दशैँको रौनकः रित्तिँदै शहर गुल्जार गाउँ

रुपन्देही । दशैँ सुरु भएसँगै सहरी क्षेत्र करिब सुनसानजस्तै भएका छन् भन् पहाडी तथा तराईका ग्रामीण क्षेत्रहरू केही समयका लागि भए पनि गुल्जार बनेका छन् । तराईका बसपार्कबाट गाउँमा जानेहरूको भीड अष्ठमीको दिनसम्म उस्तै छ तर बजार क्षेत्र अधिकांश सुनसान बनेका छन् ।

केही भित्री बजारमा दैनिक उपभोग्यका सामान पाइने पसलहरू खुले पनि मुख्य बजार सुनसान बनिसकेका हुन् । बसपार्क वरिपरि तथा गाडी लाग्ने मुख्य चोकहरूमा भने अझै पनि केही पसलहरू खुला देखिन्छन् । १५ दिन मनाइने यो पर्वमा अधिकांश घटस्थापनाको दिनबाटै घर फर्किन थालेका हुन् । यो दिनदेखि आजसम्म बिहानैदेखि साँझसम्म बसपार्कमा यात्रु र झोलासहितका मानिसहरूको चहलपहल देखिएको छ ।

बुटवलबाट गुल्मी हिँडेका बसका चालक अर्जुन कुँवरले दसैँ लागेसँगै यात्रुको दिनहुँ बढेको बताए । उनले सामान्य समयमा बढीमा १५ देखि २० जना यात्रु लिएर हिँड्ने गरेकोमा पछिल्ला दिनमा पूरा सिट क्षमताअनुसार यात्रु पाएको बताए ।

यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप पनि बढेको छ । बुटवलबाट पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, स्याङ्जालगायतका पहाडी जिल्ला तथा तराईकै विभिन्न ग्रामीण क्षेत्रमा जानेहरूको भीड उस्तै रहेको छ त्यसैगरी भारत तथा तेस्रो मुलुकबाट पनि यहाँ आएर ती क्षेत्रहरूमा जाने र पूर्वपश्चिमबाट यहाँ आएर विभिन्न स्थानमा जानेहरूको भीड मुख्य पर्वहरूमा हुने गर्दछ ।

दसैँ नजिकिँदै जाँदा यात्रुको भिड अझै बढ्ने अनुमान गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलले लामो, मध्यम र छोटो दूरीका लागि बस थपिएको बताए । उनले अहिले लामो दूरीका ६ सय बसहरू बुटवलबाट पूर्ण क्षमतामा छुटेको बताए । यस्तै पहाडी जिल्लामा मध्यम दूरीमा बसहरू यात्रुले भरिएर गए पनि फर्कँदा यात्रु नपाउने गरेको बताउँदै यस्तो अवस्थामा समितिले प्रतिबस १० हजार रुपैयाँसम्म गाडी धनीलाई रकम दिएर चलाउने निर्णय गरेको उनले बताए ।

बुटवलबाट गाउँतर्फ छुट्ने अधिकांश बस, जिप र विद्युतीय सवारीसाधनको सिटमा यात्रुहरू भरिएको तर आउँदा भने कम रहेको उनको भनाइ थियो । यस्तै, बुटवल छाड्नेहरूको सङ्ख्या यहाँ मोटरसाइकल, जिप, ईभी आदिका कारणले यकिन गर्न कठिन हुने बताए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी मित्रबन्धु शर्माले बुटवलबाट प्रहरीले स्थापना गरेको हेल्प डेस्कबाट छुटेका सवारीसाधनमा रहेका यात्रुहरूको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको तर बुटवलतर्फ आउने सवारीसाधनमा बिचमा अन्य यात्रुहरू पनि थपिने भएकाले ठ्याक्कै यकिन गर्न कठिन हुने बताए ।

दसैँ मनाउन मात्र होइन, व्यापार, पढाइ र रोजगारीका क्रममा बाहिर रहेका मानिस घर फर्कन थालेपछि राजधानी काठमाडौँसहित देशका अन्य सहरबाट बुटवल आउने यात्रुको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको उनले बताए । पश्चिम नेपाल बस समितिले २४ घण्टा अनलाइन टिकट बुकिङको व्यवस्था र अतिरिक्त काउन्टरसमेत सञ्चालन गरेको छ । पश्चिम नेपाल बस प्रालिका २४ वटा सवारीसाधन छन् ।

विभिन्न जिप तथा अन्य समितिबाट पनि सवारीसाधनहरू दैनिक बाहिरिने गरेका छन् । अहिले यी क्षेत्रहरूमा डिजल गाडीभन्दा इभी गाडीहरू धेरै दौडिएका छन् । मैत्री यातायातका समन्वयकर्ता रुद्र आचार्य दशैंको घटस्थापनायता दिनहुँ सबै गाडीले सेवा दिइरहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *