
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न भन्दै पार्टीका कमीकमजोरी औँल्याएका छन्। केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै पार्टी पुनर्गठनको लागि आफूलाई कार्यवाहक अध्यक्ष दिन पनि माग गरे।
उनले भने, अहिले जेनजी विद्रोहात्मक आन्दोलन ले दिएको सन्देश पारेको प्रभाव र निर्वाचनमा गर्नु पर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।
उनले माओवादी शान्ति प्रक्रियामा आएदेखि नै गम्भीरता, तत्परता नीति, योजना र आचरण प्रदर्शन गर्न नसकेको बताए।
उनले भने, ‘हाम्रो पार्टी स्वयं वैचारिक सांस्कृतिक रूपले स्खलित र भ्रष्टिकृत हुँदै जानु हाम्रो सबभन्दा ठुलो कमजोरी हो । यसरी हजारौँ महान् शहीदहरूको रगतबाट निर्मित हाम्रो पार्टीले ती महान् शहीदहरूको सपना साकार गर्ने दिशामा अपेक्षित गुणात्मक भूमिका खेल्न नसकेको मा पार्टीले आम जनसमुदाय समक्ष विनम्रतापूर्वक क्षमा याचना गर्नु पर्दछ।’
पार्टीले पार्टी महाधिवेशन र केन्द्रीय समितिको विभिन्न बैठकहरूमा आत्मसमीक्षा गर्दै पार्टीको अहिलेको भ्रष्टीकृत, स्खलित र कमजोर स्थितिको यथार्थलाई स्वीकार गरेर रूपान्तरण र पुनर्गठनको महाअभियान अघि बढाउनुपर्ने बताए।
यी हुन् श्रेष्ठले औँल्याएका माओवादीको ६ कमजोरी
– एमसीसी परियोजना आर्थिक विकास परियोजना नभएर मूलतः रणनीतिक योजना हो भन्ने पार्टीको निष्कर्ष हुँदाहुँदै पनि पार्टीले यसलाई सांसदबाट अनुमोदन गर्नु,
– नेपाली कांग्रेससँगको सरकारको समीकरण हठात् परिवर्तन गरी एमालेसँग नयाँ समीकरणको सरकार बनाउनु,
– स्वार्थको द्वन्द्व भएको व्यक्तिलाई गृह मन्त्रालयको जिम्मेवारी दिनु र रास्वपाको सभापति प्रति नेतृत्वबाट ज्यादै बढी महत्त्व दिएको र पक्ष धरता लिएको देखिनु, (यहाँ के कुरामा स्पष्टताको आवश्यकता छ भने रास्वपा सभापतिमाथि अनुसन्धान र हिरासत वा जेल बसाइमा सरकारद्वारा गरिएको भेदभाव, दुर्व्यवहार र अपमानजनक व्यवहारको हामीले कडा विरोध गर्नपर्दथ्यो । त्यसमा कुनै शङ्का छैन । तर हाम्रो नेतृत्वबाट अनुसन्धान र मुद्दा दायर को नै विरोध गरेको जस्तो देखिनु उपयुक्त होइन ।)
– जनतासँग माओवादी जनजागरण अभियान प्रभावकारी रुपमा अघि बढिरहेकै बेलामा शेरबहादुर देउवालाई सरकार बनाउन समर्थन गर्ने र सरकारमा जान सकिने अभिव्यक्ति दिनु, (त्यसले कार्यकर्ता र जनतामा भ्रम पैदा गर्यो ।)
– भिजिट भिसाका सन्दर्भमा प्रमुख प्रतिपक्षी पार्टीले सरकार सँग २ बुँदे गलत सम्झौता गर्नु, (यसले कार्यकर्ता र आम जनसमुदायमा पार्टी प्रति नकारात्मक भाव विकास गर्यो ।)
– भर्खरै जेन जी आन्दोलन बाट विस्थापित एमाले र कांग्रेस पार्टीका प्रमुख सचेतकहरूले सँग मिलेर संयुक्त वक्तव्य दिनु र प्रतिनिधिसभा पुनर्स्थापना को नारा दिनु, हाम्रो पार्टीले जेनजी आन्दोलनकारी के प्रस्ताव र सहमति अनुसार अन्तरिम सरकार बनाउने तर प्रतिनिधिसभा मार्फत संवैधानिक रूपमा नै त्यसको आधार तयार पारेर गर्ने भन्ने प्रस्ताव राखेको थियो । त्यो प्रस्तावमा सहमति नभएर प्रतिनिधि सभा मार्फत निर्णय गर्ने संवैधानिक बाटो अवलम्बन नगरी प्रतिनिधिसभा विघटनको गरिएकोमा असहमति दर्ज गर्नु स्वाभाविक थियो । तर त्यसरी असहमति दर्ज गर्दा गर्दै पनि पार्टीले अन्तरिम सरकारको गठन र निर्वाचन घोषणा प्रति सहमति र समर्थन जनाइसकेको सन्दर्भमा प्रतिनिधि सभा पुनर्स्थापनाको नारा दिनु गलत थियो । त्यसले केही समय भ्रम पैदा गर्यो ।

Leave a Reply