जलेको घर हेरेर मन दुखाउँदै रेनुले भनिन्- रातदिन जनताको सेवा गरेको ‘पुरस्कार’ पाएँ

चितवन । भरतपुर महानगरापलिकाकी मेयर रेनु दाहाल जेनजी आन्दोलनकारीले जलाएको घरमा पुगेर बिरक्तिएकी छन् । उनले चित्त दुखाउँदै जनताको रातदिन सेवा गरेको ‘पुरस्कार पाएको’ बताइन् ।

२४ गतेको जेनजी आन्दोलनका क्रममा रेनु दाहाल र उनका श्रीमान् बस्दै आएको भरतपुर २१, शिवनगरस्थित घरमा आगजनी गरेर ध्वस्त पारिएको थियो । आन्दोलनकारीहरूले घरभित्र थुप्रै सिलिन्डर हालेर विस्फोट गराएका भिडिओहरू सार्वजनिक भएका छन् । यो घर खासमा माओवादी अध्यक्ष प्रचण्डले नै बनाएका हुन् । रेनु बस्न थालेको ५ महिना जति मात्रै भएको थियो ।

रेनुको आफ्नो घर काठमाडौंमा रहेको छ । उक्त घरमा पनि तोडफोड भएको थियो । तर, आगजनीबाट भने जोगियो । शिवनगरको घर भने बस्नै नमिल्ने गरी ध्वस्त भएको छ । घर निरीक्षणका क्रममा उनलाई कार्यकर्ताहरूले आन्दोलनकारीहरू सिलिन्डर बोकेरै आएको र भित्र रहेका सिलिन्डर पनि विस्फोट गराएको बताएका थिए ।

रेनुका अनुसार घरमा आगजनी हुँदा उनी भरतपुर उपमहानगरमा थिइन् । कार्यालय पुगेर एउटा विज्ञप्ति जारी गरिन् । तर, महानगरभित्रै आक्रमण भयो र उनीसहित सबै भाग्नुपर्‍यो । त्यसपछि केही दिन भूमिगत भएर उनी अहिले फेरि काममा फर्केकी छिन् ।

घर निरीक्षणपछि रेनुको अभिव्यक्ति यस्तो थियो:

राम्रै पुरस्कार पाएँ । नेपाली मन हुने, भरतपुरलाई माया गर्ने, नेपाली नागरिकले यस्तो गर्ने कुरा सोच्न पनि सक्दिनँ । दिनरात नभनेर आफ्नो छोराछोरीभन्दा प्यारो ठानेर भरतपुरवासीको सेवा गरिरहेको नगरप्रमुखलाई राम्रै पुरस्कार दिनुभयो ।

यो योजना कसले बनायो भन्ने अदृश्य छ । अहिले पनि आँकलन गर्न सक्छौँ । स्वदेशी-विदेशी ग्रान्ड डिजाइनमा भएको लागिरहेकै छ । तर रिमोट कन्ट्रोल अन्त भए पनि कार्यान्वयन गर्ने त भरतपुरवासी नै भए ।

म त ढुक्क थिएँ केही हुँदैन भनेर । भरतपुरवासीको माया अगाध पाएको थिएँ । काम पनि गरिएको थियो । भ्रष्टाचार, अनियमितता, बेथिति केही पनि थिएन । मलाई त केही पनि हुँदैन भन्ने लागेको थियो ।

म त्यो दिन घरमा लगाएकै कपडा लगाएर निस्किएको हो । अघिल्लो दिन पनि म दिनभरि अफिसमै थिएँ । गेटमा पनि आन्दोलनकारीहरू उग्र रूपमा बढ्दै गर्दा सीसीटिभीबाट हेरिरहेको थिएँ । २३ गते पनि रेनु दाहाल मुर्दावाद भन्ने खालको नाराहरू सुनिएको थिएन । ढुक्क भएर बसिरहेको थिएँ ।

२४ गते पनि केही हुँदैन भनेर ढुक्क भएर ९ बजे नै अफिस गएँ । वक्तव्य जारी गर्नुपर्छ भन्ने भयो । दुईवटा विषय समेटेर वक्तव्य लेखियो । एउटा, विद्यमान परिस्थितिका कारण विद्यालयहरू दुई दिनलाई बन्द गर्न भनिएको थियो । अर्को चाहिँ आन्दोलनकारीलाई संयमित हुन अपिल गरिएको थियो । त्यो वक्तव्य जारी भयो । बिस्तारै देशभरि अशान्ति बढ्न थाल्यो । मलाई पनि असुरक्षित हुन्छ कि भनेर साथीहरूले भन्दा के हुन्छ र भन्ने सामान्य ढंगले लिएको थिएँ । तर, हाम्रो कार्यालयमा पनि आक्रमण भयो ।

सम्पूर्ण कार्यालय जलेर खरानी छ । निजी सम्पत्तिमाथि तोडफोड गरिएको छ । रेनु दाहाल मुर्दावादको नारा त सुनिनँ । त्यसरी सखाप पार्नुपर्ने आखिर के थियो रु यत्रो वर्षदेखि थातथलो छोडेर परिवर्तनको आन्दोलनमा होमिँदै गर्दा अन्ततः आफ्नै ठाउँमा आइयो । यहाँ बसेर काम गर्दा मुर्दावादको नारा कहिल्यै सुन्नुपरेन । आजसम्म सञ्चारमाध्यममा पनि केही नराम्रो आएको छैन ।

म एउटा राजनीतिक परिवारको व्यक्ति हुँ । विभिन्न रिसइबी होला । राम्रो काम गरेकोमा पनि रिसइबी छ र इर्स्या हुँदो रहेछ । त्यही फिल भइरहेको छ । राम्रो गर्ने, नराम्रो गर्ने सबैलाई सोलोडोलो एउटै घानमा हालियो । वर्षौंदेखि भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनेलाई केही पनि नहुने, एउटा घुनपुत्लो केही नलाग्ने, अनि हामी रातदिन समर्पित भएर जनताका लागि काम गर्दा राम्रै पुरस्कार दिनुभएको छ । भोलि गम्भीर समीक्षा होला । सत्यतथ्य आउला ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *