
काठमाडौं । बदलिँदो राजनीतिक घटनाक्रमसँगै पार्टी नेतृत्व छाड्न दवावमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहको एक महिनापछि पार्टी पदाधिकारीको बैठक बोलाए ।
पार्टी कार्यालय, ओलीसहित अधिकांश नेताहरुको घर सबै ध्वस्त भएको अवस्थामा उनी केही दिनअघि भक्तपुरको गुन्डुमा डेराको घरमा बस्न थालेसँगै पार्टी काममा सकृय भएका हुन् अध्यक्ष ओली । प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै उनी सेनाको सुरक्षामा बसे ।
उनी भित्र हुँदा र बाहिर आएपछि पनि नेतृत्व छाड्न चौतर्फी दवाव बढेको थियो । बाहिर विरोध गरेपनि पार्टी कमिटीमा उनको कमै मात्र विरोध हुने विषय बाहिर आएपनि शुक्रबार बसेको पदाधिकारी बैठकमा धेरै नेताहरुले खुलेरै आलोचना मात्रै गरेनन् नेतृत्व छाड्न सुझाए । वरिष्ठ उपाध्यक्षसहित गुरु बरालबाहेकका उपाध्यक्षहरुले त मार्गप्रशस्त गरेर नेतृत्व पुनःगठनको माग गरे ।
केहीले लिखित रुपमै राजीनामाको माग गरे । शुक्रबार ८ पदाधिकारी बोलेसँगै शनिबार ८ पदाधिकारीले धारणा राखेर ओलीले जवाफ दिने पूर्ण निर्धारित तालिका थियो तर शुक्रबारको लामो बैठकपछि शनिबारको बैठक अध्यक्ष ओली बिरामी परेकाले स्थगित गरी आइतबार ११ बजेका लागि तय गरियो ।
शुक्रबार जति नेताहरु आइतबार खुलेर आलोचनामा नआएको संस्थापन पक्षको दावी छ तर शनिबार नै संस्थापन पक्षको आलोचना गरेका नेताहरुले बैठकमा बोलेको विषयलाई विभिन्न सन्जालबाट निषेध गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए ।
आइतबार बोल्ने नेताहरु उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट पहिलेबाटै नेतृत्व पुनःगठनको विषयमा बोल्नै आएका थिए भने उपमहासचिव विष्णु रिमाल, सचिवहरु पद्मा अर्याल, छविलाल बिश्वकर्मा, लेखराज भट्ट रघुविर महासेठ नेतृत्वको बचाउमा देखिदै आएका थिए । तर आइतबारको बैठकमा सचिव विष्ट र भट्टराईले खुलेरै राजीनामा मागेपनि अरुले घुमाउरो कुरा गरेको पदाधिकारीको भनाइ छ ।
आइतबार बसेको सचिवालयको ५८ औं बैठकमा सबै पदाधिकारीहरुलाई आलोचनासहित खुलेर बोल्न दिइएकाले पनि नेताहरु सन्तुष्ट देखिएको दावी संस्थापन पक्षको छ ।
आइतबार मध्यान्ह १२ बजेदेखि भक्तपुरस्थित अध्यक्ष ओली निवास गुन्डुमा ९ घन्टा बसेको बैठकमा केही नेताहरुले डेढ घन्टासम्म बोलेका थिए । सबै नेताहरुको धारणा ओलीले ध्यानपूर्वक सुन्थे र टाउको हल्लाएका थिए ।
शुक्रबारको बैठकमा नेताहरुको धारणा आउँदा ओलीलाई तत्काल राजीनामाको दवाव जस्तै देखिएको थियो तर शनिबार एकदिन रोकेर ओलीसहित संस्थापन पक्षका नेताहरुले विभिन्न तयारी गरे र आवश्यक परे ओलीको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर जानेसम्मको तयारी गरे । त्यसमाथि संस्थापन पक्ष केन्द्रीय कमिटीमा प्रष्टसँग आफ्नो बहुमत भएको आंकलन गरेकाले पनि यहाँ अरु निर्णय नहुनेमा ढुक्कजस्तै थियो ।
आइतबारको बैठकमा सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले अध्यक्ष ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको एक पदाधिकारीले जनाए । तर उनीहरुलाई जवाफ दिँदै अध्यक्ष ओलीले आफूले कुनै गल्ती नगरेकाले अहिले नछाड्ने र महाधिवेशनबाटै नेतृत्वको टुंगो लाग्ने बताएका थिए ।
तर नेता प्रदीप ज्ञवालीले बैठकमा सबैले खुलेर छलफल गरेपनि बाहिर आएका एजेण्डामा सहमति भएको जनाए । ‘नेताहरुले खुलेरै कुरा गर्नुभएको सत्य हो, डेढ घन्टासम्म पनि धारणा राख्नुभएको छ, सायद यसरी सबैले खुलेर धारणा राखेको पहिलोपटक नै होला, नेतृत्वको कमजोरीका आलोचना भएका छन् तर बैठकभित्र भएका विषय समाधानका लागि आएका थिए, केही साथीहरुले राखेका विषय बाहिर फरक ढंगले आएका हुन्, सार्वजनिक निर्णयमा सहमतिका साथ गरेका छौं, अब महाधिवेशनको मिति टुंगाउनेदेखि संसद पुनःस्थापना, प्रतिगमनको विरोध, लोकतान्त्रिक दलहरुसँगको सहकार्यका विषयमा केन्द्रीय कमिटीबाट टुंगो लागछ’ उनले भने ।
दुईपटक आफैं संसद विघठन गरेर संसद पुनःस्थापनाको मुद्दामा
एमाले अध्यक्ष ओलीले यसअघि आफैं प्रधानमन्त्री भएको बेला दुई पटकसम्म प्रतिनिधि सभा विघठन गराएका थिए तर सर्वोच्च अदालतबाट त्यसलाई रोकिएको थियो ।
अहिले उनै ओली एमालेको अध्यक्ष र प्रधानमन्त्री भएको समयमा जेनजी विद्रोहपछि प्रतिनिधि सभा विघटन भयो र उनै ओली नेतृत्वको नेकपा एमालेले पुनः संसद पुनःस्थापनाको माग गर्दै आन्दोलनमा जाने निर्णय गरेको हो । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले प्रतिनिधि सभाको पुनःस्थापनाको माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाए ।
‘प्रतिनिधि सभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ’ उनले भनेका छन् ।

Leave a Reply