
रुपन्देही । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका वडा नं ५ पल्नुकाँडा निवासी ६८ वर्षीया पबी केसी पेटमा गम्भीर समस्या भएपछि उपचारका लागि शनिबार राती बाँकेको नेपालगन्ज जाँदै थिइन् ।
पहिलेदेखि नै पेटको बिरामी रहेकी उनी दशैँको मुखमा बढी बिरामी भएपछि ४७ वर्षीय छोरा खगेन्द्र केसी र ३६ वर्षीया छोरी बिना केसी, उनका देवरका छोराहरू अन्दाजी २५ वर्षीय प्रकाश केसी र २७ वर्षीय शशीधर केसीले उपचारका लागि फोर्स गाडी रिजर्व गरेर नेपालगन्ज हिँडेका थिए। तर उनीहरु चढेको गाडी राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३, चोरखोलामा राती नै दुर्घटना हुँदा उपचारका लागि हिंडेकी पबिसहित ३ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
दशैँको चाप छल्न बिहानै हिंडेका उनीहरु सबार लु २ ख ६५०२ नम्बरको फोर्स गाडी करिब ४ बजेतिर दुर्घटनामा पर्दा दर्शैका मुख केसी परिवारमा विपत्ति आइलागेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यो दुर्घटनामा उपचारका लागि हिँडेकी रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका ५ बस्ने ६८ वर्षीया पबी केसी, उनका देवरका छोराहरू प्रकाश र शशीधर केसीको घटनास्थलमै मृत्यु भएको हो भने ४७ वर्षीय छोरा खगेन्द्र केसी र ३६ वर्षीया छोरी बिना केसी गम्भीर घाइते भएका छन् ।
घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गरिएको हो । उपचारका लागि लगिएको गाडी पनि केसी परिवारभित्रकै रहेको बताइएको छ। दुर्घटनाग्रस्त गाडी सडकबाट करिब चार सय मिटर तल खसेको जनाइएको छ ।
केसीलाई उपचारका लागि नेपालगन्ज लाँदै गर्दा गाडी दुर्घटनामा परेको बाँफीकोट गाउँपालिका ५ का वडाध्यक्ष मनु शाहीले जनाएका छन् । उपचारका लागि जाँदै गरेको परिवामा दशैंको मुखमा यस्तो विपत्ति आइलागेको उनले सुनाए । उनका अनुसार पबी पहिलादेखि नै पेटको समस्याले पीडित थिइन्।
धेरैपटक बाहिर लगेर पनि उपचार भइरहेको र अहिले बढी भएपछि दशैंको मुखमा भएपनि उपचारका लागि लगिएपनि बाटोमा यस्तो विपत्ति आइलागेको हो ।
‘पहिले जिल्लामै उपचार गर्ने भनिएपनि अलिकति च्यापेपछि पारिवारिक सल्लाहमै उता लैजाने निर्णय गरेर हिंडालिएको रहेछ, दुई दिनअघि वडाको सिफारिस लिन आउनुभएको थियो, राती यस्तो घटना सुन्नुपर्यो, सिंगो परिवार नै यस्तो विपत्तिमा पर्यो’ शाहीले भने ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्लामा पठाइएको र घाइतेलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको गाउँपालिका अध्यक्ष जनक बाँठामगरले नेपाल प्रेसलाई बताए । मृतक पबिका श्रीमान पहिले नै बितेका थिए । घाइते उनका छोराछोरी आमासहित तीन आफन्तलाई गुमाएर गम्भीर अवस्थामा उपचार गराउन बाँके पुगेका हुन् ।
‘मैले राती नै घटना सुनेपछि तनाब भएको थियो, तुलसीपुरबाट शव जिल्ला पठाइयो, दशैंको मुखको यस्तो अकल्पनीय घटना भयो, केसी परिवारमा मात्रै होइन सिंगो पालिका शोकाकुल भएको छ, घाइतेमध्ये छोरी अलिअलि बोल्ने अवस्थामा छन् छोराको अवस्था गम्भीर छ’ उनले भने ।

Leave a Reply