जबजको आलोकमा राजनीतिक दलको लोकतान्त्रीकरण जरुरी-मदन भण्डारी फाउण्डेशन

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सम्प्रभुत्ता, लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्रमाथि अझै पनि आक्रमणका जोखिम कायम रहेको भन्दै सबै सचेत रहनुपर्ने जनाएको छ ।

जेनजी आन्दोलन र विकसित घटनाक्रमको सन्दर्भका प्रेस विज्ञप्तिमार्फत् फाउण्डेशनले राजनीतिक विश्वासलाई खल्बल्याउने, सामाजिक सद्भाव बिथोल्ने र निर्वाचनलाई पर धकेल्ने सबैखाले प्रयत्नहरूलाई निस्तेज गर्न राष्ट्रिय एकता र एकीकृत पहलमा जोड दिएको छ ।

‘लोकतन्त्रका पक्षधर राजनीतिक दलहरू, आन्दोलनकारी युवाहरू यस विषयमा सचेत रही संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय एकता र भौगोलिक अखण्डताका पक्षमा एकतावद्ध रहन जरुरी छ’, फाउण्डेशनले भनेको छ ।

जनताको बहुदलीय जनवाद (जबज) को आलोकमा आउँदा दिनमा राजनीतिक दलहरूले आन्तरिक लोकतान्त्रिक अभ्यास, सक्षम, नैतिकवान र जिम्मेवार युवा नेतृत्वको विकास, सुशासन, जवाफदेहीता, मानवअधिकार र विधिको शासनको पालना, सामाजिक न्याय सहितको आर्थिक समृद्धि र समानताका पक्षमा लिइने पहलहरूबाट गणतान्त्रिक व्यवस्थाको सुदृढीकरण र सबलीकरण गर्दै समाजवादको गन्तव्यमा पुग्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

जेन-जी आन्दोलनको मौका छोपेर स्वार्थ समूहहरूको घुसपैठका कारण राज्यका प्रमुख अङ्गमाथि भएको विध्वंशप्रति फाउण्डेशनले निन्दा गरेको छ । न्यायिक छानबिन आयोगले निष्पक्ष, पारदर्शी तथा तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनको दायरामा ल्याउनेमा विश्वास जनाइएको छ ।

‘भ्रष्टाचार, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती आदिबाट निराश एवं सूचना, सञ्चार, आर्थिक कारोबार, सामाजिक सम्पर्क र सम्बन्धका लागि सामाजिक सञ्जालमा अभ्यस्त युवा पुस्ताले उठान गरेका विषयहरू आम नेपालीका साझा सरोकारका विषयहरू हुन् । सुशासनलाई प्रत्याभूत गर्न छिटो, छरितो, विश्वसनीय, निष्पक्ष र पारदर्शी सार्वजनिक सेवा सुनिश्चित गर्नुका साथै प्रशासनिक सुधार, निष्पक्ष छानबिन र दण्डहीनताको अन्त्यका लागि वर्तमान राज्यप्रणालीबाट तत्काल ठोस प्रयत्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *