सिंहदरबार किन जल्न दिइयो भन्ने प्रश्नमा सेनाको जवाफ- २ पटक छिरेको हुललाई सम्झाएर फर्काएका थियौँ, ४६ राउन्ड हवाई फायर गर्‍यौँ

काठमाडौं । सिंहदरबारलगायतका देशका महत्वपूर्ण संरचना जल्दा रमिते बनेको भन्दै आलोचना भइरहँदा नेपाली सेनाले मुख खोलेको छ ।

जेनजी आन्दोलनको ३६ दिनपछि जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले स्टेप बाइ स्टेप अझ स्पष्ट हुँदै जाने भन्दै छोटो प्रष्टीकरण दिए ।

राष्ट्रका महत्त्वपूर्ण संरचनामा क्षति हुनु निकै दुस्खको कुरा भन्दै उनले अहिलेको कम्फर्टेबल अवस्था भन्दा त्यसबेलाको अवस्थालाई मनन गर्दा दुरुस्त रूपमा बुझ्न सकिने बताए ।

सिंहदरबारमा संयमता अपनाई घातक शक्तिभन्दा कमका उपाय अपनाइएको साथै ४६ राउण्ड हवाई फायर र २ पटक मूलगेटबाट छिरेको उत्तेजित हुललाई भौतिकरूपमा धकेलेर सम्झाएर बाहिर फर्काइएको सेनाको भनाइ छ ।

थापाको भनाइ जस्ताको तस्तै

देशभरी विभिन्न तरिकाले प्रदर्शन तोडफोड र आगजनी भएको अवस्थामा अराजकतालाई कम गर्न र नियन्त्रण गर्न न्यूनतम शक्ति प्रयोग गर्न गर्दा पनि अराजक भिड पछाडि नहटिरहेको कतिपय ठाउँमा अवस्था तपाईंहरूले नै रिपोर्ट गर्नुभएको छ, देख्नुभएको छ।

आई विटनेस नै हुनुहुन्छ । सिंहदरबारकै कुरा गर्दा पनि अत्यन्त संयमता अपनाई घातक शक्ति भन्दा कमका उपायहरू ग्राजुएटेड रिस्पोन्समा लेस देन लिथल उपायहरू अपनाइएकै हो।

४६ राउण्ड हवाई फायर र दुई-दुई पटक मूल गेटबाट छिरेको उत्तेजित हुललाई भौतिक रूपमा धकेलेर, सम्झाएर बाहिर फर्काइएको थियो ।

पछि ठुलो सङ्ख्यामा चारै दिशाबाट अत्यन्त आक्रोशित जत्था भित्र छिरेपछि ठूलो मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने कुरा प्रष्ट देखियो ।

त्यसकारण समग्र घटनाहरूमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहल त लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षा भन्दा महत्त्वपूर्ण रहेको बुझाइ यहाँहरूलाई अनुरोध गर्दछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *