काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले खराब नियतले चलेका सहकारीहरू जुनसुकै बेला प्राधिकरणले कारबाही गर्ने बताएका छन् । लुम्बिनी प्रदेशका सहकारकर्मीहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
छलफलमा उनले भने, ‘खराब मनसायबाट चलेका सहकारीहरूलाई जुनसुकै बेला पनि कानुनको कठघरामा पुर्याउन प्राधिकरण लागिपरेको छ । सहकारीले प्राधिकरणको मापदण्ड र निर्देशक पालना गर्न आवश्यक छ ।’

अध्यक्ष शर्माले कपिलवस्तु, रुपन्देही र नवलपरासीका छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरेका छन् । यी जिल्लाका बचत तथा ऋणको कारोबार गर्ने साना किसान कृषि सहकारी संस्था लि. र बचत तथा ऋण सहकारी संस्था लि. सम्बद्ध सहकारीकर्मीहरूबीच कार्यक्रमहरू आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी सहकारकर्मीहरूले प्राधिकरणले जारी गरेका मापदण्ड, निर्देशन सहित सहकारी क्षेत्रमा देखिएका समस्याहरू र आगामी दिनमा प्राधिकरणले खेल्ने भूमिकाका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । अध्यक्ष शर्माले ती जिज्ञासाहरूको जवाफ दिँदै सहकारी संस्थाहरूको नियमन र सुपरिवेक्षणका लागि प्राधिकरण नै जिम्मेवार र अन्तिम संस्था भएको स्पष्ट पारे ।
अध्यक्ष शर्माले खराब नियतले चल्नेहरूको पछाडि नलागी सहकारी कानुनसहित प्राधिकरणले जारी गरेका हरेक मापदण्ड र निर्देशनहरूलाई सबै संस्थाहरूले महत्वका साथ पालना गर्नका निम्ति अनुरोध गरे ।

Leave a Reply