चाडपर्वमा सुरक्षा व्यवस्था कडा गर्ने कर्णाली सुरक्षा समन्वय समितिको निर्णय

सुर्खेत । चाडपर्व नजिकिँदै गर्दा कर्णाली प्रदेश सरकारले यातायात र सुरक्षा व्यवस्थालाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको छ।

प्रदेश सुरक्षा समन्वय समितिको आज बसेको बैठकले चाडपर्वमा जनतालाई सहज, सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्य स्पष्ट पारेको हाे।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले चाडपर्वलाई लक्षित गर्दै शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्णय गरेको छ ।

बैठकले मुलुकको पछिल्लो परिस्थिति र नजिकिँदै गरेका विजयादशमी, दिपावली, छठलगायतका चाडपर्वलाई दृष्टिगत गर्दै यातायात आवागमनलाई सहज बनाउन विशेष पहल गर्ने निर्णय गरेको छ ।

साथै, कानून विपरीत हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सबै सुरक्षा निकायले आ–आफ्नो स्थानबाट योगदान, समन्वय र सहजीकरण गर्ने सहमति गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रमुख सचिव वीरेन्द्र कुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजंग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, डिआइजी माधव श्रेष्ठ, शसस्त्र प्रहरी महेश्वरी बाहिनीका कामु बाहिनीपति विनोदराज श्रेष्ठ लगायत प्रदेश तहका सबै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *