रविबारे रास्वपा– सुरक्षा चुनौती छ भनेर बारम्बार फोन आएपछि लिन गयौँ, पत्रबारे कारागार प्रशासन नै जिम्मेवार 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ २४ गते पार्टी सभापति रवि लामिछानेलाई सुरक्षा दिन नसक्ने भन्दै बारम्बार फोन आएपछि बाहिर निकालेको बताएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह प्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनबाट सुरक्षाका लागि पार्टीका शीर्ष नेता र परिवारलाई फोन आएको बताइन्।

उनले भनिन्, ‘भदौ २४ गते कारागार प्रशासनबाट उहाँलाई सुरक्षा दिन सक्दैनौँ। सुरक्षा चुनौती छ। उहाँलाई यहाँबाट लिएर जानुपर्‍यो भनेर पार्टीका शीर्ष नेतृत्व वा परिवार को हुनुहुन्छ छिटो आइदिनुपर्‍यो भनेर पटक पटक फोन आयो।’

उनले रवि पत्नी निकिता बाटो असहज भएको कारणले जान नसकेको भएपनि पार्टीका सम्भव हुने नेताहरू कारागार पुगेको बताइन्। उनले एक पटक एक जनालाई मात्रै नभई दशौँ पटक दशौँ मानिसलाई फोन आएको जिकिर गरिन्।

विवादित पत्रबारे उनले भनिन्, ‘त्यो पत्र गृह मन्त्रालय अन्तरगत नख्खु कारागारको लेटर हेडमा पत्र छ। त्यसको जबाफदेहिता हाम्रो हुन्छ कि नख्खु कारागारको हुन्छ, त्यो पनि हेर्नुहोला। पत्रबारे शङ्का, उपशङ्का भए आफ्नै हिसाबले छानबिन गर्दा हुन्छ नि। हामीले जे दियो त्यही लिएर आएका हौँ।’

उनले पत्रमा भएको ब्यहोराबारे कारागार प्रशासन नै जिम्मेवार रहेको जिकिर गरिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *