
Generation Z लाई छोटकरीमा Gen Z अर्थात् Zoomers भनेर पनि चिनिन्छ। यो पुस्तामा सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका व्यक्तिहरूलाई राखिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने Gen Z मा वि.सं. २०५४ सालदेखि वि.स. २०६९ सम्म जन्मिएका युवा तथा बालबालिकालाई यो Gen Z पुस्तामा राखेर हेर्न सकिन्छ ।
यसरी हेर्दा हाल तेह्र, चौध वर्षदेखि सत्ताइस, अठ्ठाईस वर्ष सम्मका बालबालिका एवम् युवाहरूलाई Gen Z पुस्ता भन्न सकिन्छ । यो पुस्ता अत्यन्तै सचेत, शिक्षित, टाठो ‘स्ट्रेटफरवार्ड’ र इमानदार पुस्ता हो जसलाई सिधा कुरो मन पर्छ, दायाँ बायाँ र घुमाउरो कुरो पटक्कै मन पर्दैन !
वि.सं. २०५४ सालमा जन्मेका “Gen Z” २०६२/६३ सालको जनआन्दोलनको समयमा बढीमा आठ वा नौ वर्ष उमेरका थिए । तत्कालीन समयमा वा वि.सं. २०६२/६३ मा यिनीहरूमा राजनीतिक चेतना आइसकेको थिएन न त यिनीहरूले नेपालका राजनीतिक दलहरूले भनेको जस्तो राजा ज्ञानेन्द्रको राजशाही नै देखेका थिए !
अहिलेका भ्रष्ट पार्टीका नेता कार्यकर्ताहरू पनि त आखिर आफ्नो सन्तानको भविष्यको लागि चिन्तित नै होलान् ! जसले रोगको पहिचान गर्न सक्छ उसैले मात्र रोगीको उपचार गर्न सक्छ ! आजको Gen Z पुस्तालाई यो देशको दुरावस्था र विद्यमान समस्याको कारकतत्व र तिनको समाधानको बारेमा राम्रो जानकारी छ ।
तत्पश्चातको समयमा वि.सं. २०५४ सालदेखि वि.सं. २०६८/६९ सालसम्ममा जन्मिएका Gen Z हरूले आज २०८२/८३ सालसम्म आइपुगद्दा के-के देखे त ? भन्ने प्रश्न स्वभाविक रूपमा उठ्छ । यस्ता Gen Z हरूले आजको दिनसम्म आइपुग्दा प्रमुख राजनीतिक दलः नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका नेता शेरबहादुर देउवा, के.पी. शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरूले राज्य सत्ताको चरम दुरूपयोग गरेको, प्रधानमन्त्रीको पदलाई म्युजिकल चेयर बनाएको, देशलाई लुटेको, संवैधानिक पदहरूमा भागबन्डा गरेको, राजनीतिक लाभको पदहरूमा क्षमताको आधारमा नभई आस्थाको आधारमा नियुक्ति दिएको, कर्मचारीहरूबाट ठूलो रकम लिएर मालदार अड्डामा नियुक्त गरेको, नेपालीहरूबाट ठूलो रकम लिएर उनीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको, सरकारी सार्वजनिक जग्गा निजी क्षेत्रलाई बेचेको, सुनकाण्ड मच्चाएको, भिजिट भिसा काण्ड मच्चाएको, वैदेशिक रोजगारीमा पठाउन नेपाली दाजुभाइ दिदीबहिनीसँग म्यानपावर कम्पनी मार्फत रकम असूल उपर गरेको, बाकसको लागि विदेशीबाट लिएको ऋणको रकम व्यक्तिगत लाभको लागि प्रयोग गरेको लगायतका काण्डै काण्ड मात्रे देखे । यीनै नेताहरूले कहिले एउटासँग त कहिले अर्कोसँग मिलेर ठगबन्धन गरी देश लुटेको मात्र देखे ।
त्यसको ठीक विपरीत Gen Z ले पूर्वराजा ज्ञानेन्द्र आम नागरिकको रूपमा देशको कुना कुना पुगेर मुलुकबासीको समस्यासँग साक्षात्कार गरेको, खास-खास समयमा सबैप्रति समभाव राख्दै मुलुक र मुलुकबासीलाई एकजुट भएर देशको विकासमा लग्न आह्वान गरिरहेको, देशबाट युवा पुस्ता पलाएन भएको प्रति चिन्ता व्यक्त गर्दै मुलुक भित्रै केही गरेर आफ्नो तथा मुलुकको भविष्य बनाउन प्रेरणा जगाई रहेको, सधै शान्त र शालीन शैलीमा प्रस्तुत भई देशको कुना-कुनामा नागरिकसँग भलाकुसारी गरी हिँडेको, आफ्नो सवारीसाधन आफैँले चलाई हिँडेको, ट्राफिक जाममा परेको बेला आम सर्वसाधारण सरह दुई घण्टासम्म पेप्सीकोला-जडिबुटीको जाममा पालो कुरेर बसेको, पूर्व नवयुवराज हृदयन्द्र शाहको व्यक्तित्व एवम् शालीनता तथा पूर्व युवराज्ञी हिमानी शाहको समाजसेवालाई नजिकबाट नियाल्ने मौका पायो ।
यसरी Gen Z पुस्ताले एकातिर अहिलेका राजनीतिक दलका नेताहरूलाई व्यक्तिवादी एवम् परिवारवादी र अवसरवादीको रूपमा देख्यो भने तिनीहरूलाई खलनायकको रूपमा मात्र देख्ने, सुन्ने, भोग्ने तथा अनुभव गर्ने मौका पायो । अनि तिनै नेताहरूले मुलुकमा ठूला ठूला भ्रष्टाचारको काण्ड मात्र मच्चाएको समेत देख्यो । त्यसैले उसले भ्रष्टहरूलाई उनकै भाषामा बुझाउन विद्रोहको विकल्प देखेन । यसमा यो Gen Z पुस्तालाई अबगाल पार्न मिल्दैन ।

अहिले नेपालबाट विदेशमा उच्च शिक्षाको लागि होस् वा रोजगारीको लागि होस् वा बसाई सराइको लागि होस् सत्तरी, असी लाख भन्दा बढी नेपालीहरू विदेशमा रहेका छन् । नेपालमा ३२ लाखभन्दा बढी घर धुरीमा FTTH ब्रोडव्यान्ड इन्टरनेट जडान भएको छ, जसबाट एक करोड चालिस लाखभन्दा बढी नेपालीहरू ब्रोडव्यान्ड इन्टरनेटको सुविधा लिई यसैको माध्यमबाट विदेशमा रहेका आफन्तजन तथा साथीभाइ दिदीबहिनीसँग विभिन्न सामाजिक सञ्जालमार्फत निरन्तर सम्पर्कमा रहिरहेका छन् ।
अनि यस्तो सहज सम्पर्कको माध्यम बनेको सामाजिक सञ्जाललाई बन्द नगर भनेर सरकारसँग माग राख्दा Gen Z बाट के अपराध भयो ? यसको बदलामा राज्य पक्ष नृशंस ढङ्गले हत्यामा उत्रियो र कलिला बालबालिकाको छाती र टाउकोमा ताकी तातो गोली दागियो । यसमा पनि क्रूर र हठी शासकले Gen Z लाई नै दोषी देख्छ भने हामीले त्यस्तो शासक र शासक वर्गलाई बहुलठ्ठी, सनकी, जङ्गली नभनेर के भन्ने ?
Gen Z पुस्ता प्रविधिमा मात्र नभएर अन्य सबै क्षेत्रमा सचेत पुस्ता हो। यो पुस्तासँग तीखे राजनीतिक चेतना पनि देखिन्छ भने मुलुकको अहिलेको दुरावस्थाको कारण समेत यो पुस्ताले राम्रोसँग बुझेको छ र देखेको छ । Gen Z पुस्ता विदेशमा रहेका आफ्ना आफन्तजन तथा साथिसंगतिसँग निरन्तर संवाद गर्छ। अन्य विकसित मुलुकहरूमा क्षमता भएका युवाहरूले अवसर पाएको र आफ्नो व्यक्तिगत करियर एवम् देश (विदेश) विकासमा योगदान पुर्याउन सफल भएको देखेको छ, सुनेको छ ।
विकसित मुलुकहरूमा सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरलाई सरल, सहज र सुलभ बनाएको पनि देखेको छ, सुनेको छ। तर, नेपालमा भने त्यसको ठीक विपरीत क्षमतावान् युवाहरूलाई अवसरबाट वञ्चित गरिएको मात्र नभएर राजनीतिक दलका झोले एवम् कार्यकर्ताहरूले मात्र अवसर पाएको Gen Z ले देखेको छ । शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरहरू लगायतमा राजनीतिक दल, तिनका झोले कार्यकर्ता तथा ती निकटका माफियाहरूले कब्जा गरेर गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसरहरूमा आम नागरिकहरूको पहुँचलाई लगभग असम्भव तुल्याएको समेत Gen Z ले देखेको छ ।
मुलुकभित्र Corona महामारीमा Omni काण्ड, यति काण्ड, वाइड बडि हवाईजहाज खरिदमा ५ करोड अमेरिकी डलर कमिसन काण्ड, सार्वजनिक सम्पत्ति तथा सरकारी जग्गा हिनामिना काण्ड, ललिता निवास काण्ड, पतञ्जली काण्ड, गिरिबन्धु टी स्टेट काण्ड, पोखरा एयरपोर्ट काण्ड, गौतम बुद्ध विमानस्थल काण्ड, झापा भ्यूटावर काण्ड, धरहराको पार्किङ काण्ड लगायतका काण्डहरू अहिलेको Gen Z पुस्ताले देखेको छ ।
नेता, तीनका परिवार तथा आफन्त, झोले कार्यकर्ता र माफियाहरू मिलेर देशमा ब्रम्हलुट मच्चाई देशको राजस्व तथा सम्पत्तिमा डाँका डालेर देशलाई कङ्गाल पारेर युवाहरूको भविष्य अन्धकार बनाउन समेत यीनै राजनीतिक दलका भ्रष्ट नेता तथा झोलेहरू उद्यत रहेकोसमेत अहिलेको Gen Z पुस्ताले देखेको छ । अनि यस्तो व्यथितिको विरोधमा राजनीतिक दलका युवा पुस्ताका नेताहरूले आवाज उठाउन नसकेको समेत Gen Z लाई राम्ररी थाहा छ । भने, मुलुक र मुलुकबासीको उज्ज्वल भविष्य निर्माण गर्न अहिलेको दूषित राजनीतिक व्यवस्था तथा संवैधानिक व्यवस्थाबाट सिर्जित समस्या समाधानको लागि Gen Z पुस्ताले उठाएको माग कसरी अनुचित हुन्छ ?
Gen Z ले मुलुकमा भ्रष्टाचारको अन्त्य गरौँ भन्दा भ्रष्टाचारीहरूको मुटु काँपेको छ। सुशासन कायम गरौँ भन्दा कुशासनको हंसले ठाउँ छोडेको छ। शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिलाइदेऊ भन्दा माफियाहरूको पेट पोलेको छ। हामीले हाम्रो भविष्य यही मुलुकमा खोजौँ भन्दा दलेहरूको निदहराम भएको छ।
२०४७ सालयता लाभको पदधारण गरेका नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरौँ भन्दा भ्रष्टहरूको सातो गएको छ । सधैँभरि देउवा, ओली र प्रचण्डले प्रधानमन्त्रीको म्युजिकल चेयर बनाएर पालैपालो देश लुटेका कारण मुलुकको दुरावस्था हुन पुगेकोले यस्ता भ्रष्टहरूको दुष्ट्याइंँ अन्त्य गर्न संविधानमा भएको निर्वाचन प्रणाली परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौँ भन्दा बुढा साँढेहरूको होस गुमेको छ। देश बनाउने यस्ता मागहरू Gen Z को मात्र होइन सारा नेपालीको माग हो।
अहिले विश्वराजनीति तथा विश्व अर्थतन्त्र र व्यापार व्यवस्थामा आएको परिवर्तन, भू-राजनीतिक अवस्थामा आएको परिवर्तन, युरोप, अमेरिका, कोरिया, जापानलगायतका विकसित राष्ट्रहरूले श्रम तथा आप्रवासन सम्बन्धमा लिएको कठोर नीतिहरूको कारण अब नेपालीहरूलाई मात्र नभएर नेपालजस्तै विकासशील राष्ट्रका नागरिकहरूलाई विकसित मुलुकमा अध्ययन तथा रोजगारीको अवसर पाउन निकै कठिन भैसकेको छ ।
अमेरिकाले भिसामा गरेको कडाइ, पोर्चुगलले नेपाली आप्रवासीलाई गरेको कडाइ, दक्षिण कोरियाले नेपालीलाई भिसा बन्द गरेको अवस्था तथा युएई लगायतका राष्ट्रहरूले नेपालीलाई श्रम तथा भिजिट भिसामा गरेको कडाइ र त्यसको निराकरणको लागि नेपाल सरकारले कुनै कूटनीतिक पहलकदमी गर्न नसकेको यथार्थताबीच अबको Zen G पुस्ताले विदेशमा भन्दा पनि स्वदेशमै बसेर आफ्नो भविष्य खोज्ने र रोज्ने अनुकूल वातावरण माग गर्दा के अपराध भयो ?
अहिले नेपाली समाजबाट जुन हिसाबमा युवाहरूको विदेश पलायन भइरहेको छ, त्यो निश्चय पनि मुलुक र मुलुकबासीको भविष्यको लागि शुभ होइन । आज हरेक घर घरबाट युवाहरू शिक्षा र रोजगारीको लागि विदेशिएका छन् । अब नेपालीका घरमा बुबा-आमा पुस्ता र हजुरबुबा-हजुरआमा पुस्ता मात्र बाँकी रहने अवस्था निर्माण हुँदै गइरहेको छ ।
यसरी Gen Z पुस्ताले एकातिर अहिलेका राजनीतिक दलका नेताहरूलाई व्यक्तिवादी एवम् परिवारवादी र अवसरवादीको रूपमा देख्यो भने तिनीहरूलाई खलनायकको रूपमा मात्र देख्ने, सुन्ने, भोग्ने तथा अनुभव गर्ने मौका पायो । अनि तिनै नेताहरूले मुलुकमा ठूला ठूला भ्रष्टाचारको काण्ड मात्र मच्चाएको समेत देख्यो ।
नेपालको धर्म, संस्कृति एवम् सामाजिक मूल्य मान्यता र परिवेश समेतको आधारमा हरेक बुबा-आमाले आफ्नो छोराछोरी आफ्नै मुलुकमा आफैसँग बसोस् अनि घर, परिवार, समाज र राष्ट्रको लागि केही गरोस् भन्ने चाहेका छन् । आफ्ना सन्तानहरू रोजगारीको लागि खाडी मुलुकमा पठाएर त्यहाँबाट बाकसभित्र बन्द भएर फर्काइएको कुनै बुबा-आमाले हेर्न चाहन्न । विकसित मुलुकहरूमा हत्या, हिंसा र हेपाई चेपाइमा परेको समेत कुनै बुबा-आमा तथा हजुरबुबा-हजुरआमा पुस्ताले हेर्न, सुन्न चाहन्नन् । त्यसैले Gen Z पुस्ताले सुशासन तथा मुलुकको समग्र विकासको माग राखी गरेको आन्दोलनमा बुबा-आमा पुस्ता तथा हजुरबुबा-हजुरआमा पुस्ताको समेत समर्थन र साथ रहेको छ ।
अहिलेका भ्रष्ट पार्टीका नेता कार्यकर्ताहरू पनि त आखिर आफ्नो सन्तानको भविष्यको लागि चिन्तित नै होलान् ! जसले रोगको पहिचान गर्न सक्छ उसैले मात्र रोगीको उपचार गर्न सक्छ ! आजको Gen Z पुस्तालाई यो देशको दुरावस्था र विद्यमान समस्याको कारकतत्व र तिनको समाधानको बारेमा राम्रो जानकारी छ । Gen Z पुस्ताले मूलकभित्रै आफ्नो भविष्य बनाउने सङ्कल्प गरेको छ । Gen Z पुस्ताले देशको भविष्यको लागि संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्था परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमार्फत देश विकास गर्न सकिने देखेको छ । देशको भविष्यको लागि देशवासीले प्रत्यक्ष निर्वाचित कार्यकारी रोज्न पाउने लोकतान्त्रिक पद्धतिको वकालत गरेको छ । अहिलेको व्यवस्थामा नागरिकले कार्यकारी प्रमुख चुन्न सक्दैनन् र यो काम त भ्रष्ट, बिकाऊ दलालहरूले गर्दै आएका छन् भन्ने जेनजी पुस्ताले बुझिसकेको छ ।
यो देशको समस्या Gen Z ले राम्रो सँग बुझेको छ, Gen Z कै मार्गचित्रमा देशको भविष्य खोजौँ किनकि आजको Gen Z पुस्ता नै भोलिको भविष्य हो ! जसले रोगको पहिचान गर्न सक्छ उसैले मात्र रोगीको उपचार गर्न सक्छ ।
अहिले फेरि पुराना दल र नेताहरू टाउको उठाउन खोजिरहेका छन् । जेन जीको यति ठूलो विद्रोहका बाबजुद उनीहरू निर्लज्ज तरिकाले भाषणबाजी गरिरहेका छन् । फेरि चुनावमार्फत सत्तामा फर्किएर पहिलेजस्तै हालीमुहाली गर्ने दाउ हेरिरहेका छन् । उनीहरूलाई अब जनताले कुनै पनि मौका दिनु हुँदैन ।
अब यी दल र नेताहरूलाई झेल्ने मुडमा जेनजी पुस्ता छँदै छैन । यदि कुनै पनि तरिकाले यिनीहरूलाई स्पेस दिइयो भने त्यो जेनजी आन्दोलन र यसमा भएको बलिदानीको घोर अवमूल्यन ठहर्छ ।

Leave a Reply