
बिलकुल गाउँमा छु । तालतालका माैसमविद्हरुले त्रयाेदशीदेखि आरिघाेप्टे वर्षा हुन्छ भनेर गरेको प्रक्षेपण च्याईंफत्र्याङ पार्दै महानवमी रातिदेखि नै मुलुकभरि वर्षाले आमनेपालीकाे दशैँ खल्लो भएको छ । आरिघाेप्टे वर्षाका अड्कल गर्ने हाँडिघाेप्टे मौसमविद्हरू पनि पात्रो च्यात्दा हुन्, जिब्रो च्यात्न भएन !
यता अघिल्लो दशैँमा नेपालथाेकमा जाम परे पनि ‘केपी ओली सराप्ने’ हाेनहार छाेराछाेरीहरुकाे जिब्रो यस पटक फड्कारिन सकेको छैन । सायद बालेन सरकारको भूतले असली जेन्जी मिराज ढुङ्गानाहरूलाई जस्तै छल गरेको हुनुपर्छ ।
‘मुग्लिनकाे जाम, केपी मुर्दावाद, कीर्तिपुरमा क्रिकेट-केपी ओली मुर्दावाद, विदेशमा नेपाली- केपी ओलीलाई कालो झण्डा’ देखाउने महान् नेपालीहरूको आक्रमणमा उहाँद्वारा दाेहाेर्याइ-तेहर्याइ होइन कैयाैँपटक अवसर पाएकाहरूले पनि समाज भड्काउने विभेदको पराकाष्ठा भो भनेर लेखेनन्, छापेनन्, बोलेनन् । ओलीसँग बस्नेहरूले पनि ‘बाहिर बिलकुल ठिकठाक छ, राजेश हमालसमेत टिकटकमा लाइभ छन्’ भन्ने सुनाएर भुलभुलैया पारिदिए । गोकुल बाँस्काेटाका ‘बाछिटा’लाई ‘बेसुरा’ करार गरेर ‘घाम लाग्नेअघिका शीतका फुर्ती’ भनेर सुनाइदिए ।
हालसालै प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने समाचार रेडियो नेपालले मूल खबर बनाइरहेको छ । प्रधानमन्त्रीले शोकमा भएर टीका नलगाएको होइन रे, जेन्जी आन्दोलनका दुःख, आँसु, मृत्यु, घाउले टीका नलगाउने रे । यो त शाकाहारीहरूले ‘पशुको अधिकार हनन् हुन्छ भनेर मासु खाने मान्छेलाई पशुभन्दा निच’ भनेर कटाक्ष गरेजस्तै हो । प्रधानमन्त्रीज्यू, एक पटक तुइन खोला पहिरो अनुगमन गरिहेर्नोस्, देशको मूल राजमार्गको हालत के छ ? पुराना पत्रिका पड्नुहोस्, प्रधानमन्त्री शेरबहादुर देउवाले हिँडेरै मुस्लिन सडक अवलोकन गर्नु भएको थियो ।
नेपालथाेककाे जामबारे चुइँक्क बोल्नुहुन्न, हरेक वर्ष नेपाली सजिलै घर जान सक्दैनन् । दशैँका युट्युब गीतमा मात्रै नेपाली हासेका देखिन्छन् । यही गीत पनि ओली र देउवा हुँदा नकारात्मक आउँथ्यो । ‘लुट्नसके लुट’ भन्ने पशुपति शर्मा र रमेश भट्टराईहरूले देखेनन् सिंहदरबार जलेको र भन्न सकेनन्, ‘देश जलाउन हुन्न कान्छा ।’ खरानीको तातोले उपलब्ध गराएको सत्तामा पुगेर प्रधानमन्त्री भएकी सुशीला कार्कीले आजसम्म टिकटकर अंशु बर्माको चिया बगान जलेकामा बोलिनन् । उनको एउटै दोष थियो,’टिकटक बन्द नगर्नुस् है भन्न प्रधानमन्त्री केपी ओलीसँग भेट्नु र तस्बिर खिच्नु ।’
एउटा युवाले देशमा सपना देख्दा उनीहरूको निजी सम्पत्ति जलाउनेहरूले दिएको सत्तामा बसेर प्रधानमन्त्रीका स्टन्ट ‘भस्म पथ’ मात्रै हो । अनि यसरी निजी सम्पत्ति जलाउनेलाई कारबाही नगर्न गृहमन्त्रीको फरमान जारी भएको लुकेको छैन । झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकारलाई जिउँदै जलाउने भड्किएका आत्माहरूको जति आलोचना गरे पनि पुग्दैन । ईश्वर पोखरेलकी बुहारीले फेसबुकमा लेखेकी छिन्, ‘ घर जलाइसकेपछि पनि ईश्वर पोखरेलको दार्जिलिङे बुहारी खोइ भनियो रे ।’
यस्ता आपराधिक रगतहरूबाट सिर्जित सत्तामा बस्नेले आजसम्म विद्या भण्डारीको घर जल्दा केही बोल्दैनन् । बालेन साहलाई गाली गर्ने एउटा समूह जबरजस्त बजारमा ‘फुर्ती महाराज’को श्रीपेच लगाएर हिँडिरहेका छन् । उनीहरूले जबरजस्त शृङ्खला खतिवडाको चीरहरण गरेका छन्, के अपराध थियो शृङ्खलाको नेपालमा ? बद्री खतिवडा (भानु), विरोध खतिवडा, मुनु सिग्देल तीनपुस्ताकाे स्कुलिङ हुन् शृङ्खला । मेरा राजनीतिक गुरुआमा हुन् मुनु । मैले जीवनमा पहिलो टिसर्ट र पेन्ट लगाएको महिला देखेको मुनु दिदीलाई हो । विरोध दिदीका पति र बद्री ससुरा । छोरी शृङ्खला । बद्री खतिवडाको अलग इतिहास छ । विरोधका अलग र मुनुकाे अलग । शृङ्खला अर्को पुस्ता हुन् । शेयर गरिदिऊँ तपाईंहरुलाई, ‘आज भानुले म:म मिठो मानेर खानुभयो ।’
शृखलाकाे हार्वर्डबाट फर्केपछि हजुरबालाई हसिलाे बनाउने प्रयास । मुनु दिदी काठमाडाैँ जान हतारिनु हुन्छ, भन्नुहुन्छ, ‘भानु बिरामी हुनुभएको छ ।’ चुनावमा हिँड्दा बुबाकाे फाेन आउँदा विरोध दाइले कुनै दिन बुबा भन्नुभएन । जहिले ‘भानु यसो गर्नु न, उता भन्नु न’ भन्नुहुन्थ्याे । नाताले होइन नामले स्थापित हुनुपर्छ भनेर बद्री खतिवडाले कसरी छोरा, बुहारी, नाति नातिनीलाई पनि ‘बुबा, ससुरा, हजुरबुबा’ होइन ‘भानु’ बनाउनु भयो ? आज हर कम्युनिष्टहरुलाई फाेन गर्नुहोस्, जवाफ आउँछ, ‘कमरेड हाेइसिन्न, ट्रेडमिलमा पसिना झारिसिँदैछ ।’
शृङ्खलाको अर्को किस्सा झन् गजब छ । विरोध दाइ स्वास्थ्य मन्त्री हुँदा अमेरिकाबाट फर्किँदा एक दिन आमासँग मन्त्रालय आइन् । दाइ मन्त्री हुँदा संयोगले एक दिन मन्त्रालय पुगेको थिएँ । अझ दाइकाे मन्त्रालय सिंहदरबारमा थिएन, बाहिरै थियो । बाहिर पालेदेखि माथि मन्त्रालयको घेरा पार गरेर मन्त्रीको च्याम्बर छिर्न फेरि ढाेका लक । उनीले आफ्नै बाबु भेट्न हालिएको बार देखेर भनिन्, ‘कति धेरै बार, यत्रो काटेर आउनु पर्ने, यस्तोमा किन बस्न पर्ने ?’ यस्ता सादगी शृङ्खलाको दोष के ? विरोध-मुनुकाे छोरी हुनु ? कान्तिपुरका साहुको बुहारी हुनु ? पुराना कुरा कोट्याएर शृङ्खलाको जीवन सिध्याउन खाेज्नेहरुविरुद्ध किन फड्कारिन्न प्रधानमन्त्री र गृहमन्त्रीको जिब्रो ? सिंहदरबार बसेर स्टन्ट गरेर देश चल्दैन । देशलाई चुनाव होइन आशिका तामाङ चाहिएको छ ।
गोली खानेसँग दबाइको गोली खाने पैसा छैन । क्याम्पस पढ्न बसेकाहरूसँग घर जाने भाडा छैन । दशैँ खर्च छैन । खोजिखोजी पुगेकी छिन आशिका । देशमा गृहमन्त्री छन्, बाटोमा ट्राफिक बिट र प्रहरी छैन । झमझम झरीले बाटो मक्किएको छ । एउटा मन्त्री ट्याक्सी चढेर घर जाँदा देश फेरिने हो र ? हो भने सबैलाई ट्याक्सी दिऊँ । होइन भने स्टन्ट कम गरौँ । गभर्नर विश्व पौडेलले भनेका छन्, ‘जसरी सत्तामा पुगिन्छ, त्यसैगरी खोसिन्छ, भीमसेन थापाले अरू काटे, भीमसेन काटिएरै मरे ।’
दीपेन्द्र शाहले राजा भएको थाहै पाएनन् । सबै सकिएपछि अपुताली पर्दा पनि ज्ञानेन्द्र शाह टिकेनन् । यो सरकार त अपुताली पनि होइन, छ महिने म्यादी हो । सकिन्छ आशिका तामाङजस्तो आँसु पुछ्ने बनोस्, रविलक्ष्मी र शृङ्खलामाथि अन्याय भएको हो भनोस् । अलि हिम्मतिलो स्टन्ट गर्ने भए हामी टीका लगाउँदैनौ होइन, केपी ओलीलाई झापा जान रोकिएको छ, सकिन्छ भने ‘ओलीकहाँ टीका लगाउन नजाऊ’ भनिहेरोस्,अनि थाहा हुन्छ, राजनीति के हो, देश के हो, सत्ता के हो ?
दशैँ सकियो लगभग । देश सबै मिलेर बचाओैँ । यसका लागि स्टन्ट होइन संस्कार पढाऔँ । बद्री खतिवडाले घरमा सबै बराबर भन्न ‘भानु’ भन्न सिकाएजस्तै !

Leave a Reply