जेनजी आन्दोलनपछि कांग्रेसमा गगनले अघि सारेको नयाँ नेतृत्वको बहस- अब नियमित कि विशेष महाधिवेशन ?

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजी आन्दोलन पार्टी पुनर्गठनको बहस अघि सारेका छन् । प्रतिनिधि सभा विघटन गरेर फागुनको २१ गतेका लागि निर्वाचनको मिति तय भइसकेकाले तत्काल पार्टी पुनर्गठन गर्नुको विकल्प नभएको उनीहरूको बुझाइ छ ।

तर, संस्थापन पक्ष तत्काल पार्टीमा कार्यवाहाक तोक्ने वा विशेष महाधिवेशनमा जाने पक्षमा छैन । हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा पनि महामन्त्री थापाले पार्टी पुनर्गठनको लागि दुई वटा विकल्प अघि सारेका थिए। नियमित समयमा महाधिवेशन या विशेष महाधिवेशन गर्ने ।

थापाको प्रस्तावमा भनिएको छ, ‘पार्टीको विधानअनुसार पार्टीको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिन्छ । अब म्याद नथपौँ, यो परिस्थितिमा थप्न मिल्दैन । नियमित अधिवेशन २०८२ मंसिर मसान्तभित्र गर्न सकिन्छ, गरौं ।’

उनले हालको क्रियाशील सदस्य यथावत् कायम राखेर १ महिनाको लागि नयाँ क्रियाशील सदस्यता लिने समय तोकौँ र त्यही क्रियाशील सदस्यबाट अधिवेशन गर्ने उनको प्रस्ताव थियो । नभए विधानकै व्यवस्था अनुसार विशेष महाधिवेशन गर्नुको विकल्प नभएको भन्दै प्रस्ताव राखेका थिए ।

थापाको प्रस्तावमा अर्का महामन्त्री शर्माको पनि समर्थन थियो । तर, उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हिजोको बैठकमा थापाको प्रस्ताव अल्पमतमा पर्‍यो । योबाहेक अरू निर्णय गरेर बैठक सकियो ।

महामन्त्रीद्वयसहित इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला खेमा यही नेतृत्वबाट चुनावमा जान नसक्ने साझा निष्कर्षमा छन् । तर प्रचार विभाग प्रमुख मीन विश्वकर्मा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिपछि पार्टी पुनर्गठनबारे नेताहरूले राखेको अभिव्यक्ति व्यक्तिगत मात्रै भएको बताए ।

उनले भने, ‘पार्टी १५ औं महाधिवेशनको तयारीमा छ । अहिले पार्टीलाई पुनर्गठन गर्ने, अधिवेशन गर्ने, पुनर्संरचना गर्ने कुरा विपद्को बेलामा साथीहरूले व्यक्तिगत रूपमा राखेका कुरा हुन् । हामी अहिले महाधिवेशनको तयारीमा छौं । क्रियाशील सदस्यता बुझ्ने र बुझाउने क्रम जारी छ । त्यसैले हामी पार्टी सञ्चालनको लागि पनि विधानभित्रै रहेर सबै कुरा गर्छाैं ।’

पार्टी पुनर्गठनको विषयमा पार्टी बैठकमा औपचारिक छलफल नै नभएको उनको दाबी छ । पार्टीभित्र नियमित कि विशेष महाधिवेशन गर्ने भन्नेबारे चलेको बहसबारे सहमहामन्त्री डिना उपाध्यायसँग नेपाल प्रेसले गरेकाे सवाल-जवाफ:

– अहिले पार्टीमा चलिरहेको पुनर्गठनको बहसलाई कसरी लिनुहुन्छ ?

अहिले पुनर्गठन होइन, अधिवेशनकै समय आइसकेको छ। अब अधिवेशनलाई कसरी लैजाने भन्ने बहस पार्टीमा चलिरहेको छ। विशेष महाधिवेशनको पनि कुरा आएको छ, अब त्यसलाई वैधानिक रूपमा कसरी लाने भन्ने कुरामा छलफल भइरहेको छ ।

अब मंसिरमा त हाम्रो चार वर्ष पूरा हुन्छ। त्यो हिसाबले कुरा उठेको छ । अब पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ । त्यसैले विशेष महाधिवेशन बोलाउने कि भन्ने पनि छ । जसले गर्दा लामो प्रक्रियामा जानु पर्दैन। हाम्रोमा क्रियाशील सदस्यतालगायतको लामो प्रक्रिया छ ।

तर, अहिले यो भन्दापनि जनतासँग पार्टीको सम्बन्ध कसरी सुधार्ने, पार्टीभित्र बढेको नैराश्यता हटाउने लगायतको कुरालाई प्राथमिकता राख्नुपर्छ। त्यसपछि केन्द्रीय समिति बैठक बसेर विधानतः कसरी जाने भन्नेमा निर्णय हुन्छ ।

– हिजोको बैठकमा पनि महामन्त्री थापाले त महाधिवेशनको प्रस्ताव राख्नुभएको थियो होइन ?

गगनजीले विशेष महाधिवेशनमा जाऔं भन्नुभएको हो । त्यो उहाँको प्रस्ताव पनि ठिकै छ । तर, अहिले यही एउटा इस्यु भन्दा पनि समसामयिक अहिलेको घटनाक्रमको विषयमा बहस र समीक्षा गरेर पार्टीलाई कसरी लैजाने भन्ने निष्कर्षमा पुग्नुपर्छ भन्ने सबैले धारणा राख्नुभयो ।

पहिलो प्राथमिकता त हामीले पार्टीका साथीहरूको मनोबल उच्च राख्ने नै हो । अब पार्टी केन्द्रीय समितिको बैठक, पार्टी जिल्ला तहका सभापतिको भावना र पार्टीको समग्र भावना बुझेर एउटा बाटो लिनुपर्छ भन्ने कुरा भएको छ ।

– केन्द्रीय समितिको बैठक कहिले बस्छ ?

तुरुन्तै दसैँ अघि नै बस्ने भन्ने कुरा भएको छ । तर निर्णय भएको छैन ।

– देउवाको नेतृत्वमा अब चुनावमा जान सकिँदैन भन्ने मत पार्टीभित्र बढ्दो छ। चुनावअघि नेतृत्व फेरिने सम्भावना देख्नुहुन्छ ?

अहिले पार्टी सभापति बिरामी हुनुहुन्छ। पार्टीमा कार्यवाहक दिएर पनि चलाउने विगतका पनि नजिर छ । अहिले नै यही हुन्छ भन्ने सकिँदैन । तर निर्वाचनमा कसरी जाने भन्ने कुरा पार्टी बैठकपछि मात्रै निर्णय हुन्छ ।

– हिजोको बैठकमा तत्काल कार्यवाहक नतोक्ने, विशेष महाधिवेशनमा पनि नजाने सहमति भएको हो ?

त्यस्तो कुनै निर्णय भएको छैन। अहिले हामीले नै यसबारेमा कुनै निर्णय नगरौँ भनेका हौं। कार्यसम्पादनले यो निर्णय गरेका हुँदैन, केन्द्रीय समितिले गरौं भनेका हौं। यो विषय केन्द्रीय समिति बैठकमा उठिनैहाल्छ। त्यहाँबाटै निकास निकाल्छौं ।

– भनेपछि सभापति फर्केपछि मात्रै बैठक बस्छ ?

तुरुन्तै बस्ने कुरा पनि छ । बैठक त महामन्त्रीहरूले सभापतिसँग समन्वय गरेर बोलाउनुहुन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *