प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नेपालमा अनुपयुक्त: माओवादी लुम्बिनी अध्यक्ष

रुपेन्दही । नेकपा माओवादी केन्द्र र यसको नेतृत्वले पहिलेदेखि नै चर्को स्वरले उठाउँदै आएको विषय हो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति । माओवादी केन्द्रका अधिकांश नेताहरुले यहीँ विषयलाई उठाइरहेका बेला पार्टीले आधार इलाका मान्दै आएको लुम्बिनी प्रदेशका अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नेपालका लागि उपयुक्त नभएको बताएका छन्।

जेनजी आन्दोलनको अघि र पछि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी राष्ट्रप्रमुख बनाउने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा जानुपर्ने मत राखिरहेका छन् । पार्टीले पनि यही विषयलाई उठाइरहेको बेला प्रदेश अध्यक्ष बरालले भने फरक मत राखेका हुन्।

सोमबार बुटवलमा आर्थिक अनुसन्धान केन्द्र नेपाल रुपन्देहीले आयोजना गरेको अर्थविद् मनिकर कार्कीको ‘अर्थदृष्टि’ नामक पुस्तकको दोस्रो संस्करणमाथिको परिचर्चामा प्रदेश अध्यक्ष बरालले पार्टी नेतृत्वको विचार विपरीत आफ्नो धारणा राखेका हुन् ।

‘हाम्रो पार्टीको लाइन नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख हो, तर यसमा मेरो फरक मत छ,’ बरालले भने, ‘अहिले त भड्याङ र भुरुङ पारेका छन् साथीहरुले, प्रत्यक्ष भएर ५ वर्ष भयो भने के हुन्छ भन्न सकिँदैन।’

उनले यहि समाजकै व्यक्तिहरु सरकारमा जाने भएकाले नेपाली विशेषताको राज्यको शासकीय स्वरुप खोज्नुपर्ने बताए। उनले पछिल्लो समय जेनजी आन्दोलन र यसपछि हुने रुपान्तरणका सन्दर्भमा गहन छलफल गरी नयाँ रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। नेता बरालले नेपालमा राजादेखि अहिलेका प्रधानमन्त्रीसम्मले सामन्ती उत्पादन प्रणालीलाई परिवर्तन गर्न नसकेको बताए।

बरालले पूर्ण समानुपातिक प्रणाली पनि ठीक नहुने बताउँदै पूर्ण समानुपातिक भयो भने गाउँमा नेताहरु नै नजाने तर्क गरेका छन् । ‘पूर्ण समानुपातिक नहुँदा त गाउँमा नेता देख्न पाइँदैन,’ नेता बरालले भने, ‘यदि यहि भयो भने त नेताहरु काठमाडौँको चार भञ्ज्यांग काटेर निस्कँदैनन्।’ उनले शासकीय स्वरुपको संरचनालाई जवाफदेही बनाउने गरी मौलिक विशेषताको खोजी गर्नुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *