
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले सुरक्षा अधिकारीहरूसँग छलफल गरेको छ । काठमाडौंका सीडीओ ईश्वरराज पौडेलसहित सुरक्षा निकायका अधिकारी, कार्यपालिकाका पदाधिकारी, कर्मचारीलगायत सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए ।
जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रम तथा नगरपालिकाको आगामी मार्गदर्शन छलफलको एजेण्डा थियो । नगरभित्रको सुरक्षा जोखिम, सुरक्षा प्रवर्द्धन, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त भूमिका, सुशासनलगायतका विषयमा वक्ताहरूले धारणा राखेका थिए ।
उपमेयर अनिता लामाले आफ्नो स्थानमा शान्तिपूर्ण रूपमा बस्ने वातावरण निर्माण गर्न टोलबासीले नै सहयोग गर्नुपर्नेमा जोड दिइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले शासन व्यवस्था कायम गर्न सुरक्षा निकायको भूमिका अपरिहार्य रहेको र नगरपालिकाले नगरस्तरबाट एउटा संरचना बनाई वडा तथा बस्तीस्तरमा सुरक्षा सम्बन्धी सचेतना फैलाउनुपर्ने बताए ।

सिडिओ ईश्वरराज पौडेलले सामान्य अवस्थामा फर्कदै गरेको काठमाडौंलाई कानुन र विधि पालनातर्फ लैजान पहल भैरहेको जानकारी गराए । सीसीटीभीको नेटवर्किङ, नेपाल प्रहरी तथा नगर प्रहरी मिलेर नगरपालिकाको सुरक्षा गर्न सकिने विषयमा समेत पौडेलले राय राखेका थिए ।
मेयर मिठाराम अधिकारीले आफ्नो टीम निर्वाचित भएर आएदेखि नै नगरपालिकामा सुशासन कायम गर्न प्रतिवद्ध रहेको बताए । स्थानीय सरकारले गरेका कार्यहरु वडा मार्फत पनि जनस्तरमा पुग्नुपर्ने, जनतासँग प्रहरी साझेदारी कार्यक्रमको निरन्तरता हुनुपर्ने, जनताको अहिलेको नजिकको साथी सीसीटीभी र सडक बत्ती भएकाले ५० प्रतिशत लागत साझेदारीमा काम गरिरहेको उनको भनाइ थियो ।
यसअघि नगरपालिकाले विद्यालयका प्रधानाध्यापकसँग बैठक, उद्योग, होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम, मेलमिलापकर्ता, मनोविमर्शकर्ता र नगर स्काउटसँग अन्तरक्रिया कार्यक्रम, विभिन्न संघ-संस्थाबीचको अन्तरक्रिया कार्यक्रम, विशिष्ट प्रबुद्ध वर्गहरुसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम समेत चलाइसकेको छ ।


Leave a Reply