समाजवादी मोर्चामा सामेल हुँदै अशोक राई नेतृत्वको जसपा, पार्टी एकताबारे यस्तो छ प्रस्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज बसेको सचिवालय बैठकमा समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताको सकारात्मक वार्ता भइरहेको ब्रिफिङ गरे।

एकताको प्रयाससँग मोर्चालाई थप विस्तार गर्ने योजना पनि सुनाए। मोर्चामा अहिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्। यी पार्टीहरूसँग एकताको वार्ता भइरहेको प्रवक्ता अग्नि सापकोटाले बताए।

उनले भने, ‘समाजवादी मोर्चा विस्तार र विचार मिल्नेहरूसँग एकताको लागि सकारात्मक छलफल भइरहेको छ।’

प्रचण्डले मोर्चा सामेल हुनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र अशोक राई नेतृत्वको जसपालाई प्रस्ताव अघि सारेका छन्। प्रचण्ड प्रधानमन्त्री हुँदा पार्टी फुटाइदिएको निष्कर्षसहित जसपा नेपाल भने मोर्चामा आबद्ध हुन इच्छुक छैन।

तर, उपेन्द्रबाट अलग भएर जसपा गठन गरेका अशोक राई भने चार दलीय समाजवादी मोर्चामा सामेल हुन तयार भएका छन्। जसपा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर बनेको पार्टी हो।

जसपा नेपाल सग्लो हुँदा उपेन्द्रको नेतृत्वमै जसपा मोर्चामै थियो। जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने आफूहरू मोर्चामा आबद्ध हुन तयार रहेको बताए।

उनले नेपाल प्रेससँग भने, ‘अहिले हामी मोर्चामा आबद्ध हुने तयारी गरेका छौँ। मोर्चाको नीति तथा कार्यक्रम पहिला मैले नै ड्राफ्ट गरेको हो। विधान पनि मैले नै तयार पारेको हुँ। बीचमा हामी अलग भएपछि उपेन्द्रजीहरू पनि जानुभएको छैन। हामी पनि गएका छैनौँ अहिलेसम्म।’

उनले मोर्चामा हुनेबारे पार्टीले औपचारिक निर्णय लिन बाँकी रहेको बताए।

उनले थपे, ‘पहिला पनि तपाईँहरू मोर्चामा सहभागी हुनुभएको हो अब पनि हुनुपर्छ भनेर प्रस्ताव गर्नुभएको थियो, हामीले हुन्छ भनेका छौँ। पार्टीको बैठक बसेर निर्णय गरेर प्रक्रिया पुर्‍याएर सामेल हुने तयारी गर्दै छौँ ।’

उनले मोर्चामा आबद्ध भएपछि नीति, सिद्धान्त विचार मिले पार्टी एकता हुनसक्ने भएपनि अहिले त्यसबारेमा प्रवेश नगरेको बताए।

‘माग र मुद्दा मिल्यो भनेर मोर्चामा सामेल हुने हो अहिले माग र मुद्दाको विषयमा मात्रै छलफल भएको छ’ श्रेष्ठले भने, ‘नीति, सिद्धान्त विचारबारे पनि भोलि छलफल चल्दै जाँदा कुरा मिलेपछि भने हुन सक्ला तर अहिले हामी पार्टी एकताको विषयमा प्रवेश गरिसकेका छैनौँ।’

माओवादीका सचिवालय सदस्य लीलामणि पोखरेलले पनि मोर्चामा आबद्ध हुने राई नेतृत्वको जसपा तयार रहेको बताए।

उनले भने, ‘हामीले मोर्चा विस्तार सम्भव हुने दलसँग एकताको छलफल गरिरहेका छौँ। ढिलो चाँडो नतिजा आउँला।’
उनले उपेन्द्र नेतृत्वको जसपा नेपाललाई पनि मोर्चामा सामेल गराउन छलफल भइरहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *