विराटनगर । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा धरानमा सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा तोडफोड र आगजनीमा संलग्न भएको भन्दै १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ ।
धरानमा धरान ८ स्थित कञ्चनजंगा होटलमा आगजनी र तोडफोडमा संलग्न रहेको भन्दै मङ्गलवार इलाका प्रहरी कार्यालयमा किटान जाहेरी परेको हो ।
धरानका पूर्व मेयर मनोज मेन्यांवोले कञ्चनजङ्घा होटलमा आगजनीमा संलग्न भएको भन्दै १३ जना किटानी जाहेरी दिएका हुन । मेन्यांगावो सो होटलका सञ्चालक समेत हुन् । उनीसँगै जाहेरी दिन धरानका राजनीति दलका स्थानीय नेताहरू, अन्य पीडितहरू र ठुलो सङ्ख्यामा पार्टी कार्यकर्ता इलाका प्रहरी कार्यालय पुगेका थिए ।
इलाका प्रहरी कार्यालय धरानले किटानी जाहेरी परेको जनाएको छ । किटानी जाहेरीमा उल्लेख गरिएका नामहरू सार्वजनिक गरिएको छैन ।
मेन्याङबोका अनुसार तोडफोड आगजनीमा संलग्न २ जना हिजो सोमवार आत्मसमर्पण गर्दै आएका थिए, उनीहरूलाई इलाका प्रहरीको जिम्मा लगाइएको छ । तर उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन ।
मेन्याङबोले कञ्चनजङ्घा होटल तोडफोड गरी आगजनीसँगै ६ लाख रुपैयाँ नगद लुटिएको बताए । उनेले भने, ‘भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आक्रमणको तस्बिर र भिडियोको प्रमाण हामीसँग छ ।’
मेन्याङबोसंगै जाहेरी दर्ता गर्न पुगेका पूर्व मेयर तिलक राईले धरानमा भएको आक्रमणका पीडितहरूले छुट्टाछुट्टै किटानी जाहेर दिने तयारी गरेको बताए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले आन्दोलनमा तोडफोड र आगजनीमा सलग्नहरुको खोजी कार्य तीव्र बनाइएको बताए । उनले भने, ‘आगजनी र तोडफोडमा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।’
धरानमा भएको प्रदर्शनमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रका कार्यालयहरूमा तोडफोड आगजनी भएको छ ।
उस्तै भाटभटेनी सुपर मार्केट, धरानका पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, काँग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङका घरमा आगजनी गरिएको थियो ।
उक्त सबै घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानुनको दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सर्वपक्षीय नागरिक बचाउ अभियानका धरानले सरकारलाई आग्रह गरेको छ ।
Leave a Reply