
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले महाधिवेशन प्रतिनिधिहरूको कार्यकाल सकियो भन्नेहरूले काइते तर्क गरेको टिप्पणी गरेका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन कार्यसमितिको कार्यकाल तोकिएको भएपनि महाधिवेशन प्रतिनिधिहरूको कुनै कार्यकाल विधानमा नतोकिएको बताए।
उनले भने, ‘केन्द्रीय कार्यसमितिको कार्यकाल तोकिएको छ। महाधिवेशन प्रतिनिधिको कार्यकाल तोकेको चाहिँ मैले कतै पनि देखिनँ है विधानमा। आवश्यकता अनुसार जीवित रहन्छ। सडक, राष्ट्र र पार्टीको आवश्यकताअनुसार महाधिवेशन प्रतिनिधिको कार्यकाल जति पनि रहन्छ। महाधिवेशन प्रतिनिधिको कार्यकाल सकियो, छैन भन्ने काइते तर्क हो, यसमा हामी सहमत छैनौँ।’
इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट नेताहरूले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन गरेपछि संस्थापन पक्षका केही नेताहरूले प्रतिनिधिहरूको कार्यकाल नै सकिएको दाबी गर्न थालेका छन्। तर, त्यो कुरा विशेष महाधिवेशन पक्षधरहरूले अस्वीकार गरेका छन्।
उनले आफूहरूले बहुमत प्रतिनिधिको हस्ताक्षर बुझाएको आज ६ दिन भइसकेकाले नियमित महाधिवेशन नभए ८४ दिनभित्र विशेष महाधिवेशन हुनैपर्ने जिकिर गरे।
जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले मंसिरमा महाधिवेशन गर्ने गरी दुई विकल्पसहितको कार्यतालिका पेस गरेका छन्। नियमित नभए स्वतः विशेष महाधिवेशन हुने उनको तर्क छ।

Leave a Reply