
काठमाडौं । शुक्रबारदेखि शुरू भएको नेकपा एमालेको सचिवालय बैठक आज टुंगिने गरी बस्दैछ । आजको बैठकले महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्नका निम्ति केन्द्रीय कमिटीको बैठक बोलाइने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
‘१८ सदस्यीय कमिटीको बैठकमा शुक्रबार ९ जना कमरेडले कुरा राख्नुभएको छ, आज बाँकी ९ जना कमरेडको कुरा सुनेपछि केही जरुरी निर्णय गरेर बैठक टुंगिनेछ’, उनले भने ।
शुक्रबारको बैठक शुरूवात गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाइ राखेका थिए । त्यसपछि वरीयताका आधारमा क्रमशः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसम्मले आआफ्ना धारणा राखे ।
त्यसमध्ये उपाध्यक्षत्रय ज्ञवाली, शाक्य र पाण्डेले परिवर्तित सन्दर्भका चुनौतीलाई सहज बनाउनका निम्ति अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने धारणा राखे । उनीहरूले यही बैठकबाट अध्यक्षले ‘सहज’ बनाइदिनुपर्ने कुरा उठाए । तर, बाँकी ६ जना वक्तामध्ये कसैले पनि उपाध्यक्षत्रयको शैलीमा कुरा उठाएनन् ।
बरु, उपाध्यक्षत्रयका कुरालाई काउन्टर दिँदै बैठकमा अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले यस्तो भनेका थिए- पार्टी र नेतृत्वको पुनर्गठन गर्ने वा पुनरअनुमोदन जे गरे पनि कहाँ, कसरी गर्ने भन्ने कुरा हुन्छ । हाम्रो सर्वोच्च निकाय महाधिवेशन हो भनेर हामीले मानिसकेपछि पुनर्गठन वा पुनरअनुमोदन गर्नलाई त्यही नै आधिकारिक संस्था हो । जे गर्ने हो, त्यहीँ गरौँ । बरु, त्यो काम छिटो गरौँ । हामी १८ जनाले बसेर निर्णय गर्ने र त्यो तल-तलका कमरेडहरुमा थोपर्दै जाने हो भने त्यसले झन् बढी निराशा बढाउँछ । संस्थागत प्रक्रियालाई नजरअन्दाज नगरौँ, त्यसमा प्रवेश गरौँ ।
नेपाल प्रेससँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले भने- साथीहरुमा केही न केही नयाँ गरेर जाऔँ भन्ने छ । पुनर्गठन गरेर जाऔँ भन्ने नै कुरा छ । तर, पुनर्गठनको खाका कोहीसँग छैन । मुखै खोलेर बोल्नुभएको जम्मा ३ जना कमरेडले हो । १८ जनाको कमिटीमा ९ जना कमरेडले मात्रै बोल्नुभएको छ । तर, मिडियामा जसरी अतिरञ्जित तबरले प्रस्तुति भएका छन्, त्यस्तो किन र केका लागि हुँदैछ भन्नेमा हामी आश्चर्यमा छौँ । कोही अल्पमतमा वा कोही बहुमतमा पर्ने स्थिति नै छैन । यदि त्यस्तो हो भने पनि त कम्तिमा १८ जना कमरेडले नै बोलिसकेको हुनुपर्ने हुन्छ होला नि ?
शंकर पोखरेलमाथि छेडखानी भएकै हो ?
सामाजिक सञ्जालमा चर्चा छ, ल्यापटप हेर्दै बैठकमा बोलेका महासचिव शंकर पोखरेलले नेतृत्वको बचाव गरेपछि एकजना पदाधिकारीले व्यंग्य गरेका थिए । ‘महासचिव बोलेको कि ल्यापटप बोलेको ?’ भनी प्रश्न गरेको चर्चा छ । तर, यथार्थ फरक रहेको उपमहासचिव ज्ञवाली बताउँछन् ।
उनले भने-
महासचिवले समग्र परिस्थितिको रिपोर्टिङ गर्नु हुने नै भयो । त्यसक्रममा उहाँले थुप्रै जिल्लाका साथीहरूसँग गर्नुभएको कुराकानी हेर्न ल्यापटप खोल्नुभयो होला । यो सामान्य कुरा हो । रिपोर्टिङहरूबाट जे निष्कर्ष आएको छ, महासचिवले बैठकलाई भन्ने पनि त्यही नै होला । तर, ‘त्यसो गर्दा यसो भनियो’ भनेर भएका वा नभएका कुरा बाहिर भन्दै हिँड्दा कसलाई के फाइदा हुन्छ ? मैले बुझ्न सकेको छैन ।
महासचिव पोखरेलले भनेका चाहिँ के थिए ? नेपाल प्रेसको प्रश्नको जवाफ ज्ञवालीले यसरी दिए-
जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा निराशा, निश्कृयता छ भन्ने सन्दर्भमा कुरा भएको थियो । हामीमा अन्यौलता छैन, द्विविधा छैन, धर्ममराएको छैन भनियो भने त्यो गलत हुन्छ । हो, निराशा छ, अन्यौल, द्विविधा जरुर छ । तर, सँगसँगै हामीले तुलना पनि गर्यौँ, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले कार्यकारी अधिकारसहित राजकीय सत्ता आफूमा निहित गरेपछि उत्पन्न परिस्थिति र अहिलेको परिस्थिति के हो ? स्थिति यस्तै हो ।

त्यसबेला जुन तहको पलायन र मोहभंगको स्थिति थियो, त्यतिबेलाको संकट अहिलेको जस्तै हो । नेतृत्वप्रति यही स्थितिको अनास्था थियो । त्यसअघि गठित देउवा सरकारमा एमाले सहभागी भएर तत्कालीन महासचिव माधव नेपाल शेरबहादुरसँग सति जानुभयो भनियो । सरकारमा जानुहुने कमरेड ईश्वर पोखरेलहरुको आलोचना गरियो । उहाँहरुको नाम उच्चरण गर्न सकिने अवस्था थिएन ।
त्यो बेला र अहिले उस्तै, उस्तै हो, पात्र र परिवेशमात्रै फरक हो । तर, हामीले त्यसलाई चिर्यौं । सन्नाटाको हिसाबले भन्ने हो भने माघ १९ पछि हामीलाई गतिविधि गर्नलाई एक-डेढ महिना नै लागेको थियो । खासगरी नेपाली कांग्रेससँग समझदारी भएपछि र माओवादीसँग वार्ता हुँदै गएपछि हामी तंग्रिन थाल्यौँ । अहिलेको संकट त्यो तहको होइन । असोज ३ मा त साथीहरूले संविधान दिवसका अवसरमा ठाउँ-ठाउँमा जुलुस नै निकाल्नुभयो ।
प्रायः जिल्लाका जिल्ला कमिटीका बैठक नै बसेका छन्, कम्तिमा पनि सचिवालय बैठक जताततै भए । निराशा पनि छ, सँगैसँगै चिरेर जान सकिनेछ भन्ने सन्दर्भमा महासचिवले कुरा राख्नुभएको हो । उहाँले कुन कुन जिल्लामा बैठक बस्यो, कहाँ–कहाँ, के–के कुरा भए भन्ने कुरा बैठकमा राख्नुभएको हो । त्यही सन्दर्भमा उहाँले ल्यापटप खोल्नुभयो । कुरा यत्ति हो ।
आज के हुँदैछ ?
बोल्न बाँकी ९ पदाधिकारीले आ-आफ्नो कुरा राखेपछि बैठक निर्णय खण्डमा प्रवेश गर्ने ज्ञवालीले बताए ।
‘केन्द्रीय कमिटी बैठकको मिति र त्यसका एजेण्डा तय हुन्छ’, उनले भने, ‘यो बैठकले महाधिवेशनको मिति प्रस्ताव गर्छ र त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराउन त्यसको मिति तोक्ने हो ।’
त्यससँगै अहिलेको समसायिक विषयमा, खासगरी सरकारले प्रतिशोधको बाटो लिएकोबारे छलफल गरिने र आवश्कय निर्णय गरिने भएको छ ।

Leave a Reply