
चितवन । भदौको २३ र २४ गतेको जेन–जी समूहको आन्दोलनमा सरकारी भवन, राजनीतिक दलका नेताका घर तथा व्यापारिक प्रतिष्ठान लगायतका धेरै भौतिक सम्पत्ति तोडफोड भए । तर, आन्दोलनकारी समूहले ‘नेपाली सेनाको सुरक्षा फोर्स तैनाथ छ, गोली हान्छ’ भन्दै २४ गतेको तोडफोड तथा आगजनीमा कारागारतर्फ गएनन् ।
कारागारको संरचना बच्यो । दुई दिनकै आन्दोलनमा प्रभाव नपरेको चितवनको जिल्ला कारागारका कैदी तथा बन्दीहरु आइतबार बिहान एकाएक विद्रोह गरेर निस्किएकोे खबर सार्वजनिक भयो ।
जिल्ला कारागार प्रशासनका अनुसार कैदीबन्दीलाई फोन सम्पर्क गरेर आफन्तसँग कुरा गर्न र सूचनाको लागि टेलिभिजन हेर्ने सुविधा कारागार भित्र रहेको छ । २३ र २४ गते दिनभर शान्त रहेको थियो । २४ गतेको दृष्य टेलिभिजनमा हेरेका कैदीबन्दीको एक समूहले २५ गते बिहानैदेखि कारागारबाट निस्किन नाराबाजी सुरु गरे । कारागारको भित्ता नै प्वाल बनाएर कैदीबन्दी आफूखुसी निस्किन थाले ।
२५ गते बिहान जिल्ला कारागारमा नाराबाजी र तोडफोड हुँदा देशभर नेपाली सेनाले सुरक्षाको जिम्मा लिइसकेको थियो । जिल्ला कारागारमा पनि २४ गते राती १० बजेदेखि नेपाली सेनाको सुरक्षा टोली तैनाथ थिए । तर, चितवन कारागारमा कैदीबन्दीलाई रोक्ने प्रयास सुरक्षा संयन्त्रबाट भएन ।
बरु कारागारमा रहेका ७ सय चार जना आश्रित बालबालिकासहित ७ सय ४२ जना बाहिर निस्किए । चितवन कारागार प्रशासनका अनुसार त्यस दिन कारागारमा आश्रित बालबालिका सहित कुल ७ सय ४४ कैदीबन्दी रहेपनि त्यसदिन दुई जना बाँके र कास्की अदालतमा बयानको लागि गएका कारण ७ सय ३९ जना कैदीबन्दी र ४ जना आश्रित बालबालिका थिए । जिल्ला कारागार प्रशासनको रेकर्ड अनुसार सोमबारसम्म चितवन कारागारबाट निस्किएकामध्ये १ सय ४० जना कैदीबन्दी समुदायमा नै छन् ।
कैदीबन्दी निस्किन थालेपछि जिल्ला सुरक्षा संयन्त्रले तत्काल एउटा रणनीति बनायो, – तीन पुस्ते विवरण भएको कारण तत्काल छोडिदिने । नाम हस्ताक्षर गरेर पठाउने र बोलाएको समयमा आउनु भन्ने !
२३ र २४ गतेको आन्दोलनमा देशैभरी मानवीय र भौतिक संरचनामा क्षति भएकोले मानवीय क्षति रोक्नु पहिलो काम भनेर कैदी बन्दीलाई जान दिइएको जिल्ला सुरक्षा समितिका संयोजक चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल बताउँछन् ।
यद्यपि, चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भने, कारागारका कैदीबन्दी आन्दोलित हुन थालेपछि सुरक्षाकर्मीले भौतिक संरचना जोगाउन ‘गोल्डेन एक्जिट’ गरेको सञ्चारकर्मीसँग बताउँदै आएका छन् ।
उनले नेपाल प्रेससँगको कुराकानीमा पनि कमजोर भौतिक संरचना भएको कारण बरु समाजमा गए फर्काएर ल्याउन सकिने भएकोले ‘अभिलेखसहितको संरचना जोगाउन कैदीबन्दीलाई बोलाएको बेला सम्पर्कमा आउनु’ भनेर पठाएको बताउँछन् ।
कमजोर संरचना, क्षमता बढी कैदीबन्दी
चितवनमा २०२५ सालमा जिल्ला अदालत स्थापना भएको थियो । अदालत स्थापना भएपछि कानूनी कारबाही अघि बढाउन २०३० साल आसपासमा कारागारको सुरुआत भएको जिल्ला कारागार चितवनमा २३ वर्ष काम गरेर निवृत्त भएका रामबाबु श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार कारागार सुरु हुँदा २५ जना क्षमताको सानो भवन थियो । जहाँ महिला र पुरुषका क र ख भवन थिए । नुहाउने धारो, ट्वाइलेट एउटै भएकाले भवनबाट पहिले महिलालाई निकालेर पानी भर्न, नुवाइधुवाइ गर्न दिएपछि पुरुष निकाल्ने गरिन्थ्यो ।
२०४७ सालपछि कारागारको क्षमता बढाउँदै ३५ जना हुँदै अहिलेसम्म क्षमता ५ सय पाँच जना राख्न मिल्ने भनिएको जिल्ला कारागार चितवनका सूचना अधिकारी चेतना ढुङ्गाना बताउँछन् ।
अहिले जिल्ला कारागार चितवनको करिब डेढ बिगाहा जमिन चर्चेको छ । जसमा ४ वटा ब्लकमा कैदीबन्दी राखिएको छ । क, ख, ग र घ ब्लक रहेकोमा महिलाको क्षमता ३० र पुरुषतर्फ ४ सय ७५ जना अटाउने क्षमता रहेको सूचना अधिकारी ढुङ्गानाले बताए । आन्दोलन पछि फर्किएका कैदीबन्दी गरि हिजो सोमबार जिल्ला कारागार चितवनमा ६ सय दुई जना कैदीबन्दी रहेका छन् ।
कैदीबन्दी राख्ने बन्दी गृह चार वटा र एउटा प्रशासनिक भवन रहेकोमा तीन वटा भवन भने जीर्ण अवस्थामा रहेको छ । २०३० सालदेखि २०४५ सालआसपासमा बनेका ती भवन माटोले जोडिएको अवस्थाको कमजोर संरचना रहेको भदौ २५ गते भित्तामा प्वाल पारेर कैदीबन्दी निस्किएपछि थाहा पाएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल बताउँछन् ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले पनि कारागारको भवन जीर्ण अवस्थामा रहेका कारण २५ गतेको बिद्रोहमा पनि सुरक्षा संयन्त्रले एक्सन लिन समस्या भएको बताए । धादिङ, रामेछाप लगायतका केही कारागारमा आन्दोलनका क्रममा भएको बिद्रोहमा बल प्रयोग गरेर नेपाली सेनाले कैदीबन्दीलाई नियन्त्रणमा लिएको थियो ।
‘चितवनको कारागारको एकदमै कमजोर भवन भएकोले बल प्रयोग गरेर नियन्त्रणमा राखौँ भन्ने अवस्थामा हामी जान सकेनौँ, चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले नेपाल प्रेससँगको कुराकानीमा भने, – त्यसैले हामीले समुदायमा भएपनि पक्राउ गर्न सक्छौँ, संरचना जोगिन्छ भनेर गोल्डेन एक्जिट गरेका हौँ ।
२०६२ देखि २०६८ सालसम्म पटक पटक गरेर बाहिरको कम्पाउण्ड, प्रशासनिक भवन र एउटा बन्दीगृह बनेको छ । जसलाई घ नामाकरण गरिएको छ । दुई तले भवनमा २ सय २४ जना कैदीबन्दी राख्दै आएको सूचना अधिकारी ढुङ्गानाले जानकारी दिए ।
कारागार प्रशासनले नै जीर्ण भनेको क, ख र ग भवनमा पनि कैदीबन्दीको चाप उत्तिकै छ । सूचना अधिकारी ढुङ्गानाका अनुसार क र ख ब्लकमा १ सय १० जना र १ सय ५ जना कैदीबन्दी छन् । भने ग ब्लकमा १ सय २९ जना कैदीबन्दी छन् ।
कारागार प्रशासनले मुद्दा छिनोफानो भएका र मुद्दा प्रकृयामा नै रहेका कैदी र बन्दीलाई फरक फरक भवनमा राख्ने गरेको छैन । सूचना अधिकारी ढुङ्गानाले भने, – बेला बेलामा कैदीबन्दी सार्ने काम भइरहन्छ, जहाँ कम छन्, त्यहि भवनमा व्यवस्थापन गर्ने हो ।
कारागारको जीर्ण भवन निर्माणको लागि कारागार प्रशासनले पटक पटक लागत अनुमान गरेर प्रदेश र संघीय सरकारलाई पठाउने गरेको पनि उनले बताए । तर, २०६८ सालयता कारागारको भौतिक संरचना निर्माणमा चितवन कारागारले बजेट पाएको छैन । मर्मतको लागि मात्रै केही बजेट आउने गरेको सूचना अधिकारी ढुङ्गानाको भनाइ छ ।

Leave a Reply