आगामी निर्वाचनको तयारीबारे निर्वाचन आयोगद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगको टोलीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचनको तयारी अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराएको हो ।

भण्डारीले राष्ट्रपतिलाई आयोगको तर्फबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउनका लागि गरिएका तयारी, स्रोत-साधनको व्यवस्थापन र आगामी कदमबारे विस्तृत विवरण पेश गरेका छन् ।

जानकारीका क्रममा आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक पर्ने स्रोत, साधन र जनशक्तिको विषयमा प्रधानमन्त्री सुशिला कार्की र सम्बन्धित मन्त्रीसँग छलफल भइसकेको उल्लेख गरेको छ । आयोगका अनुसार, सरकारको तर्फबाट मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग, पर्याप्त स्रोत र भरपर्दो सुरक्षा व्यवस्था सुनिश्चित भएको छ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले आफ्ना आन्तरिक प्रशासनिक तयारी कार्ययोजना अनुसार अघि बढाइरहेको जानकारी दिएका छन् । साथै निकट भविष्यमा राजनीतिक दल र सरोकारवालासँग छलफल गरी बाँकी तयारी तीव्र गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ ।

आयोगले हाल संशोधित मतदाता नामावली ऐन, २०७३ अनुसार मतदाता दर्ता र अद्यावधिक कार्य सुचारु रहेको पनि राष्ट्रपतिलाई जानकारी गराएको छ । मतदाता नामावलीको अन्तिम प्रकाशनपछि उम्मेदवार मनोनयन, छानबिन, अन्तिम सूची प्रकाशन र मतदानका कार्यक्रम चरणबद्ध रूपमा अघि बढाइने बताइएको छ ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले आयोगलाई निर्वाचनमा सर्वसाधारण नागरिकको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन निर्देशन दिएका छन् । साथै, राजनीतिक दल र सरोकारवालासँग तत्काल संवाद बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न कार्यतालिका अनुसारका कार्य ढिलो नगरी सम्पन्न गर्न राष्ट्रपतिले आग्रह गरेका छन् ।

निर्वाचन आयोगले स्वीकृत कार्ययोजना बमोजिम आगामी दिनमा निर्वाचन आचारसंहिता निर्धारण र कार्यान्वयन, उम्मेदवार दर्ता, छानबिन, अन्तिम नामावली प्रकाशन र मतदानलगायतका सबै कार्यक्रम राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा तय गरिने जानकारी दिएको छ । आयोगले निर्वाचनका सबै पूर्वतयारी समयमै सम्पन्न हुने विश्वास दिलाएको छ ।

शीतल निवासमा भएको उक्त कार्यक्रममा निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधर, सगुनशम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपति कार्यालयका सचिव डा.दीपक काफ्ले र विज्ञ सल्लाहकार उपस्थित रहेका आयोगका सहसचिव एवम प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *