महेश बस्नेतको दाबी- सुधन गुरुङ एमालेमा आउन सक्छन्, अलिअलि कुरा भएको छ

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अधिकांश नेताहरू सहभागी थिए । कार्यक्रम सकिएर बाहिरिने क्रममा एमाले नेता महेश बस्नेत केही युट्युबरहरूसँग गफ गर्नलाई तम्सिए ।

एक युट्युबरले बस्नेतलाई सोधिहाले, ‘सुधन गुरुङले तपाईंलाई आरोप लगाएको छ नि ?’

‘यस्ता हावा कुरा’ भन्दै बस्नेतले थपे, ‘आरोप लगाएको छैन मलाई । विचरा त्यो सुधन गुरुङ डराएर महेश अंकलले पनि के-के भन्नुभएको थियो भनेको छ ।’

बस्नेतले सुधन गुरुङ एमालेमा आउन सक्ने अपत्यारिलो दाबी समेत गरे ।

उनले थप भने, ‘सुधन भाइ एमालेमा आउँछजस्तो लाग्छ । यो विषयमा अलिअलि कुराकानी समेत भएको छ । हामीलाई सुरक्षा थ्रेट भयो भनेर यिनीहरुको ठूलो टोली हामीसँग सम्पर्कमा छ । यिनीहरु एमालेमा आए भने तपाईंहरू अचम्ममा नपर्नुस् ।’

हामी नेपालका संस्थापक सुधन गुरुङले केही दिन अगाडि आफूलाई केही अज्ञात समूहले फलो गरिरहेको र त्यो समूह एमाले नेता बस्नेतले खटाएको हुनसक्ने बताएका थिए । गुरुङ जेन जीको प्रतिनिधि बनेर मिडियामा देखिँदै आएका छन् ।

त्यस्तै बस्नेतले अभिनेत्री रिमा विश्वकर्मालाई पनि जवाफ फर्काएका छन् । केही दिनअघि बस्नेतले आवश्यक परेको खण्डमा तरबार उठाउन तयार रहेको भन्ने समाचारको पोस्टर सेयर गर्दै विश्वकर्माले लेखेकी थिइन्, ‘नेता हो कि गुण्डा ?’

विश्वकर्मालाई जवाफ दिँदै बस्नेतले भने, ‘मलाई गुन्डा भन्ने ? कसको के क्षति पुर्याएको छु मैले ? २३ वर्षको उमेरमा गाविस अध्यक्ष भएँ । महेश बस्नेतले अहिलेसम्म कसैसँग दुई रूपैयाँ मागेको छैन ।’

साथै आफ्नो घरमा आएर अवलोकन गर्न पनि बस्नेतले विश्वकर्मालाई सुझाव दिएका छन् ।

उनले थपेका छन्, ‘तपाईंकै भाइ हो क्यार सन्तोष परियार, उसलाई सोध्नु महेश दाइबारे । गाउँमा कसैले घरभित्र पस्न नदिँदा महेश दाइकै घरमा पसेको हो उसको टिम । कसैले खान नदिँदा महेशकै घरमा खान दिएको हो । बुझ्दै नबुझी हावा कुरा नगर बैनी, कमेडी शो चलाएजस्तो हावाको भरमा मुलुक चलाउन सजिलो छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *