
काठमाडौं । गायक तथा संगीतकार आशिष अविरलले अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा प्रस्तुति नदिई हिँडेका छन् । थ्री ई इन्टरटेनमेन्टले आयोजना गरेको डिटी फेस्ट भर्जिनिया २०२५ मा उनले प्रस्तुति नदिई हिँडेका हुन् ।
अविरलका अनुसार सुरुवातमा उनलाई गायिका अस्मिता अधिकारीसँग गाउने सेड्युअल मिलाइएको थियो । तर अधिकारीले व्यस्तताका कारण नआएपछि अविरल एक्लै कार्यक्रमस्थल पुगे । आयोजकले अविरल र अधिकारीको पाँच बजेको सेड्युअल राखेका थिए । कार्यक्रममा महेश काफ्ले, नितेशजंग कुँवर लगायत कलाकारको पनि प्रस्तुति थियो ।
कार्यक्रम सुरुवात नै भएको थिएन । दर्शकहरु आइसकेका थिएनन् । दर्शकदीर्घाका कुर्सीहरु खाली थिए । अविरलले भने, ‘त्यस्तो माहौलमा मलाई स्टेज चढ्न दबाब दिए । स्चेज चढेर मैले माहौल बनाइदिनुपर्ने आयोजकको माग थियो । मैले उहाँहरुको प्रस्तावलाई इन्कार गरे ।’
अविरलले थपे, ‘यही अवस्थामा त स्टेज चढ्दिनँ भनेर अडान लिएँ । माहौल बन्यो भने मात्रै गाउँछु भने। कुर्सी र डाँडाभाटालाई गीत सुनाउँदिना भनेर आएँ । खासमा मलाई साह्रै अपमानित महसुस भएर त्यस्तो निर्णय लिएको हुँ । नत्र संगीत त मेरो धर्म हो, कर्म हो ।’
अविरल भर्खरै अमेरिका सेटल्ड भएका कलाकार हुन् । अविरलले १० हजार हाराहारीको गीतको एरेन्ज गरेका छन्, दर्जानौं सुपरहिट गीतमा संगीत भरेका छन्, गीत लेखेका छन् । आधा दर्जन सुपरहिट गीतहरुको गायक समेत हुन् । झण्डै ६ करोडले युट्युबमा हेरेको ‘काले केटाले’ बोलको गीतमा संगीत, स्वर एरेन्ज, मिक्सिङदेखि मास्टरिङसम्म अविरलकै हो । ‘ए मेरो हजुर ३’को ‘परान परान’, बीचमा ‘छुनुमुनु’ जस्ता गीतमा पनि आशिषले स्वर भरेका छन् ।
‘नाईं मलाई था छैन’, ‘माया लुकी लुकी’ जस्ता डान्सिङ गीतका संगीतकार हुन् । ‘छातीमा हात राखेर’ जस्ता जातीय विभेदविरुद्धको गीतको गीतकार, संगीतकार पनि आशिष नै हुन् । नरेन्द्र प्यासीद्वारा स्वरबद्ध ‘तिमीविनाको जीवन’ र ‘तिमीले दिने माया’को संगीतकार पनि अविरल नै हुन् ।

Leave a Reply