आईपीओ निष्कासनको तयारीमा रहेको राष्ट्रिय खाद्य बैंकका अध्यक्षलाई पाँच प्रश्न (भिडिओ) 

विशुद्ध खाद्य सम्बन्धित काम गर्ने नेपालको पहिलो बैंक हो, ‘राष्ट्रिय खाद्य बैंक’ । करिब चार वर्षको गृहकार्यपछि २०७७ सालमा स्थापना भएको यस बैंकले अर्ग्यानिक कृषि उपजहरू उत्पादन, भण्डारण र बजारीकरणसम्मको काम गर्दै आएको छ । किसानको आलीदेखि उपभोक्ताको थालीसम्म आफैँले काम गर्दै आएको यस बैंकले बिचौलियाको उपस्थितिलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको छ । पाइलट प्रोजेक्टको रूपमा राष्ट्रिय खाद्य बैंकले, किसान, सहकारी र विभिन्न कम्पनी मिलेर कृषि कर्म गरिरहेको छ । कृषि उत्पादनदेखि बजारीकरणसम्मको काम गरिरहेको यस बैंकले साधारण शेयर आईपीओ ल्याउँदै छ । बैंकले ल्याउन लागेको आईपीओ, कम्पनीको अवस्था र लगानीबारे अध्यक्ष शंकरनाथ उप्रेतीसँगको कुराकानी नेपाल टकमा-

–सुरुवातमा राष्ट्रिय खाद्य बैंकबारे स्पष्ट पारिदिनुस्, यो कस्तो बैंक हो र यसले के गर्छ ?   

राष्ट्रिय खाद्य बैंक नेपालीहरूको प्राण रक्षाका लागि सञ्चालनमा आएको बैंक हो । हामीले स्वास्थ्य वर्द्धक खानेकुराहरू नेपालीहरूलाई खुवाइरहेका छौँ । हामीले स्थानीय तहमा रहेर उत्पादनमा जोडिएकाहरुसंग मिलेर काम गरिरहेका छौँ । राष्ट्रिय खाद्य बैंकले स्थानीय सरकार, सहकारी र उत्पादनमा लागेका उत्पादकहरू मिलेर कृषि मोडलमा काम गरिरहेका छौँ ।

उत्पादनदेखि बजारीकरणसम्मको काम राष्ट्रिय खाद्य बैंकले गरिरहेको छ । सुरूमा हामी स्थानीय तहमार्फत स्थानीय तहहरूसँग किसानहरूलाई सम्पर्क गर्छौँ । हाम्रो रोहबरमा तपाईँहरूले उत्पादन गरेका स्वास्थवद्र्धक उत्पादनको हामी मूल्य निर्धारण गर्छौँ । सोही मूल्य अनुसार हामीले उनीहरूको उत्पादन खरिद गर्छौँ । उत्पादनमा जसले जाँगर गरिरहेका छैनन् उनीहरूका लागि हामीले जाँगर गरेर उत्पादन गर्ने गरी मूल्य दिएका छौँ ।

विषयगत विज्ञहरूसँग जोडिएर राष्ट्रिय खाद्य बैंकले काम गरिरहेको छ । नेपाल सरकारले गर्नुपर्ने कामहरू राष्ट्रिय खाद्य बैंकले गरिरहेको छ । जिडिपीमा योगदान पुर्याउनेगरि उत्पादनदेखि बजारीकरणसम्मको काम गरिरहेका छौँ ।

खाद्य बैंकले उत्पादकको काममा पाइलट प्रोजेक्टबाट अरूलाई सिकाउँदै कृषि उपजहरूलाई बैंकको आफ्नो च्यानलबाट भण्डारण गरी प्रशोधन प्याकेजिङ गरी बिक्री वितरण गर्छ । एउटै संस्थाले उत्पादन, भण्डारण र बिक्री वितरण लगायतका सम्पूर्ण कार्य गर्ने हुँदा यसमा अरू कसैको भर परिरहनु पर्दैन । बिचौलियाको आवश्यकता नरहने हुँदा उत्पादकले पनि राम्रो मूल्य पाउँछन् ।

अहिले हामीले दाना उत्पादनमा पनि लागेका छौँ । पशु पालन, माछा पालन, कुखुरा पालनका लागि सहयोग पुगिरहेको छ । कोसी प्रदेशमा रहेको यस्तो दाना उद्योग हामीले विस्तारै सातै प्रदेशमा स्थापना गर्ने तयारी गरिरहेका छौँ ।

–खाद्य बैंकले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ, किन निष्काशन गर्दै हुनुहुन्छ आईपीओ ?  

राष्ट्रिय खाद्य बैंकले आउँदो असार २५ गते वार्षिक साधारण सभा हुँदैछ । उक्त सभाले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ । एक अर्ब पुँजी जुटाउनका लागि ७० करोड प्रमोटरको तर्फबाट र बाँकी ३० करोड सर्वसाधारणबाट पुर्‍याउने तयारीमा छौँ ।

आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता भइसकेको छ । आईपीओका लागि सबै तयारी पुरा भइरहेको छ । सभाले पारित गर्ने वित्तीकै हाम्रो आईपीओ निष्काशन हुन्छ ।

–आईपीओ ल्याउन लागेको कम्पनीको अवस्था कस्तो छ भनेर लगानी गर्नु अगाडी चासोका साथ हेरिन्छ । तपाइको कम्पनी वित्तीयरुपमा कति स्वस्थ हो ?  

२०७७ सालमा स्थापना हुँदा राष्ट्रिय खाद्य बैंकको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ थियो । हामी अहिले धेरै अगाडी पुगिसकेका छौँ । पहिलेदेखि नै हाम्रो वित्तीय अवस्था राम्रो रहेकोले अहिले पनि स्वस्थ अवस्था छौँ । सरकारको कानुनमा रहेर सञ्चालन भइरहेको राष्ट्रिय खाद्य बैंकले सर्वसाधारणले समेत हेर्न, बुझ्न र जान्नसक्नेगरि हामीले हाम्रो कामहरू गरिरहेका छौँ । त्यसको मूल्यांकन गर्न सक्नेगरि हाम्रो अवस्था र गतिविधिबारे जानकारी समेत दिइरहेका छौँ ।

–राष्ट्रिय खाद्य बैंकको आईपीओमा सर्वसाधारणले किन लगानी गर्ने ? 

हो, स्वभाविकरुपमा यो प्रश्न आउन सक्छ । अहिले विभिन्न प्रकारका कम्पनीहरूले आईपीओ बजारमा ल्याइरहेका छन् । कतिपय भविष्य नै नभएका कम्पनीहरू समेत आईपीओका बजारमा आएका छन् । तर, हामी नितान्तरुपमा उत्पादनको क्षेत्रमा क्रियाशील छौँ । भोलीका दिनमा पनि हामीले गर्ने यही नै हो ।

लगानीकर्ताहरूले अबको लगानी पनि राष्ट्रिय खाद्य बैंकहरुजस्ता कम्पनीहरूमा गर्नुपर्ने हो । जो उत्पादनमा जोडिएका छन् । किसानको आलीदेखि उपभोक्ताको थालीसम्म काम गरिरहेको यस कम्पनीमा लगानी गर्न शंका गर्नु पर्दैन ।

हाम्रोमा लगानी गर्दा भविष्यमा सबैभन्दा राम्रो प्रतिफल पाइन्छ । छिमेकी देशको अमूल डेरीको शेयर कित्तामै १८ हजार पुगेको छ । त्यो खालको पेरिफेरिमा पुर्याउने गरि काम अगाडी बढाएका छौँ । सबैभन्दा राम्रो प्रतिफल दिनेगरि हामी योजनासहित काम गरिरहेकाले सर्वसाधारणले यसमा ढुक्कले लगानी गरे हुन्छ ।

–आईपीओबाट संकलन गरिएको पुँजी कहाँ खर्च गर्नुहुन्छ ? 

आईपीओबाट आएको पैसा हामी उत्पादनमै लगानी गर्नेछौँ । नेपालमै उत्पादन हुने, नेपालीलाई नै धनी बनाउने, नेपालको जिडिपीमा योगदान पुर्याउने र कृषिमा रोजगारी दिनसक्ने उद्योग स्थापनाका लागि हामीले यो लगानी गर्छौँ । कृषि उत्पादनबाहेक हामी अन्यत्र लगानी गर्ने छैनाैँ ।

–राष्ट्रिय खाद्य बैंकका आगामी योजनाहरू के छन् ? 

हामीले विचौलियालाई हटाउने गरेका छौँ । उत्पादन गरेका वस्तु मात्रै हामी खरिद गर्दैनौँ । हामी स्थानीय तहमा उत्पादन गर्नका लागि सहकार्य गर्दै माटो परीक्षण गर्छौ, विज्ञको टोली खटाउँछौँ र उत्पादन शुरु गर्छौ । त्यो उत्पादनको बजारको ग्यारेन्टी समेत दिने गरेका छौँ । आगामी दिनमा पनि यो काम निरन्तर जरी रहनेछ ।

अहिले हामीले स्थानीय तहसँग सहकार्यमा काम गरिरहेका छौँ । आगामी दिनमा प्रदेश र संघसंग मिलेर काम गर्ने तयारीमा छौँ । राज्यलाई धनी बनाएर स्वास्थ्य वर्द्धक खानेकुरा दिने काम गर्नेछौँ ।

ठूलो स्केलमा काम गर्दा त्यसको प्रभाव पनि त्यसअनुसारकै हुन्छ । हामीले नेपाली उत्पादन विदेश निर्यात गर्नेसम्मको योजना बनाएका छौँ । खाद्य बैंकले कृषिलाई औद्योगीकरणमा लैजानेगरि काम गरिरहेको छ । हामीले कृषिमा ट्र्याक खोलिसकेका छौँ, चाँडै नै हाइवे बनाउँछौँ ।

हेर्नुहोस् उप्रेतीसँगको कुराकानीको पूरा भिडिओ 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *