म भाटभटेनी सुपरमार्केट धरानको एक कर्मचारी हुँ । यो देशमा अनेक आन्दोलन हुन्छन् । तर, आन्दोलन जुन मुद्दामाथि भए पनि एउटा अराजक समूहको सधैँ लक्ष्य हुन्छ, भाटभटेनीलाई लुटपाट गर्ने !
हजारौँ मान्छेलाई देशमा रोजगारी दिएको, अस्पताल, विद्यालय, मठमन्दिर लगायत विभिन्न क्षेत्रमा दान, सहयोग गरेको भाटभटेनीमाथि बारम्बार आक्रमण हुनु एकदमै दुःखलाग्दो कुरा हो । राज्यलाई कर तिरेर हजारौं मान्छेलाई रोजगारी दिएको कम्पनीलाई बारम्बार दुःख दिएको देख्दा एकदमै पीडा महसुस भएको छ ।
भाटभटेनी मात्रै नभएर निजी कम्पनीहरुलाई यसरी तर्साएपछि यो देशमा लगानी गर्न को आउँछ ? विदेशी कम्पनीहरूलाई राज्यले लगानी गर्न अनुरोध गर्छ । तर, सुरक्षाको ग्यारेन्टी खै ? अबका आन्दोलनहरुमा राज्य र सुरक्षा निकायहरुले निजी क्षेत्रलाई ध्यानमा राखेर पूर्ण रूपमा सुरुवातदेखि नै सुरक्षा दिन सकोस् । मीनबहादुर सरले रोजगारी सृजना गर्नुभएर ठूलो पाप गर्नुभएछ, त्यसैको फल आज उहाँले पाउनुभएको हो ।

उहाँले टिचिङ हस्पिटल बनाइदिनुभयो, दुर्गम ठाउँमा स्कुल बनाइदिनुभयो, देशमै रोजगारी सृजना गर्दै बार्षिक १६ अर्ब कर राज्यलाई तिर्नुभयो, विपतको घडीमा जनतालाई सहयोग गर्न अघि सर्नुभयो । यो नै उहाँको पाप हो ? एउटा पहाडे जनजातिको छोरा, जसले भाटभटेनीको सम्राज्य खडा गर्नुभयो । हजारौं नेपालीहरूलाई रोजगारी दिनुभयो । अरबौं कर राज्यलाई तिरिसक्नुभयो । नेपालको सुपरमार्केट संस्कृतिलाई युरोपियन स्ट्यान्डर्डको बनाउन भूमिका खेल्नुभयो । एउटा नागरिकले देश विकासमा खेल्न सक्ने भूमिका यस्तै त हुन्छ होला ।
हामीलाई आफूले दुःखले जोडेको, किनेको एक दुईवटा पाँच छ सयको सामान हरायो या चोरी भयो भने कति नरमाइलो लाग्छ । तर, जब आँखै अगाडि जिन्दगीभरको पसिना, मिहेनत र वर्षौंको सोच जलाएर खरानी बनाइदिँदा उहाँलाई कस्तो भएको होला ? आफूले काम गर्ने ठाउँ, आफ्नो कर्मथलो आँखैअगाडि आगो लगाइदिँदा मजस्तै हजारौं कर्मचारीहरुलाई कस्तो महसुस भयो होला ?
मीनबहादुर गुरुङ सर एक सोच हो । हजारौं परिवारका अन्नदाता हुन् । प्रेरणाका स्रोत हुन् । उहाँलाई ढल्न र मर्न दिनु हुँदैन । उहाँ कुनै पनि कुरामा दोषी भए सजाय दिने अदालत थियो । तर बिनादोष हजारौं नेपालीको गरिखाने बाटोलाई तहसनहस बनाइ दशैंका मुखमा आगो लगाउने ती पापी नरपिचासहरूलाई कहिल्यै भलो नहोस् । निर्दोष मीनबहादुर सर र हामी सबै भाटभटेनी परिारको आँसुले भतभत् पोलोस् ।
मीनबहादुर सर जराबाट पलाएको व्यक्ति मात्रै होइन, एक प्रतिष्ठान, एक संस्था र राष्ट्रवादी व्यापारीका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । निभेर चम्किएको दियो हुनुहुन्छ । हामी उज्यालो किरण बनेर फेरि चम्किनेछौं ।
(अन्जना राई धरानस्थित भाटभटेनीको कर्मचारी हुन् । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा पनि आगजनी र लुटपाट भएको थियो । त्यहाँ जलेको अवस्थामा चारजनाको शव पनि भेटिएको छ । त्यहाँ भाटभटेनी सुचारू हुन सकेको छैन ।)


Leave a Reply