नेप्से कर्मचारी संघले माग्यो अध्यक्ष र सीईओको राजीनामा

काठमाडौं । मङ्गलवारदेखी आन्दोलनरत नेप्से कर्मचारी सङ्घले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा माग गरेका छन्। बुधवार सङ्घले विज्ञप्ति जारी गर्दै नेप्सेका अध्यक्ष हेमन्त बस्याल सीईओ चूडामणि चापागाईँको राजीनामा माग गरेका हुन् ।

राजनीतिक दलको कार्यकर्ता, राजनीतिक प्रभाव र भागबन्डाका आधारमा नेप्सेको सञ्चालक समितिको अध्यक्षमा बस्याल र सीईओमा चूडामणि चापागाईँ नियुक्त भएको उनीहरूको आरोप छ । धितोपत्र बजारप्रति अविश्वास फैलाउने र संस्थाको छवि धुमिल पार्ने काम उनीहरूले गरेका भनाइ छ ।

‘कन्फिक्ट अफ इन्ट्रेसको कुरा गर्ने स्वयम् बस्यालले तत्काल राजीनामा दिनुपर्छ । साथै उनलाई नियुक्त गर्ने प्रक्रियामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन आवश्यक छ’, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेप्सेलाई भित्रैबाट कमजोर बनाई बजारमा सक्रिय स्वार्थी समूहलाई मार्ग प्रशस्त गर्नु उनको अर्को उद्देश्य हो । सो उद्देश्य अनुरूप उनले कर्मचारीबिच फुट ल्याउने, कसैलाई अपमान गर्ने, कसैलाई उक्साउने, धम्क्याउने, र महँगा तालिमको प्रलोभन दिने जस्ता कार्य गर्दै कार्य वातावरण बिगार्न थालिसकेका छन्।’

त्यस्तै, २०८० साल मंसिरमा नेप्से सञ्चालक समितिले अर्थ मन्त्रालयमा पेश गरेको पुनर्संरचना प्रस्तावलाई असफल बनाउन पनि उनी सक्रिय देखिएको सङ्घले आरोप लगाएको छ । नेप्से सुधारको नाममा सतही परिवर्तन मात्र गर्ने तर मूल समस्यालाई जस्ताको तस्तै राख्ने रणनीति अपनाइएको सङ्घले जनाएको छ ।  यसले सर्वसाधारणमा ‘नेप्सेले केही गर्न सक्दैन’ भन्ने सन्देश जाने र स्वार्थी व्यापारी समूहलाई फाइदा पुग्ने स्पष्ट सङ्केत गर्ने सङ्घको भनाई छ ।

‘ठूला खरिद प्रक्रियामा अनावश्यक हस्तक्षेप गर्ने, सोबाट प्राप्त कमिसन तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई चढाउने स्वार्थसहित बस्याल नेप्सेमा प्रवेश गरेको आशङ्का बलियो छ । नयाँ प्रणाली भित्राउन नसक्ने, विद्यमान प्रणालीलाई स्तरोन्नति गर्न पनि असमर्थ बनाउने गरी नेप्सेलाई जटिलतामा पार्ने खेल उनले सुरु गरिसकेका छन् । छ महिनाअघि नियुक्त प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँ एक्लैले गर्न नसकेको कामलाई समर्थन गर्न बस्याल ‘अतिरिक्त शक्ति’का रूपमा नेप्सेमा आएको देखिन्छ’, सङ्घको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएन इन्फाइन्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृतका रूपमा मासिक ५ लाख रुपैयाँ तलब र अन्य सुविधा छोडेर नेप्सेमा प्रति बैठक २५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुले नै उनको नियतप्रति ठूलो प्रश्न खडा गरेको सङ्घको तर्क छ । यसरी आर्थिक चलखेल गर्ने, कर्मचारी फुटाउने, प्रविधि बिगारेर सर्वसाधारणमा आक्रोश बढाउने नियतले प्रवेश गरेका हेमन्त बस्याललाई नेप्सेका कर्मचारीहरूले अध्यक्षका रूपमा स्वीकार गर्न नसकिने सङ्घको ठहर छ ।

प्रमुख कार्यकारी अधिकृत चापागाँइको कार्यकाल ६ महिना बितिसक्दा पनि नेप्सेको पुनर्संरचना, अन्तर्राष्ट्रिय प्रविधि ल्याउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने तर्फ भन्दा पनि बिचौलियाको अनुचित दबाब, प्रभाव र निर्देशनमा काम गर्दै आएको सङ्घको आरोप छ । संस्थाको स्पष्ट कार्य योजना तयार गर्न असक्षम र असमर्थ भई कमजोर निर्णय क्षमताको कारण उनीबाट आगामी दिनहरूमा संस्था सुधार गर्ने तर्फ कुनै पहल कदमीको सम्भावना समेत शून्य प्राय देखिएले तत्काल राजीनामा लागि सङ्घले माग राखेको छ ।

नेप्सेका कर्मचारीहरूले चरणबद्धरुपमा सङ्घर्ष कार्यक्रमहरु समेत घोषणा गरेका छन् । मङ्गलवार देखी जारी आन्दोलन जारी राख्ने र सम्पूर्ण कर्मचारीहरूले हातमा कालो पट्टी बाँध्ने, धर्नामा बस्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने  र नेप्से सञ्चालक समितिका अध्यक्ष र सीईओको राजीनामा माग गर्ने कर्मचारी सङ्घले जनाएको छ ।

मङ्गलवार रातीसम्म अध्यक्ष र सीईओहरुलाई कर्मचारीहरूले कार्यालयमै थुन्दा प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *