
काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोले जेनजी आन्दोलनका नाममा भएका लुटपाट, आगजनी र आपराधिक घटनाको सरकारले निष्पक्ष छानबिन नगर्ने हो भने नेपालमा कसैले लगानी नगर्ने प्रष्ट पारेका छन् । महतोले जेनजी आन्दोलनकारी र लुटेरा छुट्याइनुपर्ने बताए ।
एनआरएन अभियन्ताहरूसँगको छलफलमा उनले आन्दोलनको आडमा लुटपाट गर्नेहरूलाई ‘लुटेरा’ को संज्ञा दिँदै उनीहरूलाई तुरुन्तै पहिचान गरी कारबाही गर्नुपर्ने बताए । नत्र भविष्यमा कुनै पनि आन्दोलनका आडमा व्यक्तिका सम्पत्ति र व्यवसायमाथि आगजनी र लुटपाटको सिलसिला चल्ने चेतावनी दिए ।
भविष्यमा हुने आन्दोलनहरूलाई अनुशासित बनाउनका लागि पनि लुटेराहरूलाई पहिचान गरेर दण्डित गरिनुपर्ने बताए ।
उनले आफ्नो घरमा भएको आगजनीलाई एनआरएनमाथिको आक्रमणका रूपमा लिएको बताउँदै सो आक्रमण नेपालको राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रभाव राख्ने निकायहरूलाई लक्षित गरी गरिएको सुनियोजित योजनाको अंश भएको बताए ।
भाटभटेनीस्थित महतो परिवारको ऐतिहासिक घर आगजनी भएको छ ।

Leave a Reply