गोली लागेर प्रहरी ब्यारिकेडमा ढलेका दीपेन्द्र, अस्पतालको बेडमा पनि देशकै सुर्ता

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भाइरल भएको एउटा तस्बिरले सबैको मुटु काँपेको थियो, जहाँ एक युवक गोली खाएर प्रहरी ब्यारिकेडमा घोप्टिएका थिए । धेरैले यी युवकको ‘स्पट डेथ’ भएको हुन सक्ने अनुमान गरे ।

तर, सौभाग्यवस उनी जीवित छन् । अहिले माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका यी युवक हुन् दैलेखका दीपेन्द्र बस्नेत । उनी गत भदौ २३ गते भएको आन्दोलनमा अग्रपंतिमा थिए । त्यस दिन चलेका धेरै गोलीहरूमध्ये एउटा उनको टाउकोमा लागेको थियो ।

श्रीमती संगीता खड्का र एक छोरासहित वसुन्धारा नजिकै भाडाको कोठामा बसिरहेका दीपेन्द्र टेक्निसियनको काम गर्थे । गत वर्षदेखि उनी वैदेशिक रोजगारीको तयारी गरिरहेका थिए । भदौ २३ गते बिहान कामका लागि भनेर रुमबाट निस्किएका दीपेन्द्र दुई हप्ता वितिसक्दा पनि फर्किएका छैनन् ।

देशमा भइरहेको भ्रष्टाचार, राजनीतिक अस्थिरताका विरुद्ध लड्न भनेर साथीहरूसँगै सडकमा आएका थिए उनी । माइतीघर मण्डलाबाट सुरू भएको जेन-जी आन्दोलन बिजुली बजारसम्म आइपुग्दा अवस्था सामान्य नै थियो । तर, सुरक्षाकर्मीको ब्यारियर ताडेर नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रवेश गर्दा अवस्था अनियन्त्रित भयो ।

प्रदर्शनकारीहरू संसद प्रवेश गर्न सुरू गरेपछि नेपाल प्रहरीले रबरको गोली हान्न थाल्यो । सोही क्रममा भगवतीमाई गाउँपालिका दैलेखका २८ वर्षीय दीपेन्द्रको टाउकोमा गोली लाग्यो । उनी सुरक्षाकर्मीको व्यारियरमा रगताम्य अवस्थामा ढले ।

उक्त भिडिओ र तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । रगतमा लत्पतिएका दीपेन्द्रलाई अचेत अवस्थामा साथीहरुले अस्पताल पुर्‍याए र घरमा उनकी श्रीमती र दैलेखमा बस्दै आएका आमा-बुबालाई पनि खबर गरियो । श्रीमानलाई गोली लागेको खबर सुन्नासाथ संगीता बेहोस् बनिन् । उनलाई डाक्टरले तीन दिनसम्म श्रीमान भेट्न दिएनन् ।

दीपेन्द्र पनि तीन दिनसम्म अचेत नै थिए । ८ दिनपछि सामान्य रुपमा बोल्न सक्नेगरी होस्मा आए । अझै पनि उनको शरीरको दायाँ भाग चल्दैन । ह्वियलचियरमा राखेर उनलाई बाहिर भित्र डुलाउने गरिएको छ ।

सामान्य अवस्थामा फर्किनसकेका दीपेन्द्रलाई देशकै चिन्ता छ । नेपालमा जेन-जीले गरेको आन्दोलन दोस्रो पटक नहोस् भन्ने उनी चाहन्छन् । युवाहरूले रोजगारीका लागि विदेश जान नपरोस् भन्ने कामना छ उनको ।

दीपेन्द्रलाई बालेन प्रधानमन्त्री बनेको हेर्ने मन रहेछ । त्यसो त हालकी प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि उनी आशावादी नै छन् । कार्कीलाई भेट्ने चाहना उनले व्यक्त गरे ।

घरबाट विभिन्न योजना बनाएर काठमाडौं आए पनि श्रीमानको यस्तो अवस्थाले सबै योजना चक्नाचुर भएको पत्नी संगीताले बताइन् ।

उनले भनिन्, ‘बिहान छोरालाई स्कुल पठाएर दिनभरि श्रीमानलाई हेर्छु । बलेुका गएर बच्चालाई सम्हाल्ने गर्छु । अहिले त्यो बाहेक कुनै काम गर्ने वातावरण छैन ।’

छोरा अस्पतालमा भर्ना भएको खबर थाहा पाएपछि भावव्विहल बनेका दिलबहादुर बस्नेत लगत्तै टिकटको व्यवस्थापन गरी काठमाडौं आएर छोरा स्याहार गरिरहेका छन् । असल नेतृत्व नभएका कारण युवाहरुको नैराश्यता जेन-जी आन्दोलन मार्फत बाहिर आएको र अभिभावकको काख रित्तएको उनको भनाइ छ ।

‘नेपालमा अब असल नेतृत्वले सत्ता सम्हालोस् र भविष्यमा जेन-जी आन्दोलन नहोस्’ उनले आफ्नो इच्छा सुनाए ।

यूरोप जानका लागि दीपेन्द्रले भिसा अप्लाई गरेका थिए । २ लाख ऋण निकालेर म्यानपावरलाई पनि बुझाइसेका थिए । उनी भिसाको पर्खाइमा थिए । जेन-जी आन्दोलनमा लागेको गम्भीर चोटले गर्दा दिपेन्द्र अब सायद विदेश जान सक्ने छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *