नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा पोखरेलले भने, ‘युवाहरूको असन्तोष राज्य र राजनीतिक दलहरूको विरुद्धमा देखा परेको छ । तिनै युवाहरूलाई राजनीतिको मूल धारमा जोड्न हामीले खोजिरहेका छौँ । उनीहरूलाई नेकपा एमाले नै युवा र जनताको भाव बोक्ने पार्टी हो भनेर अगाडी बढ्नेछौँ । नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नु पर्ने आजको आवश्यकता छ । हामी उनीहरूलाई जोड्नेछौँ ।’

हरेक पटक आफ्नो पार्टीले कामको समीक्षा गरेको बताउँदै महासचिव पोखरेलले अगाडी भने, ‘हरेक पटक हामीले कामको समीक्षा गरेका छौँ । समीक्षाको जगमा रहेर पार्टीलाई अगाडी बढाएका छौँ । युवाहरू पार्टीप्रति रुचि घट्दै गएको समीक्षा गरेर हरेक वडाहरूबाट युवाहरूलाई समेटिरहेका छौँ ।’

नेता तथा कार्यकर्ताहरुको सम्पत्ति छानिछानी तोडफोड गर्ने र आगजनी गर्ने काम लोकतान्त्रिक हुन नसक्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘राजनीति दलका नेता तथा कार्यकर्ताहरूलाई छानाछानी सम्पत्तिहरू तोडफोड गर्ने र आगजनी गर्ने जस्ता क्रियाकलापहरू लोकतान्त्रिक हुनै सक्दैन । यो एक प्रकारले लोकतन्त्रकमाथिको प्रहार हो । यस्तो काम नयाँ पुस्ताको आन्दोलनको नाममा घुसपैठ गर्नेहरूले लुकेर गरेको काम हो यो ।’

त्यस्तै, पोखरेलले देशभर क्षति भएका संरचनाहरूको पुनर्निर्माणका लागि एमाले एकजुट हुने समेत जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *