बालविवाहको असर: १३ वर्षमा बिहे, ४८ वर्षमा नागरिकता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीकी सरु विकले ४८ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । तीन दिनअघि उनले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता पाएपछि उनले अहिले संसार जितेको अनुभूति गरेकी छिन् । नागरिकता पाएपछि खुसी हुँदै उनले भनिन् ‘ परिवार पाल्न अब केही व्यवसाय गर्न पाउने भएँ, गाउँको समूहमा पनि बस्न दिने भएँ ।’

नागरिकता नभएका कारण गाउँमा भएका दिदीबहिनी समूहमा पनि बस्न नपाएको र ज्याला मजदुरी गरेर कमाएको थोरै पैसा पनि बचत गर्न नपाएको उनले दुखेसो पोखिन् ।

१३ वर्षको उमेरमा बुवाआमाको करकापमा बिहे गर्न बाध्य भएकी सरुले नागरिकता नभएका कारण कुनै व्यापार व्यवसाय मात्र गर्न पाइनन्, सरकारबाट पाउने सेवासुविधाबाट सधैँ वञ्चित भइरहिन् । सानै उमेरमा बिहे भएकाले उनले विद्यालय पनि देख्न पाएकी थिइनन् ।

बिहेपछि लगातार ४ छोरी र १ छोरालाई जन्म दिएकी उनी जाजरकोटका काशीराम सुनार र आमा धनसरा सुनारको पहिलो सन्तानको रूपमा जन्मिएकी थिइन् । गासवासको समस्या भएपछि उनका आमाबुवा जाजरकोट जिल्लाको दसेराबाट बसाइसराई गरी सुर्खेतको मुलपानीमा आएर अरूको घरमा मजदुरी गरेर बसेका थिए ।

किशोरावस्थामै बुवाआमाले बिहे गराई दिएपछि किशोरीमै उनी आमा बन्न पुगिन । उनलाई बाल्यकालदेखि आमा बन्ने वेलासम्म पनि सधैँ अभाव र गरिबीले सताई रहेको थियो । श्रीमान् रोजगारीका लागि भारत जाने भएकाले उनलाई गरिबीसँगै कम उमेरमै छोराछोरी हुर्काउन ठुलो दुख उठाउनुपर्‍यो ।

अहिले सरुका २ जना छोरीको विवाह भैसकेको छ । जेठी छोरीबाट जन्मेको नाति पनि ६ वर्ष पुगिसकेको छ । सरुको बुवा उनीहरू सानै छँदा बिते । ज्याला मजदुरीका लागि धेरै समय श्रीमान् भारतमा बस्थे । ‘म सानै हुँदा बुबा बित्नुभयो, बिहेपछि श्रीमान् धेरैजसो भारततिर नै बस्नुभो, उनले पीडा पोख्दै भनिन् ‘सानैमा बिहे भो, सानैमा बच्चाहरू भए, अनि नागरिकता कसले बनाइदिने ?’ सानैमा बिहे भएका कारण पनि लामो समय अनागरिक भएर बस्नुपरेको उनको बुझाइ छ ।

बिहे भएको केही समयपछि आमाको पनि मृत्यु भएको र सानैमा विवाह भएकोले नागरिकता माइतीबाट बनेको थिएन र घरबाट नागरिकताको प्रमाणपत्र बनाउन उनी कसको छोरी भन्ने आधिकारिक कागजात पनि भेटिएन । त्यही कारण पनि उनको नागरिकता लामो समय बित्दा पनि बन्न नसकेको महिला अधिकारवादी संस्था आवाजकी मामला व्यवस्थापन अधिकृत लीला खत्रीले जानकारी दिइन् । आवाज संस्थाले समुदायमा सञ्चालनमा गरेको रूपान्तरण कक्षामार्फत उनको सवाल बाहिर आएको थियो । त्यसपछि आवाज संस्थाको सहजीकरणमा सरुले ४८ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्न सफल भएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *