र आम्दानी घटाउँछ।
यदि स्थानीय तह र संघीय सरकारको समन्वयमा स्याउको व्यवस्थित बजारिकरण, प्रशोधन उद्योग र पर्यटनसँग जोडिएको प्रबर्द्धन योजना लागू गर्न सकियो भने जुम्ला केवल स्याउको उत्पादन स्थल मात्र होइन, “स्याउको राजधानी” बन्न सक्छ।
रारा भ्रमणमा आउने प्रत्येक पर्यटकले “जुम्लाको स्याउ चाख्ने” अनुभवलाई पर्यटन आकर्षणको हिस्सा बनाउन सकियो भने, स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थपिन सक्छ।
त्यो सम्भावनाको अनुभूति हामीले यात्रामा स्याउ नदेखेर पनि महसुस गर्यौं — किनकि कहिलेकाहीँ अनुपस्थित कुरा नै परिवर्तनको प्रेरणा बन्छ।
फर्किने यात्रामा हाम्रा कुरा र स्मृतिहरू अझ गहिरो हुँदै गए। सल्लेरीमा एक रात बस्दा देउडा, हाँसो, नाच र गीतमा सबैले पश्चिमको आत्मा महसुस गरे। त्यसपछि कालिकोट मन्मा फर्केर, फेरि सुर्खेत हुँदै हामी कोहलपुर पुगेँ। सुर्खेतको ऐतिहासिक काक्रेबिहार र धार्मिक देउती बज्यै मन्दिरको दर्शनले यात्रामा आध्यात्मिक पूर्णता थप्यो। दर्शनपछि मनले शान्ति पायो, तर त्यस शान्तिमा पनि अन्तिम बिदाइको हल्का पीडा मिसिएको थियो।
कोहलपुर आइपुग्दा यात्रा समाप्त भएको संकेत थियो, तर मनले त्यो स्वीकार गर्न चाहेन। काठमाडौंबाट आएका सहभागीहरू त्यहाँबाट आफ्नो बाटो लाग्दै थिए, हामी धनगढीतिर फर्किन तयार थियौँ। ६ दिनको यात्रामा हामी केवल सहयात्री होइन, परिवारझैँ भएका थियौँ। कसैको स्वास्थ्यमा सानो समस्या हुँदा सबैले चिन्ता गर्थे, कसैले हाँस्यो भने सबै हाँस्थे।
त्यो आत्मीय सम्बन्धले यात्रालाई केवल दृश्यको नहीं, भावनाको यात्रा बनायो। जब काठमाडौंबाट आएका साथीहरूलाई बिदा गर्यौँ, मन गह्रौं भयो। मनमा थियो — फेरि कहिले भेट होलारु अनि त्यही बेला एउटा रमाइलो घटना भयो। बुटवलका हरि श्रेष्ठ बुबाको झोला गल्तीले मेरो झोलासँग साटियो। बर्दीया पुग्दा थाह भएको त्यो कुराले एकचोटी झस्कायो तर फेरि — हामी परिवारझैँ भयौँ, त्यसैले यस्तो सानो गल्ती पनि आत्मीय भयो। अन्ततः “अर्को यात्रामा फेरि भेटौंला” भन्ने वाचा गर्दै हामी धनगढीतिर लाग्यौँ।
रारा केवल यात्रा होइन, त्यो जीवनको प्रतीक हो। जसरी त्यहाँ पुग्न कठिनाइ र जोखिम पार गर्नुपर्छ, जीवनका सुन्दर क्षणहरू पनि त्यस्तै संघर्षपछि मात्र भेटिन्छन्। कच्ची बाटो, धुलो, जोखिम र अनिश्चितताबीच देखिने त्यो सौन्दर्यले सन्देश दिन्छ — सुन्दर कुरा सजिलो बाटोले भेटिँदैन। राराको वरिपरि फैलिएको मौनता, पानीको सतहमा परेका बादलका छायाँ र हावामा मिसिएको सानोतिनो नीलोपनले प्रत्येक आगन्तुकलाई आफ्नो आत्मासँग संवाद गर्न बाध्य बनाउँछ।
राराको इतिहास पनि त्यत्तिकै गहिरो छ। समुद्री सतहदेखि करिब २,९९० मिटर उचाइमा रहेको यो ताल करिब १०।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको गहिराइ लगभग १६९ मिटर मानिन्छ। सन् १९७६ मा स्थापना गरिएको रारा राष्ट्रिय निकुञ्ज यस क्षेत्रको पर्यावरणीय र जैविक संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण छ।
दुर्लभ वनस्पति र जनावर, विशिष्ट भूगोल, र मौलिक संस्कृति मिलेर रारालाई नेपालकै विशिष्ट गन्तव्य बनाउँछन्। तर यति सुन्दर गन्तव्यमा पुग्न अझै पनि कठिनाइ छ। सडक पक्की छैन, यातायात सहज छैन, सूचना र संचार सुविधा सीमित छन्। पर्यटकको आकर्षण बढाउन रारालाई केवल प्राकृतिक होइन, व्यवस्थापनको दृष्टिले पनि सशक्त बनाउन जरुरी छ।
भोलिका दिनमा यदि सुर्खेतदेखि मुगु सम्मको सडक पक्की बनाउन सकियो भने रारामा पुग्ने नेपाली र विदेशी पर्यटकको संख्या दोब्बर हुनेछ। स्थानीय होमस्टेहरूलाई प्रोत्साहन दिई, देउडा–संस्कृति, स्थानीय परिकार र प्राकृतिक पदमार्गलाई व्यवस्थित गर्न सके, यो क्षेत्र नेपालको पश्चिमी पर्यटनको केन्द्र बन्न सक्छ।
सौर्य ऊर्जाको प्रयोग, फोहोर व्यवस्थापन र डिजिटल प्रचारमार्फत रारालाई विश्वस्तरीय गन्तव्य बनाउने ठूलो सम्भावना छ। अहिले संसारमा टिकाउ पर्यटनको अवधारणा बढ्दै छ — रारा त्यसको उत्कृष्ट उदाहरण बन्न सक्छ। किनभने यहाँ प्रकृति, संस्कृति र सम्भावना त सबै छ, कमी छ केवल सहज पहुँच र प्रचारको।
राराबाट फर्किएपछि पनि मन त्यहीँ अड्किएको छ। गाडीको अन्तिम सिटमा उफ्रिन्थेँ, हल्लिन्थेँ, तर हरेक झट्काले एउटा सम्झना जन्मायो। कहिले साथीहरुको हाँसो सम्झन्छु, कहिले तालको निलो लहर। ६ दिनको यात्रा अब शब्दमा मात्र बाँकी छैन, त्यो मेरो भित्र गुम्सिएको अनुभूति बनेर बसेको छ। जीवनमा कहिलेकाहीँ यस्ता यात्रा हुन्छन् जसले गन्तव्य भन्दा बढी मानिसहरूलाई जोड्छ, समयभन्दा बढी अनुभूति दिन्छ, र बाटोभन्दा बढी मनमा पदचिह्न छोड्छ। रारा त्यस्तै यात्रा थियो।
रारा ताल अब मेरो लागि कुनै ठाउँ होइन, त्यो अनुभूतिको नाम हो। जब–जब जीवनको भीडमा थकाइ लाग्छ, मन त्यस नीलो सतहमा फर्किन्छ, जसले एकपटक आत्मालाई अँगालेको थियो। रारा केवल प्रकृति होइन, त्यो आत्माको दर्पण हो, जसमा हामीले आफूलाई निहाल्न सिक्यौँ

Leave a Reply