सुनसान चाक्सीबारीको साबिती शब्द-चित्र

असोज २५ गते शनिवार बिहान १० बजेतिर चाक्सीबारीस्थित गणेशमान सिंह निवास पुगेको थिएँ । ‘जेन जी बिद्रोही’ को राष्ट्रव्यापी ‘खरानीकरण अभियान’ बाट क्षतिग्रस्त अर्को एउटा ऐतिहासिक भवन हो यो ।

झण्डै १४ महिनाअघि चाक्सीबारीका ‘घरबेटी’ एवं कांग्रेस नेता प्रकाशमान सिंह उपप्रधानमन्त्री नियुक्त भएका बेला उनलाई बधाई प्रदानार्थ त्यहाँ गएको थिएँ । त्यसबेला जाँदा र अहिले जाँदाको माहोलमा कुनै पनि तादाम्यता थिएन । पहिले जाँदा त्यस परिसरले बोकेको ऐतिहासिकताका कारण मैले बेग्लै चहक महसुस गर्ने गरेको थिएँ । तर, २५ असोजमा जसै म चाक्सीबारीको चौहद्दी भित्र छिरें, निःशब्द अनि अवाक भएँ ।

कुनै बेला नेपाली राजनीतिका सर्बोच्च नेता थिए गणेशमान सिंह । र, नेपाली महिला आन्दोलनकी अग्रणी योद्धाको चिनारी थियो उनकी पत्नी मंगलादेवी सिंहको । २०४६ सालको जनआन्दोलनको सफलतालगत्तै यसका कमाण्डर गणेशमानलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनिदिनका लागि तत्कालीन राजा वीरेन्द्रले आग्रह गरेका थिए । तर गणेशमानले किस्तिमा प्राप्त भएको पद अस्वीकार गरी आफ्ना पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारे । उनै त्यागी नेताको निवासको रूपमा चिनिन्छ चाक्सीबारी ।

यो त्यही ऐतिहासिक परिसर थियो जहाँबाट उक्त सफल जनआन्दोलनको उद्घोष भएको थियो । त्यसैले यो परिसर केवल गणेशमान र उनको पछिल्लो पुस्ताको आवास मात्रै थिएन, अपितु नेपाली प्रजातान्त्रिक आन्दोलनको उद्भव अनि उठानको भावनात्मक ‘आधार इलाका’ पनि थियो । अनि कांग्रेसमै आवद्ध उनका ज्येष्ठ छोरा प्रकाशमान सिंह र बुहारी सिर्जना सिंह त्यसको उत्तराधिकारी एवम् पहरेदार । तर दुबै पहरेदारहरुको अनुपस्थितिमा ‘जेन जी बिद्रोहीहरु’ ले जी.एम. अर्थात गणेशमान सिंह निवासलाई जलाइदिए गत भदौ २४ गते !

हुन त केही बिश्लेषकले ‘जेन जी’ द्वारा जलाइएको सो भवनको ऐतिहासिकतालाई आफ्नै ढंगबाट इन्कारीको संकथन पनि प्रस्तुत गरेको पाइएको छ । त्यस सम्बन्धमा खोतल खातल अहिले नगरौं । त्यसको वस्तुनिष्ठ बिवरणको प्रस्तुति र व्याख्याको जिम्मा अन्य कोही अनुसन्धान कर्तालाई । अहिलेलाई भने प्रस्तुत छ – आम नेपाली जनमानसलाई प्रजातान्त्रिक हक अधिकारको बैधानिक ग्यारेन्टीको लागि आजीवन संघर्ष गरेका गणेशमान– मंगलादेवी र प्रकाशमान – सिर्जना सिंहको निवासमा असोज २५ गते देखिएको दृश्यको शब्द चित्र ।

प्रकाशको अँध्यारो चेहरा

१४ महिनाअघि पुलकित मुहारले म लगायत धेरैको बधाई ग्रहण गरेका नेपाल सरकारका तत्कालीन नवनियुक्त उपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहलाई त्यसपछि पहिलोपटक त्यही ऐतिहासिक चाक्सीबारीमा चमकबिहीन मुद्रामा देख्दै थिएँ म । पहिले झैं त्यसदिन पनि सयभन्दा बढी शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताका माझ थिए उनी । तर यसपटक स्वाभाविक रूपमा फरक के थियो भने त्यहाँ प्रहरीका कुनै पहरेदार थिएनन् । न त सेनाका कुनै सुरक्षा सेवादार थिए । चाक्सीबारीको चौघेरामा कुनै उल्लास थिएन, कुनै उमंग थिएन, न त कुनै तरंग अनि रंगारंग । थियोे त केवल अत्यासलाग्दो मुर्दाशान्ति अनि प्रकाशमान लगायत हरेकको अनुहारमा अन्यमनस्कता ।

उनी बसिरहेको पृष्ठ भागमा खरानीले भरिएका बोराहरु थुप्रो लगाइँदै थियो । त्यसो गर्दा आएका आवाजहरुले सन्नाटालाई चिरिरहेका थिए । प्रकाशमान पालैपालो आफ्ना वरिपरि बसेका अनुहारहरुमा दृष्टि दिन्थे । तर उनको मूल फोकस चाहिँ करिब एक सय फिट सामुन्नेको ध्वंसीकृत आफ्नो ऐतिहासिक भवनमै थियो । निवासको पूर्वपट्टि रहेको बाहिरी कम्पाउण्डबाट भित्र प्रवेश गर्ने फलामे गेट जेनजी बिद्रोहीद्वारा बडो निर्ममता साथ कचल्ट्याइँदा पनि लौहपुरुषको घरको त्यो प्रमुख लौहद्वार दह्र्रो गरी उभिएको देखिन्थ्यो ।

आफ्नो उत्तरी आडमा अवस्थित सिंह निवासको आकर्षक आगन्तुक कक्ष अंगारको थुप्रोमा परिणत भएको प्रत्यक्ष गोचर गरेको थियो त्यो गेटले । तर त्यसले बाहिरी कम्पाउण्डमा कालो अस्थिपन्जर बनेका चारवटा चार चक्के हलुका सवारीसाधनहरुतिर पटक पटक पुग्ने गरेका प्रकाशमान लगायतका नजरलाई छेक्न भने असफल भइरहेको थियो ।

मुहारमा मुस्कान ल्याउन संघर्ष गरिरहेका देखिन्थे प्रकाशमानप्रति शुभेच्छुकहरुले करुणात्मक दृष्टि दिइरहेका थिए । आफ्नो नेताको त्यो निरीहताप्रति निकटवर्ति कार्यकर्ताहरू नतमस्तक देखिन्थे ।

शान्त सिर्जनाका बेहिसाब वेदना

एउटा मेचमा बसिरहेका पति प्रकाशमानभन्दा ३० फिट जति पश्चिमपट्टि देखिइन् उनकी पत्नी सिर्जना सिंह । २०–२२ जना मलिन मुहारका महिलाहरुका बीचमा उभिइरहेकी उँचो कदकी सिर्जना सिंह टाढैबाट चिनिइन् । एक शान्त र भद्र महिला नेतृको पहिचान बनाएकी उनको अनुहारमा उदासी प्रष्ट देखिएको थियो । तथापि सधैं झैं उनको निवासमा पुग्ने जो कोहीलाई पनि श्रद्धासाथ उनले गर्ने सोधपुछ र स्नेह भावको अभाव देखिएन ।

जलेर अस्थिपंजरमा रुपान्तरित पश्चिम पट्टीको परम्परागत आवरणको नयाँ भवनबाट खरानी र अंगार निकालिंदै थियो । पार्टीका युवा कार्यकर्ताहरु स्वस्फूर्त रूपमा उक्त तीनतले भवनका खरानीकृत सामग्रीलाई ‘डम्पिङ’ गर्दै थिए । त्यसरी डम्पिङ गरिंदै गरेका ‘डेबृ’ को मूल रुपलाई सिर्जना सिंह स्पष्ट पहिचान गरिरहेकी थिइन् । खरानी नबनीसकेका तर आफ्नो मूल स्वरूपबाट बिकृत बस्तुहरुलाई चिन्ने प्रयास गरिरहेकी थिइन् उनी । ती सामानहरुमध्ये कुनै जेठी बुहारीको त कुनै कान्छीको, कुनै जेठो छोरा प्रभाषको त कुनै कान्छो छोरा भाष्करको अनि कुनै नातीको बताइरहेकी थिइन् ।

उनले आफू काम विशेषले अष्ट्रेलिया गएको बेला आफ्ना दुबै आवास आगजनीमा परेको सुनाइन् । आफ्नो अनुपस्थितिका कारण घरमा रहेका महत्त्वपूर्ण सामान समेत निकाल्न नसकिएको गुनासो गरिन् ।

उनले प्रश्न गरिन्, ‘कसैको पनि क्यै नबिगारेको हाम्रो परिवारको ऐतिहासिक निवास ध्वंस हुने गरी किन आगो लगाइयो ?’

आक्रोशमिश्रित भावमा उनले थपिन्, ‘यो आगोमा हाम्रो घर मात्र जलेको छैन, यसमा हाम्रो पूर्वजदेखि संरक्षण गरिएका अनमोल सांस्कृतिक र पैतृक सामग्रीहरु ध्वस्त भएका छन् । ऐतिहासिक राजनीतिक दस्तावेजहरुसँगै नेपालको प्रजातान्त्रिक आन्दोलनको एक उदाहरणीय स्मारक जलेको छ । नेपालकै गर्व र हाम्रा देवतुल्य गणेशमान बा र मंगला आमासँग जोडिएका सबै सामग्रीहरु स्वाहा भए । उहाँहरु र प्रकाशमानले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रहरुबाट पाउनु भएका पुरस्कार अनि उपहारहरु जलेका छन् । ती प्रत्येक उपहार र पुरस्कार हाम्रो मात्रै होइन मुलुकबासीका सम्पत्ति थिए । नयाँ पिँढीको लागि प्रेरणादायी थिए ।’

पति प्रकाशमानले पटकपटक पार्टीको उपल्लो जिम्मेवारीमा रहँदा र मन्त्री हुँदासमेत कुनै प्रकारको भ्रष्टाचार नगरेको भन्दै सिंहले बरु यही राजनीतिका कारण आफ्नो पुख्र्यौली सम्पत्तिको ठूलो अंश बिक्री गर्नुपरेको दावी गरिन् ।

आफू अघिल्तिरको भग्नावशेष भवनलाई देखाउँदै भनिन्, ‘यो भवन जेठो छोराको बिबाहको ठीक पहिले हतार–हतारमा बनाइएको थियो । कलङ्कीमा रहेको ३० आना जग्गामध्ये १५ आना मोहीलाई दिएर बाँकी १५ आना जग्गा बेचेर प्राप्त रकमले यो घर बनाएका हौं ।’

बाल मन्दिर प्रकरण

बाल मन्दिर प्रकरणमा मिडियाले जवर्जस्ती प्रकाशमानलाई मुछ्ने गरेको आरोप लगाइन् पत्नी सिर्जनाले ।

‘रिता सिंह वैद्यको भाइ हुनु नै प्रकाशमान सिंहको अपराध हो त ?’ उनले प्रतिप्रश्न गरिन्, ‘गणेशमान सिंहले आफ्ना छोराछोरी सबैलाई बराबरी सम्पत्ति भाग दिनुभएको थियो । रिता सिंह जन्मिएको पुख्र्यौली घर उहाँलाई नै दिइएको थियोे । भारतको प्रसिद्ध जवाहरलाल नेहरु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकी सुपठित, पिके कलेजमा प्राध्यापक रहिसकेकी सरल स्वभावकी रिता सिंहले कुनै पनि भ्रष्टाचारजन्य काम गर्नुभएको मलाई विश्वास छैन ।’

‘त्यसो भए उनीविरुद्ध किन भ्रष्टाचार मुद्दा लाग्यो त ?’ भन्ने प्रश्नको जवाफमा सिर्जनाले भनिन्, ‘बालमन्दिर समितिका अन्य पदाधिकारीले उहाँलाई विश्वासघात गरेर फँसाइ दिए ।’

रिता सिंह स्वयम् भ्रष्टाचारको आरोपका कारण डिप्रेसनको सिकार भएको र हाल आफन्त समेत चिन्न नसक्ने अवस्थामा पुगेको उनले बताइन् । साथै मृगौलाको नियमित डायलासिस गराइरहनुपर्ने बहुरोगको समस्याबाट ग्रस्त भएको जानकारीसमेत दिइन् ।

गणेशमानको गाडी र सम्धिनीको साडी

सिंह निवास मूल परिसरभित्र पुगेर सरसर्ती नियाल्दा कुनै प्रकारको क्षति नखेपेको प्रतित हुने कुनै बस्तु थियो भने त्यो थियो, पूर्व–दक्षिण कुनामा उत्तराभिमुख एउटा जीप । तर गणेशमान सिंहले चढ्ने गरेको भनिने सो खैरो रंगको जीप पनि पछाडि र माथिल्लो भागमा जलेको रहेछ ।

त्यहाँ झुम्मिएकामध्ये एकजनाले १९६५ मोडेलको उक्त जीपको पछिल्लो र माथिल्लो पार्ट मात्रै जलेको कारण रिपेयर गरेर चलाउन मिल्ने बताए । त्यसैबीच सो जीपको अगाडि पट्टिको सीटमा रहेको जलेर बाँकी रातो साडीको टुक्राले सबैको ध्यान तान्यो । सो टुक्रा हातमा लिएर सिर्जनाले सम्धिनीले उपहार दिएको साडी भएको बताइन् ।

प्रजातन्त्र माथिको प्रहार : प्रकाशमान

भग्नावशेषको डम्पिङ र सरसफाइमा संलग्न स्वयंसेवक, पार्टी कार्यकर्ताहरु, कामदार र आगन्तुक–शुभेच्छुकहरुलाई चिया चमेनाको प्रवन्ध रहेछ । अण्डा, चना, चिया र कुकिज बाँडिएको थियो ।

प्रकाशमानले आफ्नै छेउको मेचमा बस्न मलाई आग्रह गरे । देशको निवर्तमान उपप्रधानमन्त्री एवम् कांग्रेस पार्टीका उपल्लो तहका नेता र गणेशमान सिंहका सुपुत्रसँग सोध्नुपर्ने थुप्रै जिज्ञासाहरु थिए । तसर्थ म उनकै छेउको प्लास्टिकको कुर्सीमा बसेँ । तर यो भग्नावशेषसामु बसेर उनलाई प्रश्न गर्न मानेन मेरो मनले । मैले केही नसोधे पनि टीठलाग्दो अनुहारमा आक्रोश मिश्रित अभिव्यक्ति आयो उनको ।

‘संसद, सर्वोच्च अदालत र सिंहदरवारदेखि बिपी निवास, कृष्णप्रसाद भट्टराई आश्रम, गणेशमान सिंहको निवासजस्ता नेपालमा प्रजातन्त्रको प्रतीक मानिएका भवनहरुमा आगजनी, तोडफोड र लुटपाट गरिनु लोकतन्त्र माथिको प्रहारको रूपमा लिएको छु मैले,’ उनले भने, ‘जेनजीको नाममा लोकतन्त्र बिरोधी तत्वहरुद्वारा नेपालभरि नै योजनाबद्ध रूपमा बितण्डा गरिएको छ । यसमा स्वयं जेनजी आन्दोलनकारीहरु पनि सचेत रहनु आवश्यक छ । पुराना पुस्ता र जेनजी लगायत नयाँ पुस्ताका हामी सबै मिलेर मुलुकलाई यो विध्वंसको स्थितिबाट साँच्चिकै समृद्धीतर्फ अघि बढाउन सकिन्छ भन्नेमा म दृढ छु । र, त्यसको निम्ति पहल गर्न आफू सधैं तयार छु ।’

त्यसपछि उनी मौन भए । त्यो मौनता तोड्न चाहिनँ मैले । त्यसपछि कसैसँग केही नबोली बाहिरिएँ । र, आफैंसंग प्रश्न गरेँ, ‘आखिर किन यस्तो विध्वंस भयो ?’ आफैंले जवाफ दिएँ, ‘लघुदर्शी भयो हाम्रो लोकतन्त्र ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *