
काठमाडौं । जेन-जी इन्डिजिनियस समूहले ‘जेनजी विद्रोह’ लाई बदनाम गर्न श्रृंखलाबद्ध गतिविधि भइरहेको दाबी गरेको छ ।
संयोजक संग्रामसिंह किरातीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको अभियानप्रति आफूहरू सचेत रहेकोमा अख्तियार प्रमुख प्रेमकुमार राईलाई मात्रै लक्षित गरी राजीनामा मागिनु शंकास्पद भनिएको छ ।
‘संस्थागत भ्रष्टाचार र दलीयकरण आजको समस्या हो, तर अन्य संवैधानिक निकायका प्रमुखहरूबारे मौन रही एउटा निश्चित समुदायको व्यक्ति भएकै कारण प्रेमकुमार राईमाथि प्रहार गर्नु गलत हो । अरु संवैधानिक निकायका प्रमुखको विषयमा मौन रहेर प्रेमकुमार राईको मात्रै राजीनामा मागीनु गम्भीर देखिन्छ । खासगरी ठूला-ठूला भ्रष्टाचारमा मुछिएका ठूला तस्करहरूबाट ती समूह परिचालित भएको देखिन्छ’, किरातीले विज्ञप्तिमा भनेका छन् ।
आदिवासी जनजाति समुदायका अग्रणी व्यक्ति भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङमाथि पनि आक्रमण केन्द्रित गरिएकोमा उक्त समूहको आपत्ति छ ।
विद्रोहमा उठेका सुशासन, सामाजिक न्याय र समानताका मुद्दालाई कमजोर पार्न विभिन्न समूह सक्रिय भएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भदौ २३ गतेको विद्रोहलाई ‘पुस्ता चेतनाको विद्रोह’ भन्दै त्यसमा सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदायको सहभागिता रहेको उल्लेख गरिएको छ ।
‘सुशासन र सामाजिक न्यायको मागसहित सडकमा आएका युवाहरूको आवाजलाई बेवास्ता गर्न मिल्दैन । तर, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता विषयमाथि नै प्रश्न उठाउने र व्यवस्थाकै विरुद्धमा उत्रिनेहरू ‘असली जेनजी’ हुन सक्दैनन् ।’
जेन-जी इन्डिजिनियसले आदिवासी जनजाति समुदायकै युवाहरूलाई प्रयोग गरेर प्रायोजित अभियान चलाइएको दाबी समेत गरेको छ ।
जेनजी विद्रोहमा करिब ६० प्रतिशत आदिवासी जनजाति युवा मारिएको भन्दै सुशासनसँगै सामाजिक न्याय, समानताको भोकले युवाहरू सडकमा आएका तथ्यलाई बेवास्ता नगर्न चेतावनी दिइएको छ ।


Leave a Reply