नेतृत्व फेर्न महाधिवेशनसम्म पर्खिनुपर्ने अधिकांशको तर्क, कसले के भने ?

रुपन्देही । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १०औं बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । हालसम्म धारणा राख्ने अधिकांशले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्नु नहुने, जेन-जी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्नु पर्ने र नेतृत्व परिवर्तनको मुद्दा महाधिवेशनमा उठाउनु पर्ने बताएका छन् ।

सचिवालय बैठकमा उपाध्यक्षहरू र सचिवसहितका केही नेताले ओलीले राजीनामा दिएर नेतृत्व पुनर्गठनमा जानुपर्ने कुरा उठाएका थिए । केन्द्रीय कमिटीमा ओलीको पक्षमै बहुमत रहेकाले धेरै सदस्यले महाधिवेशनले नै निर्णय गर्ने भन्दै अहिले नेतृत्वको बहिर्गमन निकास नहुने बताएका छन् । ओलीले मंसिर अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय सदस्य मोहम्मद हारुनले जेन-जी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास गलत भएको बताए ।

‘देशमा एमाले, प्रदेशमा एमाले, जिल्लामा एमाले, पालिकामा एमाले, टोलमा एमाले छ । तर, कसरी एमाले कमजोर छ भन्ने भाष्य खडा गरिँदैछ । यो गलत भाष्यलाई चिर्न सबै पार्टी पंक्ति परिचालित हुनु पर्दछ’, उनले भने ।

हारुनले अहिले नेतृत्व परिवतर्नको बहस गर्न नहुने बताउँदै केपी ओलीको नेतृत्व देशलाई अझै आवश्यक रहेकोले सिंगो केन्द्रीय कमिटीले यसमा एकतावद्ध निर्णय गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताका सम्पत्ति छानबिन गर्नुपर्ने माग गरिन् । पार्टीले अलग्गै आयोग बनाएर नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने हो भने जेन जी माग पनि सम्बोधन हुने पार्टीमा शुद्धीकरण पनि हुने उनको तर्क थियो ।

‘मेरो माग छ यसै बैठकबाट त्यस्तो आयोग बनाऊँ जसले नेताका सम्पत्तिकोको छानबिन गरेर सार्वजिनक गरोस्’, मेनुकाले भनिन् ।

यो पनि पढ्नुहोस् : एमाले बैठकमा सुझाव- विद्याको सदस्यता खोलौँ, ओलीले मार्ग प्रशस्त गरेर अभिभावक बन्नुस्

केन्द्रीय सदस्य रमेश बडालले मंसिरमा महाधिवेशन प्रस्ताव गरे पनि मुलुकको राजनीतिक परिस्थितिले चैतभन्दा यता हुन सक्ने सम्भावना आफूले नदेखेको बताए । उहाँले विद्यालयलाई शान्ती क्षेत्र बनाउने र विद्यार्थीलाई राजनीतिबाट अलग्गै राख्दा ठूलो राजनीतिक रिक्तता देखिएको बताए ।

‘विद्यालयमा राजनीति नगर्ने नाममा भएको रिक्तताको फाइदा अरुले उठाए । त्यसैले विद्यार्थीहरू मूलधारको राजनीतिबाट टाढिए । यसमा पार्टीले पुनर्विचार गर्नुपर्दछ ’, बडालको भनाइ थियो ।

पूर्वमहान्याधिवक्ता समेत रहेका बडालले प्रधानमन्त्रीले गरेको संसद विघटन कायम हुन नसक्ने दाबी गरे ।

महम्मद समिरले केपी ओलीको विकल्प खोज्ने कुरा अहिलेको आवश्यकता नभएको बताए । उनले केपी ओलीले सामना गरेका कठिनाइ वा विरोधले न उनी ढलेका छन् न उनका सपना र धारणा फेरबदल भएका भएका छन् भन्दै उर्दु भाषामा भन्नुभयो ‘ना केपी ओली गिरे, ना केपी ओली के उमिदो मिनार गिरे ।’

केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पार्टीको आन्तरिक एकता मजबुद बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्व परिवर्तन अहिले बेमौसमको बाजा भएको बताइन् । कसलाई अध्यक्ष, कसलाई महासचिव बनाउने भन्ने कुरा अब महाधिवेशन प्रतिनिधिका हातमा गइसकेको उनको भनाइ थियो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । आज कम्तीमा एक सयजना केन्द्रीय सदस्यले धारणा राख्ने कार्यसूची छ । हिजोदेखि सुरू भएको बैठक भोलि समापन गर्ने तयारी छ ।

हिजो नेता महेश बर्तौलाले देश अलोकतान्त्रिक र असंवैधानिक मार्गबाट अगाडि बढिरहेको भन्दै लोकतान्त्रिक मार्गमा ल्याउनु आजको मुख्य विषय भएको बताएका थिए ।

चुनाव गराउने म्याण्डेट बोकेको सुशीला कार्की नेतृत्वको सरकारले भय र त्रासको आतङ्क खडा गरेर सत्तामा रहिरहन र लम्ब्याउन चाहेको उनको भनाइ थियो ।

बुधबार बर्णानुक्रम अनुसार हेमराज राईदेखि रूपनारायण श्रेष्ठसम्मले धारणा राखेका थिए । तीमध्ये प्रायःले प्रतिनिधि सभा पुनः स्थापनाको माग उठाउनेभन्दा पनि चुनावकै बाटो हिँड्दा पार्टीलाई हित हुने धारणा राखेका थिए । निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका सूर्य ढकाल भने संसद पुनः स्थापनाको पक्षमा उभिए । लक्ष्मी गौतमले अध्यक्षको राजीनामा माग्ने पदाधिकारीले पहिले राजीनामा गर्नुपर्ने बताइन् ।

गिरिधारीलाल न्यौपानेले अहिलेको अवस्थामा केपी ओलीको विकल्प खोजेर पार्टीमा विवाद निम्त्याउने समय अहिले नभएको बताए ।

उनले भने, ‘अहिले सबैतिरबाट पार्टीमाथि घेराबन्दी भएको छ, यस्तो समयमा पार्टीभित्रका विवादमा अलमलिनु राम्रो होइन, महाधिवेशनकै मिति प्रस्ताव भएपछि नेतृत्वको टुंगो त्यही लाग्छ, घेराबन्दीविरुद्ध एकमतो भएर जानुपर्दछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *