‘रिमै’ले एक करोड ग्रस गरिसकेको थियो, जेन जीको आन्दोलनले व्यापार ठप्प बनाइदियो

काठमाडाैं । गत भदौ २० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रिमै’ले बक्स अफिसमा राम्रै कमाइ गरिरहेको थियो । निर्माता वीरबल घलेका अनुसार चलचित्रले चार दिनमा एक करोड हारहारीको ग्रस कलेक्सन गरिसकेको थियो ।

चलचित्रले राम्रै पिकअप लिइरहेको अचानक जेनजीहरुले आन्दोलन सुरु गरे । २३ गतेको दिन आन्दोलन भए पनि चलचित्र हलमा चलिरहेको थियो । तर, २४ गतेको आन्दोलन आगजनी, लुटपाट र हिंसामा परिणत भयो । यसले चलचित्रको व्यापारलाई ठप्पै बनायो । हलहरु नै बन्द भए ।

‘आन्दोलनमा धेरै आमाहरुको कोख रित्तिएको छ । धेरैतिर आगजनी भएको छ । यो मानवीय र भौतिक क्षतिको तुलनामा हाम्रो चलचित्रले व्यहोरेको क्षति खास ठूलो होइन । हामी पनि जेन जी भाइबहिनीसँगै नै छौं, ‘निर्माता घलेले भने, ‘तर, यो आन्दोलनले हाम्रो चलचित्रको व्यापारलाई ठप्पै बनाइदियो । तीन करोडमाथि लगानी गरेका थियौं । के गर्ने, यस्तै हो ।’

जेन जीको आन्दोलनपछि गत ३० गतेबाट नेपाल चलचित्र संघले हल पुनः सुरु गर्ने निर्णय गर्यो । ‘रिमै’ पुनः प्रदर्शनमा समेत आयो । तर, यसपछि चलचित्रको व्यापार त्यति राम्रो नभएको घलेले बताए ।

अहिले हलमा ‘रिमै’सँगै ‘मोहर’ पनि न्यून शो संख्याका साथ चलिरहेको छ । साथै अन्य विदेशी चलचित्रहरु प्रदर्शनरत छन् । यद्यपि चलचित्रको व्यापार उत्साहजनक नरहेको घलेले बताए । अब चाहिँ चलचित्रले पिकअप लेला कि भन्ने अपेक्षा रहेको उनको भनाइ छ । अब एकैपटक १३ गतेबाट मात्रै नेपाली चलचित्र हलहरु लाग्ने भएकाले पनि यो बीचको समय ‘रिमै’का लागि फाइदाजनक हुनसक्छ ।

खिलबहादुर गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, अर्पन थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ लगायत कलाकारको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *