
काठमाडौं । राप्रपाको आन्तरिक बैठकमा तटस्थ देखिँदै आएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि पछिल्लो समय अध्यक्ष राजेन्द्र लिङदेनसँग चिढिन थालेका छन् । संस्थापन इतर पक्षले बहिष्कार गरेको आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनी पनि सहभागी भएनन् ।
राप्रपाभित्र अध्यक्ष लिङदेन र महामन्त्री डा. धवलशम्शेर राणाबीच लामो समयदेखि चलिरहेको टकराबमा मिश्र निरपेक्ष रहँदै आएका थिए । उनले कुनै पनि पक्षलाई खुलेर साथ दिएका छैनन् । तर, आजको बैठकमा अनुपस्थित हुनुलाई लिङ्देनप्रति उनको असन्तुष्टिको द्योतकका रूपमा बुझिएको छ । यद्यपि, उनले संस्थापन इतरको पक्षको बहिष्कारलाई साथ दिएको भन्दा पनि व्यक्तिगत निर्णय लिएर बैठकमा नगएको निकट स्रोत बताउँछ ।
स्रोतका अनुसार मिश्र पछिल्लो समय अध्यक्ष लिङदेनको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । लिङदेनले सबैलाई समेटेर पार्टीमा अभिभावकीय भूमिका खेल्नुपर्नेमा गुटको नेता मात्रै बन्न खोजिरहेको उनको बुझाइ छ । पार्टीको आगामी महाधिवेशनमा लिङदेनले मिश्रको साथ पाउने सम्भावना पनि कमजोर बनेको स्रोत बताउँछ ।
राप्रपामा अध्यक्ष लिङदेनको नियमित कार्यकाल मंसिरमा सकिँदैछ । पार्टीको विधानअनुसार एक वर्ष उनले आफ्नो कार्यकाल थप्न सक्नेछन् । तर, इतर पक्षले मंसिरभित्रै महाधिवेशन गर्न प्रेसर बढाइरहेका छन् । आज बसेको कार्यसम्पादन समितिको बैठकले यसै महिना केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको मिति तय गर्ने निर्णय लिएको छ ।
महाधिवेशनमा लिङदेन अध्यक्षमा दोहोरिन चाहन्छन् भने राणा उनलाई चुनौती दिने तयारीमा छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले कुन रणनीति लिन्छन् भन्ने प्रष्ट भएको छैन । उनले आफूलाई अध्यक्षको प्रत्याशीका रूपमा उभ्याएका पनि छैनन् र कसलाई साथ दिने भनेर पनि खुलेका छैनन् । आज मिश्र बैठकमा अनुपस्थित हुँदा भने संस्थापन इतर पक्ष उत्साहित बनेको छ ।

Leave a Reply