
रुपन्देही । लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको आयोजनामा राखेर अघि बढाएको छ । प्रदेश सरकारका ४ मुख्य गौरवका आयोजनामध्ये बाँकेमा रहेको यो विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको यसका सरोकारवालाले जनाएका छन् ।
आइतबार विश्वविद्यालयको सातौं साधारण सभामा बोल्ने वक्ताहरुले भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगमस्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गरेको जनाए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन् । उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।
मुख्यमन्त्री आचार्यले पछिल्ला ६–७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताए ।‘प्रचारप्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ’ उनले भने, ‘विश्वविद्यालयलाई जनस्तर सम्म पुर्याउन सबैले मिलेर काम गर्नुपर्छ ।’
उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगमस्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताए । ‘यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ’उनले भने–‘सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ ।’
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए । सातौं सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२र०८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक-कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावहरू समावेश थिए ।

Leave a Reply