लुम्बिनीमा कांग्रेस-एमाले-माओवादीले थाले पार्टी कार्यालयहरुमा क्षतिको विवरण संकलन

रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका पार्टी कार्यालयहरूको विवरण सङ्कलन सुरु गरेको छ ।

नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार बुटवलमा रहेको पार्टीको प्रदेश कार्यालय, रुपन्देहीको मधवलियामा रहेको जिल्ला कार्यालयसहित पाल्पा, रुकुमपूर्व र रोल्पाबाहेकका सबै जिल्ला कार्यालयमा आगजनी र तोडफोड गरेर पूर्णरुपमा क्षति पुर्याइएको छ ।

आगजनीबाट के कति क्षति भयो भन्ने विषयमा पूर्ण विवरण निकाल्न समय लाग्ने उनको भनाइ छ ।

‘पाल्पा, रुकुमपूर्व र रोल्पा बाहेक सबै जिल्ला कार्यालय, तराईका धेरै पालिका कार्यालयसमेत पूर्णरुपमा जलाइएको छ, त्यहाँको भौतिक संरचनाका विषयमा सबै जिल्लाबाट विवरण माग गरिएको छ, प्रदेश कार्यालय रहेको बुटवलको सुख्खानगरस्थित भवन पूर्ण रुपमा क्षति भएको छ, त्यहाँको पनि विवरण निकाल्दै छौं’, उनले भने ।

उनले गुल्मीमा पनि भित्र आगजनी नगरिएको तर सबै सामग्री बाहिर ल्याएर जलाइएको र तोडफोड गरेर क्षति पुराइएको तर अन्य स्थानमा पूरै आगलागी गरिएको जनाए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार प्रदेशका पाल्पा, रोल्पा र पूर्वी रुकुम बाहेकका सबै जिल्लामा कांग्रेसका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन्। उनले रुपन्देही, बाँके, बर्दिया, कपिलवस्तु, र अर्घाखाँची ठूलो क्षति पुगेको जानकारी दिए।

जिल्ला, क्षेत्र र नगर तहका पार्टी कार्यालयहरू समेत धेरै क्षति पुराइएको बताउँदै पुनले क्षतिको विवरण संकलन कार्य अघि बढिरहेको र कार्यालय सञ्चालनको अवस्था तथा आगामी कदमबारे छलफल हुने बताए। आन्दोलनकारीहरूले भदौ २४ गते प्रदेशका विभिन्न जिल्लास्थित पार्टीका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।

नेकपा माओवादी केन्द्रमा प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार प्रदेशका ४ जिल्लामध्ये पाल्पा, रुकुमपूर्व, रोल्पा र बर्दियामा केही क्षति नभएको र अन्य स्थानमा आगजनी र तोडफोडबाट लाखौं क्षति भएको छ । सबैभन्दा धेरै क्षति रुपन्देहीमा भएको छ जहाँ प्रदेश, जिल्ला तथा नगरस्तरका धेरै कार्यालयहरु रहेका छन् ।

उनका अनुसार नवलपरासीमा भाडाको घरमा रहेको कार्यालयमा समान जलाउँदा करिब ७ लाख, रुपन्देहीमा बुटवलस्थित प्रदेश र जिल्ला कार्यालयको भवनमा आगलागी हुँदा करिब १० लाख, देवदह नगर कार्यालयमा करिब ८ लाख, सैनामैनाको व्यक्तिको घरमा करिब २० लाख, दाङमा भाडाको कार्यालयमा भएको आगजनीमा १५ लाख, प्यूठानमा घर बाहिर ल्याएर जलाउँदा करिब १५ लाख, अर्घाखाँची समान जलाउँदा १२ लाख, गुल्मीमा १५ लाख, बाँकेको कोहलपुरमा तोडफोड मात्रै गरिँदा ५ लाख, बराबरको क्षति भएको छ । ती जिल्लाबाट सबै रिपोर्ट निकालेर प्रहरीलाई बुझाइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *