नेपालको राजनीतिक इतिहास असंख्य संघर्ष, आन्दोलन र परिवर्तनले भरिएको छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, २०६२–६३ को जनआन्दोलन र त्यसपछि भएको संविधान निर्माणसम्मको यात्रा जनताले ठूलो आशा र अपेक्षासहित अघि बढाएका थिए । तर, तीन दशक लामो बहुदलीय अभ्यासपछि पनि जनताले स्थिर सरकार, सुशासन र दिगो विकास अनुभव गर्न सकेका छैनन् ।
यसको प्रमुख कारण पुराना दलका शीर्ष नेतृत्वको निरन्तर सत्ता–कब्जा, संगठनभित्रको अस्वस्थ प्रतिस्पर्धा र पुस्तान्तरणको अभाव हो। यस परिस्थितिमा, पुराना दलका शीर्ष नेताहरूले स्वेच्छाले राजींनामा दिएर नयाँ पुस्ता र नयाँ विचारलाई अगाडि ल्याउने वातावरण बनाउनैपर्छ भन्ने माग समयको आवश्यकता बनेको छ । यसको सुरुवात नेकपा एमाले बाट हुनुपर्दछ ।
नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत पछिल्ला तीन दशकदेखि मूलधारको राजनीतिमा हावी भइरहेका छन्। तर, नेतृत्व भने सधैँ त्यही अनुहारमा सीमित छ। दलभित्र चुनाव भए पनि नेतृत्व हस्तान्तरण हुने अवस्था प्रायः देखिँदैन। यसका कारण दलहरू आन्तरिक रूपमा अलोकतान्त्रिक बनेका छन् र जनताको भरोसा गुमाउँदै गएका छन्।
२०६२-६३ को आन्दोलनपछि मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्यो। संविधानसभामार्फत नयाँ संविधान बनेर संघीय संरचना लागू भयो। तर, यी सबै ऐतिहासिक उपलब्धिलाई व्यवहारमा परिणत गर्ने जिम्मा लिएका शीर्ष नेता असफल भए। विकासको गतिको साटो भ्रष्टाचार, कमिसन, दलाल–प्रथाले राजनीति ओगट्यो।
पुराना नेता दशकमै होइन, पुस्तैपुस्ता नेतृत्वमा टाँसिएका छन्। केही नेता ३०-४० वर्षदेखि निरन्तर नेतृत्वमा छन्। यसले निम्न समस्या निम्त्याएको छः
१. पार्टीभित्र नयाँ सोचको अवरोध– युवा र नयाँ पुस्ताका कार्यकर्ताहरूलाई अघि बढ्ने अवसर मिल्दैन।
२. सत्ता–स्रोतमा सीमित एकाधिकार– नेताले पदलाई व्यक्तिगत लाभको साधन बनाएका छन्।
३. आन्तरिक लोकतन्त्रको खाडल– दलभित्र चुनाव भए पनि परिणाम पूर्वनिर्धारित हुन्छ, जसले लोकतन्त्रको मूलभूत मूल्य क्षीण बनाउँछ।
४. जनताको निराशा– नयाँ पुस्ताले राजनीति भन्दा विदेश रोजगारी रोज्ने अवस्था यही कारण हो।
५. भ्रष्टाचार नियन्त्रणमा असफलता– पारदर्शिता र जवाफदेहिताको अभाव।
६. विकासमा ढिलाई – ठूला आयोजना वर्षौंदेखि अधुरै छन्।
७. रोजगारी सिर्जनामा कमजोरी– हरेक वर्ष लाखौँ युवा विदेश पलायन हुन्छन्।
८. सुशासनको कमी– कानुनको शासन भन्दा नेताको पकड बलियो छ।
९. जनताको आस्थामा गिरावट– दलप्रति जनताको विश्वास हराउँदै गएको छ ।
नेपालको बहुदलीय लोकतान्त्रिक अभ्यासमा नेकपा एमालेको ऐतिहासिक योगदान उल्लेखनीय छ। यो पार्टीले २०४७ सालको संविधान निर्माणदेखि २०६२–६३ को जनआन्दोलन, गणतन्त्रको स्थापनादेखि संघीय लोकतान्त्रिक संविधान जारी गर्ने प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेको छ। तर, पछिल्ला वर्षमा एमालेभित्र देखिएको आन्तरिक संघर्ष, नेताबीचको अविश्वास, विचारगत अस्पष्टता र अवसरवादी प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको छ।
आजको यथार्थ के हो भने, एमाले एकताकै नाममा बारम्बार विभाजन हुँदै आएको छ र पार्टीभित्र शीर्ष नेताले व्यक्तिगत स्वार्थलाई संस्थागत हितभन्दा माथि राखेका छन्। यसले कार्यकर्ता, समर्थक र आम नागरिकबीच असन्तोष बढाएको छ। यस्तो अवस्थामा, पार्टीलाई नयाँ दिशामा डोर्याउन, पुराना शीर्ष नेताले आत्मालोचना गर्दै जिम्मेवारीबाट अलग गरेर पार्टीलाई पुनर्गठन शुद्धीकरण र सुदृढीकरणको आवश्यक देखिन्छ।
पार्टी पुनर्गठनका सम्भावित बाटा
१. तुरुन्तै आयोजक कमिटी गठन गरी मंसिरभित्र महाधिवेशन
बदलिएको राजनीतिक परिवेश र फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा सशक्त उपस्थिति र समाजमा रहेका भ्रम चिर्दै सफलता हासिल गर्न मंसिरसम्म महाधिबेशन सम्पन्न गरी पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता छ ।
२. विचारगत पुनःपरिभाषा
एमालेले समाजवादको दिशामा स्पष्ट, व्यावहारिक र नेपाली सन्दर्भअनुकूल मार्गचित्र बनाउनुपर्छ। केवल नारामा होइन, व्यवहारमा समाजवादी नीति लागू गर्नुपर्ने हुन्छ।
३. आन्तरिक लोकतन्त्रको अभ्यास
निर्णयमा कार्यकर्ताको सहभागिता सुनिश्चित गर्ने प्रणाली विकास गर्नुपर्छ। तल्लो तहदेखि माथिल्लो तहसम्म नेतृत्व चयन पूर्णतः लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्नेछ।
४. नयाँ पुस्ताको सशक्तिकरण
पार्टीमा ४० वर्षभन्दा कम उमेरका युवाहरूलाई नेतृत्व तहमा प्राथमिकता दिनुपर्ने हुन्छ। यसले ऊर्जाशील, नवीनतम् सोच बोकेको पुस्तालाई जिम्मेवारी दिन्छ।
५. पारदर्शीता र उत्तरदायित्व
आर्थिक, संगठनात्मक र निर्णय प्रक्रियामा पूर्ण पारदर्शिता ल्याउनुपर्छ। पार्टीभित्र शक्त्तिशाली आयोग गठन गरी नेताले व्यक्तिगत सम्पत्ति र आय–व्यय सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्नुपर्छ।
६. एक पद दुइ कार्यकालको व्यवस्था
पार्टीमा नेतृत्व र बिचारको रुपान्तरण र नविनताको लागि एक पद दुइ कार्यकाल भन्दा बढी जिम्मेवारी प्रदान नगर्ने व्यवस्था लागु गर्न आवश्यक छ ।
७. एक व्यक्ति, एक जिम्मेवारीको प्रणाली
पार्टी र सरकारको नेतृत्व एक व्यक्ति हुँदा वडा तहदेखि केन्द्रीयतहसम्म नेतृत्वलाई स्वेच्छाचारी र जनप्रतिनिधि र सरकार प्रमुखले जनता र पार्टीको भावनाअनुसार काम नगरेको र त्यो अवस्थामा पार्टीले सही दिशामा लान नसकेकोले पार्टी र सरकार प्रमुख एक व्यक्त्ति हुने प्रणाली ठीक नहुने देखिएको छ ।
८. चुनावी उम्मेदवार छान्दा सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबाट छनोट गर्ने प्रणाली
विभिन्न तहका जनप्रतिनिधिका निम्ति हुने चुनावमा उम्मेदवार छनौट आम जनता र कार्यकर्ताको भावनाविपरित नेतृत्वको रुचिका आधारमा हुँदा चुनावमा पराजित हुने र विजय हासिल गरेपनि जनता र पार्टी कार्यकर्ताको भावनाविपरीत गतिबिधि हुँदा पार्टी जनतामाझ अलोकप्रिय बन्दै गयो । यो अवस्थामा उम्मेदवार छनौट सम्बन्धित कमिटीका संगठित सदस्यबाट हुने प्रणालीको विकास गर्नु अपरिहार्य छ ।
९. बाहिरी मुलुकको ग्रीनकार्ड र पीआर लिएका नेतालाई पार्टीबाट निष्काशन
विदेशी मुलुकको आवासीय सुविधा (ग्रीनकार्ड, पीआर) लिएका नेताले देशमा गैरजिम्मेवार तरिकाले गतिविधि गर्ने र केही समस्या हुँदा बाहिर जाने प्रवृति बढेकोले यस्ता नेतालाई पार्टीबाट निष्काशन गर्नु आवश्यक छ ।
१०. उद्यम, उत्पादन, श्रम र स्वरोजगारमुखी नीतिको अबलम्बन
देशमा राष्ट्रिय उत्पादनमा वृद्धि गर्दै राष्टिय पुँजी निर्माणको लागि उत्पादनमुखी नीति र श्रम संस्कृतिको पुनःजागरणको नीति आवश्यक छ । यसमा हालको नीतिमा आमूल परिवर्तन गरेर जान आवश्यक छ ।
११. प्रशिक्षणमा आमूल परिवर्तन
हाल पार्टीले प्रदान गर्ने प्रशिक्षण परम्परागत सैदान्तिक र अव्यवहारिक छ, त्यसैले आगामी दिनमा व्यवहारिक नवीन र देश, जनता र माटोसँग जोड्ने प्रशिक्षण आवश्यक छ ।
१२. जनतासँग प्रत्यक्ष संवाद
जनताको समस्यामा प्रत्यक्ष संलग्न हुने, डिजिटल प्लेटफर्म प्रयोग गर्ने र नियमित जनपरामर्श गर्ने संस्कार विकास गर्नुपर्छ।
निष्कर्ष
नेपालको वर्तमान संकटको मूल कारण पुरानो नेतृत्वको दीर्घकालीन पकड र असफल शासन हो। जनताले अपेक्षा गरेको सुशासन, पारदर्शिता र विकास पुराना नेताबाट सम्भव नभएको प्रमाणित भइसकेको छ। अब समय छ, शीर्ष नेताले स्वेच्छाले पद त्यागेर नयाँ पुस्तालाई बाटो खोलिदिनु।
यो पुस्तान्तरण र पुनर्गठन मात्र होइन, लोकतन्त्रलाई बचाउने र जनतामा पुनः विश्वास जगाउने एक मात्र विकल्प हो। पुराना नेताले आफ्नो ऐतिहासिक योगदानलाई सम्मानित बनाउन हो भने उनीहरूले अवकाश लिनैपर्छ। अबको बाटो भनेको पार्टी पुनर्गठन, पुस्तान्तरण, पारदर्शी राजनीति र जनताको सीधा सहभागिता हो। यही बाटोले नेपाललाई स्थायित्व, समृद्धि र नयाँ राजनीतिक संस्कृतिको दिशामा लैजानेछ।
नेकपा एमाले नेपालको प्रमुख राजनीतिक शक्ति हो। यस पार्टीले गरेको योगदानलाई नकार्न सकिँदैन। तर, आजको चुनौति के हो भने– शीर्ष नेता सत्ताको मोहमा जाकिँदा पार्टीको संगठन कमजोर भएको छ, विचार अस्पष्ट भएको छ, र जनताको विश्वास गुमाएको छ।
यस सन्दर्भमा, शीर्ष नेताले ऐतिहासिक निर्णय गर्दै राजीनामा दिएर नयाँ पुस्तालाई अवसर दिने हो भने मात्र पार्टीले पुनर्जागरणको बाटो लिन सक्छ। यो केवल व्यक्तिको हार होइन, बरु पार्टी, कार्यकर्ता र जनताको जित हुनेछ।
राजनीतिक दलहरूको जीवनचक्रमा पुनर्गठन र पुनर्संरचना स्वाभाविक प्रक्रिया हो। एमालेको पुनर्जागरणका लागि शीर्ष नेताको स्वेच्छिक राजीनामा पहिलो र निर्णायक कदम बन्नसक्छ। यही बाटोले एमालेलाई फेरि पनि देशको प्रमुख प्रगतिशील शक्ति बनाउने सम्भावना जगाउँछ।
(लेखक रिटर्नी फेडेरेशनका उपाध्यक्ष हुन् ।)
Leave a Reply