दोस्रो सातामा ‘बलिदान’, कस्तो चलिरहेको छ ?

काठमाडौं । गत फूलपातिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘बलिदान’ले पहिलो हप्तामा दर्शकबाट व्यापक साथ पाएको निर्माण पक्षले दाबी गरेको छ। सोमबार दोस्रो हप्तामा प्रवेश गरेको यो चलचित्र हिजो आइतबार (पहिलो साताको अन्तिम दिन) मा देशभर करिब १ सय २० शोका साथ प्रदर्शनरत रहेको थियो ।

वितरकहरूका अनुसार चलचित्रले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म पनि राम्रो दर्शक पाइरहेको छ। प्राविधिक कारणले पोखराको मिडटाउन हलबाट हटेको ‘बलिदान’ फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिए। उनले उपत्यका बाहिरको व्यापारबाट आफू सन्तुष्ट रहेको बताए । काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले पनि देशका पछिल्ला घटनाक्रममा बाबजुद चलचित्र क्षेत्रलाई चलायमान बनाउन ‘बलिदान’ले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

देशको विषम परिस्थितिबीच रिलिज भए पनि चलचित्रको व्यापारबाट आफू सन्तुष्ट रहेको निर्देशक सन्तोष सेनको दाबी छ । उनले व्यापारिक आँकडा एकमुस्ट रूपमा सार्वजनिक गर्ने तयारी रहेको बताए ।

अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा, र निर्देशक सेन लगायत चलचित्र युनिटले हप्ताभर काठमाडौंका हलहरूमा दर्शक भेटेका थिए। दर्शकको साथबाट हर्षित भएका अभिनेता भट्टले आफ्नो लामो समयको मेहनतलाई दर्शकले प्रेम गर्दा खुसी लागेको बताएका थिए । दर्शकहरूले भट्टको अभिनय र एक्सन दुवैलाई दमदार भन्दै कतिपयले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *