वृत्तिविकाससहितका २ बुँदे माग राखेर कर्मचारीले लगाए विद्युत् उत्पादन कम्पनीमा ताला

काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियूसियल)मा कार्यरत कर्मचारीहरूले कार्यालयमा ताला लगाएका छन् ।

आफ्ना विभिन्न मागहरू पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै उनीहरूले कार्यालयको मुल गेटमै ताल्चा लगाएका हुन् ।

कम्पनीको ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनले कम्पनी व्यवस्थापनलाई एक पत्र बुझाउँदै तत्काल माग सम्बोधन नभएसम्म कामकाज पूर्ण रूपमा ठप्प पार्ने घोषणा गरेको छ ।

तह ११ सम्मका कर्मचारीहरुलको करार सम्झौता अनुरूप स्वीकृत कार्य विवरण विपरीत तयार गरिएको केपीए तथा केपीआईहरु, तथा कम्पनी र आयोजनामा परिचालन हुने कर्मचारीहरूलाई उपलब्ध गराउनु पर्ने यातायात, थप सेवा सुविधा लगायतका निर्णयहरू अस्पष्ट, अव्यवहारिक र कार्यान्वयन गर्न जटिल र खाइपाइ आएको सुविधा घटाउने मनसायले तयार पारेको उनीहरूको आरोप छ ।

यसबारे कर्मचारीहरूले यसअघि नै प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाहीलाई ध्यानाकर्षण समेत गराइसकेको थियो । कम्पनी व्यवस्थापनले यस विषयमा तत्काल ध्यान नदिए विद्युत् उत्पादनमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ ।

कर्मचारीहरूको यस आन्दोलनको घोषणाले कम्पनीभित्रको आन्तरिक विवाद सतहमा आएको छ । हाल सीईओ शाही समेत कार्यालयमा उपस्थित छैनन् भने कर्मचारीहरू ताला लगाएर चिया पसलमा बसेर कार्यालय समय बिताइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *