तोडफोड र आगजनी गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन युवासंघ नेता बस्नेतको माग

रुपन्देही । युवासंघ नेपालका केन्द्रीय सदस्य विनोद बस्नेतले तोडफोड र आगजनी गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । नेकपा (एमाले) जिल्ला जनसंगठन समन्वय संयन्त्र अर्घाखाँचीले आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बस्नेतले जेनजी आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई अनिवार्य रूपमा कारबाही गर्नुपर्ने बताएका हुन् ।

बस्नेतले आन्दोलनमा घुसपैठ गरी अराजक गतिविधि गर्नेहरूलाई कानूनअनुसार कारबाही हुनुपर्ने बताउँदै युवा संघ र पार्टी संगठन त्यसप्रति सचेत रहेको स्पष्ट पारे । उनले आन्दोलनको आडमा तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति र हिंसात्मक कार्य कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे ।

बस्नेतले वर्तमान समयमा राष्ट्रिय एकता, स्थायित्व र विकासमुखी राजनीतिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै जेनजी पुस्तालाई जिम्मेवार र सचेत राजनीतिक संस्कृतितर्फ अभिमुख गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा (एमाले) अर्घाखाँचीका जिल्ला तथा स्थानीय तहका नेता, जनसंगठनका प्रतिनिधि, युवा तथा सामाजिक अभियन्ताहरूको पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए । उनीहरूले चाडपर्वले आपसी एकता, सद्भाव र राष्ट्रिय भावना सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *