
काठमाडौं । शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । बजारमा देखिएको अस्वाभाविक उतारचढावप्रति ध्यानाकर्षण गराउँदै उनीहरूले आवश्यक कदम चाल्नुपर्ने भन्दै गभर्नर पौडेलसमक्ष आग्रह गरेका हुन् ।
वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीको टोलीले गभर्नरलाई भेटेको हो । उनीहरूले गभर्नर पौडेललाई संयुक्त रूपमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
गभर्नरसँगको भेटमा उनीहरूले शेयर बजारमा अचानक ठूलो गिरावट आएका कारण बजारमा त्रास फैलिएको बताए । संकटको समयमा सावधानी बिना नै बजार खुलाउँदा ठूलो लगानी गुमाउनु परेको उनीहरूले गुनासो गरेका छन् ।
लगानीकर्ताहरूले शेयर धितो कर्जामा २५ करोडको सीमा पूर्णरुपमा खारेज गर्नुपर्ने माग राखेका छन् । यसका साथै उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने व्यवस्था मिलाउने, लघुवित्तको लाभांशमा लगाइएको सीमा खुला गर्ने, बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न पाउने सीमा परिमार्जन गर्ने र गैर आवासीय नेपाली (एनआरएन) लाई पुँजी बजारमा भित्र्याउन नीति संशोधन गर्ने लगायतका सुधार गर्नुपर्ने भन्दै गभर्नरलाई सुझाव दिएका छन् ।


Leave a Reply