जनमत नै जेनजीको पार्टी भन्दै सिके राउतले अघि सारे यी प्रस्ताव

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जेनजी जनमत संघ गठन गरेको छ। जनमत पार्टी भनेकै जेनजीको पार्टी भएकाले जेनजी जनमत संघ गठन गरिएको उनको भनाइ छ।

उनले आफूहरूले जेनजीले अहिले उठाएको मुद्दा आफूहरूले विगतदेखि नै उठाउँदै आएको दाबी गरेका छन्। उनले जेनजीले अपि सारेको माग सम्बोधन गर्नको र अहिलेको समस्या समाधान गर्न ‘नौलो गणतन्त्रको विकास, समस्याको निकास’ हुने बताएका छन्।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री, निर्वाचनमा ‘राइट टू रिजेक्ट’, ‘राइट टू रिकल’ को व्यवस्था, विदेशमा रहेका नेपालीबाट मतदान, ३० हजार जेन–जी युवालाई प्रदेश प्रहरीमा भर्ना, डिजिटल नेपाल, रोजगारीको व्यवस्था, जेनजीको अधिकार हुनुपर्ने माग सारेका छन्।

प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न, सेवा प्रवाह र विकासमा प्रभावकारी।, विज्ञहरू मन्त्रालयमा, सांसद मन्त्री नबन्ने, संसदमा ह्विप लाग्ने, दबाब र स्वार्थ समूहबाट मुक्त संसद्, जनमत–संग्रहबाट पनि ऐन बनाउने, न्यायपालिकामा पनि पार्टी भागबन्डामा सरकारद्वारा न्यायाधीश नियुक्त नभई निर्वाचित हुने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ।

निर्वाचन आयोग, अख्तियार सहितका संवैधानिक निकायका प्रमुखहरू प्रत्यक्ष निर्वाचित, कर्मचारीतन्त्रको दलीयकरण, भ्रष्टाचार र ढिलासुस्ती हटाउन निजी क्षेत्र जस्तै ‘हायर एण्ड फायर’ नीति, सामाजिक लोकतन्त्रको आर्थिक नीति, नियुक्ति, ठेक्कापट्टा आदिमा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नहुने सुनिश्चितता, पार्टी, नेताको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्ति, ट्राइब्यूनल गठन गरेर भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिनलगायतको प्रस्ताव अघि सारेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *